• १० पुस २०८१, बुधबार

बजार धाउनै पर्दैन

blog

जनार्जन खत्री 

सर्लाही, चैत १४ गते । पछिल्लो समय सर्लाहीका गाउँमै दैनिक उपभोग्य वस्तु पाइन थालेपछि स्थानीयको जीवनयापन सहज बन्दै गएको छ।  

ग्रामीण भेगमा समेत दिनहुँ आवश्यक पर्ने खाद्यान्न र अन्य वस्तु सहजै पाउन थालेपछि स्थानीयलाई बजार नै धाउनुपर्ने बाध्यता हट्न थालेको हो। यहाँका ग्रामीण भेगमा साना बजार बस्न थालेपछि दैनिक उपभोग्य वस्तु र अन्य आवश्यक सामग्रीको पसल खुल्ने क्रम बढ्दो छ। 

यहाँको ग्रामीण भेगका पालिकाको केन्द्र बजारका रूपमा विकास हुँदै गइरहेका छन्। वडा कार्यालय स्थापना भएका क्षेत्रसमेत बजारका रूपमा विकास हुन थालेका छन्। पालिकाको केन्द्र र वडा कार्यालय स्थापना भएका क्षेत्रमा चहलपहल बढ्दा बजारका रूपमा विकास हुन थालेको हो। लालबन्दी नगरपालिका–१६, परवानीपुरका वडाध्यक्ष गणेशबहादुर थापाले पछिल्ल्लो समय परवानीपुर चोक बजारका रूपमा विकसित हुँदै गएको बताउनुभयो। 

गाउँमै विभिन्न सामग्री र खाद्यान्नको पसल सञ्चालन हुन थालेपछि स्थानीयलाई साना सामग्री किन्नसमेत लालबन्दी बजार नै आउनुपर्ने बाध्यताको अन्त्य भएको वडाध्यक्ष थापाले बताउनुभयो। यहाँको गाउँगाउँमा अहिले चामल, नुन, तेल, मरमसलासहित एलपी ग्यास, निर्माणका सामग्री पाइन थालेको स्थानीयले बताएका छन्। 

लालबन्दी नगरपालिका–११, हीरापुर चोकका स्थानीय दिलबहादुर तामाङले सानासाना सामग्री किन्न अब बजार नै आउनुपर्ने बाध्यता नरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “सियो धागो किन्न पनि बजार झर्नुपर्ने बाध्यता थियो तर अहिले त त्यस्तो छैन, बजारमा पाइने प्रायः सामग्री गाउँघरतिरकै पसलमा पाइन थालेको छ।” 

जिल्लाको दक्षिणी भेगको तुलनामा उत्तरी भेगमा सहरीकरण बढ्दो छ। एउटा पसलसमेत नरहेका गाउँमा अहिले दर्जनभन्दा बढी पसल खुलिसकेका छन्। पसल, व्यवसाय खुल्ने क्रम बढ्दा गाउँमै रोजगारीसमेत सिर्जना भइरहेको छ। ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोरका विक्रम केसीले केही वर्ष वैदेशिक रोजगारमा गएर अहिले गाउँमै आएर कुखुरा पालेर बेच्ने, कुखुराको अण्डा गाउँ डुलाएर बेच्ने काम गर्दै आइरहेको बताउनुभयो। 

उहाँले अहिले गाउँघरमै सामग्री किनिदिँदा स्वरोजगार बनेको बताउनुभयो। केसीले भन्नुभयो, “पहिले जे चाहिए पनि बजारबाट ल्याइन्थ्यो, अहिले त गाउँमै किन्न थालिएको छ। यसले मजस्ता गाउँघरमै केही गरौँ भन्नेलाई राहत मिलेको छ।” 

अहिले बजार क्षेत्रमा पाइने सामग्री गाउँघरमै पनि बिक्रीका लागि लैजाने क्रम बढ्दो छ। आफ्नो मालवस्तु र सरसामग्री गाउँबाटै व्यापारीलाई बेच्ने र आवश्यक परेका वस्तु पनि गाउँघरमै पाउँदा समय र बजार धाउँदाको खर्च बचेको स्थानीयवासी बताउँछन्।