कविराज घिमिरे
हिले, चैत १४ गते । धनकुटा नगरपालिका वडा नम्बर २, सुन्तलेका ध्रुव बस्नेत ७१ वर्षको पुग्नुभयो। उहाँलाई करिब ६० वर्षयता एउटै कुराले कौतूहल जगाइरहेको छ। त्यो हो उहाँको घरनजिकै सल्लेरी सामुदायिक वनभित्र रहेको अनौठो घर।
हालसम्म कुनै लिखित इतिहास फेला नपरेको र किंवदन्तीमै सीमित रहेको उक्त जङ्गलभित्रको ढुङ्गाको ओडारमा निर्मित घर कसले, कहिले र किन बनाएथ्यो भन्ने कौतूहल उहाँको मनमा वर्षौंदेखि रहिरहेकै छ।
वरिपरि जङ्गल छ, त्यसको बीचमा पहरोमा एक ओडार छ। जमिनदेखि करिब सात मिटरमाथि दुई ढुङ्गाको बीचमा थप सानासाना ढुङ्गा र माटोको सहायताले पाँच/छ व्यक्ति अटाउने गरी बनाइएको ओडार छ। त्यहाँसम्म पुग्न सखुवाको खाँबो लाथ्रो खुर्किएर सिँढी बनाइएको छ। यस्तो ठाउँमा यो बासस्थान कसले, कहिले र किन बनाएथ्यो भन्ने कुराले उहाँलाई अचम्ममा पारिरहेको छ। उहाँ भन्नुहुन्छ, “म पहिलो पटक यहाँ आउँदा करिब ११ वर्षको थिएँ। घरनजिकै भएकाले धेरै पटक यहाँ आइयो तर यो कसले र किन बनाएको हो भन्ने किंवदन्तीबाहेक कुनै ठोस प्रमाण पाउन सकिएको छैन। अहिलेसम्म रहस्यमै रहेको छ।” बस्नेत भन्नुहुन्छ, “मैले यस्तै देखेँ, मेरो बुवाले भनेअनुसार बुवाले पनि यस्तै देख्नुभएको थियो अरे र हजुरबाले पनि यस्तै देख्नुभएको थियो भन्ने बुवाले बताउनुभएको हो।”
उहाँ जोड्नुहुन्छ, “विक्रम संवत्को १७०० को अन्त्य र १८०० को सुरुवाततिर हाम्रा पितापुर्खा यो ठाउँमा आउनुभएको रे। त्यही बेलादेखि सो स्थानलाई पञ्चकन्या मानी पूजा गरिँदै आएको छ। त्यही बेलादेखि नै त्यो स्थान त्यस्तै रहेको भनाइ छ।”
सो अनौठो ओडारभित्र अहिले पनि विभिन्न आकारका मानव अस्थिपञ्जर रहेका छन्। केही समयअघिसम्म विभिन्न गरगहना, जीमाला, सिमालालगायतका वस्तु पनि अस्थिपञ्जरसँगै रहेको स्थानीयको भनाइ छ तर माओवादी द्वन्द्वताका ती गहना हराएको दाबी स्थानीयको छ।
त्यहाँ भएको लामो कपाल र टाउकोको खबटोसमेत हराएको स्थानीयको दाबी छ। माटोले लगाएको गारोको माटो पनि सुकेर पथ्थरझैँ भइसकेको छ। सिँढी पनि धेरै पुरानो देखिन्छ। केही वर्ष अघिसम्म सही सलामत रहेको उक्त घरको केही भाग अहिले चर्किएको छ।
सोही स्थानका ७० वर्षीय रणबहादुर बस्नेतले परापूर्वकालमा पाँचकन्यालाई कतैबाट शत्रुले लखेटेपछि आएर सो घर बनाई बस्ने गरेको कुरा आफूले सुन्दै आएको जानकारी दिनुभयो। ती कन्या कहाँबाट र कसरी आएका थिए भन्ने नसुनेको भए पनि उनीहरूले नै जलुको (पानीमाने) र भीमसेनपातीको पातमा पानी बोकेर उक्त घर बनाएको भन्ने कुरा सुनिआएको उहाँले बताउनुभयो। “पहिला घरमा पाँच मानव कङ्काल, माटोका भाँडा, विभिन्न माला, गरगहना थिए। हामीले हेर्न भ्याएनौँ, पछि सङ्कटकालमा ती सबै चोरी भएछन्,” बस्नेतले भन्नुभयो।
सो स्थानलाई स्थानीयले पञ्चकन्याको रूपमा वैशाखे पूर्णिमामा बर्सेनि पूजा गर्दै आएका छन्। उक्त क्षेत्रका गाउँलेका बस्तुभाउ बाघले खाएर दुःख दिएपछि सो स्थानमा पञ्चकन्या देवीको पूजा गरिँदै आएको उहाँले जानकारी दिनुभयो। त्यस्तै वस्तुभाउ हराएमा सो स्थानमा भाकल गर्दा हराएको बस्तुभाउ अहिले पनि फर्किएर आउने गरेको स्थानीयको भनाइ छ।
जमिनदेखि करिब सात मिटरमाथि दुई ढुङ्गाको बीचमा थप सानासाना ढुङ्गा र माटोको सहायताले पाँच÷छ व्यक्ति अटाउने गरी बनाइएको ओडार छ । त्यहाँसम्म पुग्न सखुवाको खाँबो लाथ्रो खुर्किएर सिँढी बनाइएको छ ।
ओडारभन्दा करिब दुई सय मिटरमाथि धनकुटा सुन्तले कृषि सडक छ तर सडकदेखि सो ओडारसम्म पुग्न भने कुनै बाटो छैन। सुन्तले गाउँबाट साढे चार दशकअघि पञ्चायतकालमै निर्माण गरिएको गोरेटो बाटोमार्फत त्यहाँसम्म पुग्नुपर्ने हुन्छ। ओडारसम्म पुग्न बालबालिका तथा वृद्धवृद्धालाई कठिन छ।
यस्तो स्थानसम्म पुग्न स्थानीय सरकारले पूर्वाधारसमेत निर्माण नगरिदिएको स्थानीयको गुनासो छ। भोलाराज थापाले भन्नुभयो, “अहिले त संसार प्रविधिमा धेरै अघि बढिसकेको छ। के कहिले बनेको थाहा पाउन सकिने प्रविधिको विकास भएको छ। यो घरको पनि अनुसन्धान हुनुप-यो। कहिले बनेको भन्ने पत्ता लगाइदिनुप-यो।”
धनकुटा नगरपालिका–२ का वडाध्यक्ष चन्द्रलाल तामाङ पनि सो स्थान धेरै महìवपूर्ण रहेको बताउनुहुन्छ। नजिकै रहेको धार्मिकस्थल मधुगङ्गासँगै सो स्थानको पनि डीपीआर गरेर पठाइएको थियो। मधुगङ्गा निर्माणका लागि बजेट आए पनि त्यसका लागि भने बजेट नआएको उहाँले बताउनुभयो। अहिले पनि सो स्थानमा पूर्वाधार निर्माणका लागि प्रदेश सरकारसँग कुरा भइरहेको जानकारी दिनुभयो।