• २८ मङ्सिर २०८२, आइतबार

स्थानीय अस्पताल निर्माण धमाधम

blog

चरीकोट समाचारदाता

चरीकोट, चैत १४ गते । दोलखाका स्थानीय तहले नागरिकलाई सहज रूपमा स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा दिन धमाधम अस्पताल निर्माण गरिरहेका छन्। नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु-याउने उद्देश्यले सङ्घीय सरकारले २०७७ साल मङ्सिरमा एकैसाथ ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरेको थियो। दुई वर्षअघि दोलखामा शिलान्यास गरिएका छवटा अस्पतालमध्ये पाँचवटा अस्पताल हाल निर्माणाधीन छन्। 

तामाकोशी गाउँपालिकाले वडा नम्बर ४ मालुमा कुल १४ करोड ५७ लाख चार हजार ३४० रुपियाँको लागतमा १० शय्याको अस्पताल निर्माण भइरहेको छ। अहिले अस्पतालको चौथो तलाको निर्माण कार्य भइरहेको तामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अरुणकुमार मिश्रले बताउनुभयो। गौरीशङ्कर गाउँपालिकाको सुरी प्राथमिक स्वास्थ्य केन्द्र रहेको इबिथानमा पनि १५ शय्याको अस्पताल निर्माण कार्य सुरु भएको छ। 

शैलुङ गाउँपालिकाको बाघखोर स्वास्थ्यचौकीमा १५ शय्याको अस्पताल निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुनबहादुर तामाङले बताउनुभयो। त्यसैगरी वैतेश्वर गाउँपालिका वडा नम्बर ५, मैनापोखरीमा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ। एक तला निर्माण भइसकेको सो अस्पताल बजेट अभावका कारण पूरा हुन नसकेको गाउँपालिकाले जनाएको छ। यस्तै भीमेश्वर नगरपालिकाले चरीकोट अस्पताल परिसरमा १५ शय्याको अस्पताल निर्माण गरिरहेको छ। सो अस्पतालको करिब ५० प्रतिशत काम भइसकेको नगरपालिकाका प्राविधिक शाखा प्रमुख सुरेश राउतले बताउनुभयो। 

एउटा अस्पताल जग्गाको लालपुर्जा नभएका कारण निर्माण सुरु हुन सकेको छैन। मेलुङ गाउँपालिकाको भेड्पु स्वास्थ्यचौकीमा पाँच शøयाको अस्पताल निर्माण गर्ने भनिएकोमा निर्माण कार्य सुरु हुन सकेको छैन। जग्गाको लालपुर्जा नभएका कारण सङ्घीय सरकारले अनुदान रोकेको छ। अनुदान रकम नआएपछि अस्पताल निर्माण कार्य अगाडि बढ्न नसकेको मेलुङ गाउँपालिकाका अध्यक्ष हीराकुमार थोकरले बताउनुभयो। गुठीको जग्गा भएका कारण लालपुर्जा नभएपछि अस्पताल निर्माणको काम सुरु हुन नसकेको थोकरको भनाइ छ।