• ७ वैशाख २०८१, शुक्रबार

अनुदानमा निर्माण, ऋणमा मर्मत

blog

काठमाडौँ, चैत १३ गते । अनुदानमा बनाइएको सडक ऋण लिएर बनाउन थालिएको छ । चीन सरकारको अनुदानमा बनेको चक्रपथको बल्खु–कलङ्की सडकको सर्भिस लेन काम नलाग्ने भएको भन्दै विश्व बैङ्कबाट ऋण लिएर बनाउन थालिएको छ । 

उक्त सडकखण्ड निर्माण सम्पन्न भई २०७५ मा नै हस्तान्तरण भइसकेको छ तर अहिले आएर उक्त सडक काम नलाग्ने भएको भन्दै रातारात भत्काइएको छ । डिजाइन, निर्माणमा कमजोरी देखिएको भन्दै  र अनुगमनमा लापारबाहीका कारण अनुदानमा बनेको सडक ऋण लिएर बनाउनुपरेको सडक विभागले जनाएको छ ।

चीन सरकारको अनुदान सहयोगमा विस्तार भएको चक्रपथको सो खण्डको पुनस्र्थापना (रिहाबिलिटेसन)का लागि अहिले विश्व बैङ्कको तीन करोड रुपियाँको ऋण सहयोगबाट सुरु गरिएको हो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विस्तार भएको चक्रपथको सो खण्डको विस्तारका लागि चीनले नै डिजाइन गरेको थियो भने नेपालले त्यसलाई स्वीकृत गरेको थियो । डिजाइनमा भएको त्रुटि तथा निर्माणको समयमा आवश्यक अनुगमन हुन नसक्दा कलङ्की–बल्खु सडकखण्डको सर्भिस लेनको १.३ किलोमिटर सडकखण्डमा कालोपत्रेमुनिको ‘बेस फेलियर’ भई कालोपत्रे सतह बिग्रिएको छ । ‘बेस फेलियर’ भएको खण्डमा पुनस्र्थापना गर्न अहिले सो कालोपत्रे उप्काएर पुनस्र्थापन सुरु गरिएको हो ।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले ‘बेस फेलियर’ भई सडक नै हिलाम्य हुन थालेपछि परामर्शदाता नियुक्त गरी सो ठाउँमा गरिएको अध्ययन प्रतिवेदनका आधारमा नै अहिले पुनस्र्थापना गर्न लागिएको बताउनुभयो।

डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख नारायण निउरेले विश्व बैङ्कको ऋण सहयोगमा कलङ्की–बल्खु सडकखण्डको सर्भिस लेनको पुनस्र्थापना भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार तीन करोड रुपियाँ लागतमा सो पुनस्र्थापना हुन लागेको हो।

उहाँका अनुसार परामर्शदाताले पेस गरेको डिजाइन अनुसार १५ सेन्टिमिटर उहाँका ‘बेस कोर्स’ र छ सेन्टिमिटर ‘आसफाल्ट क्रङ्क्रिट’ गर्ने गरी पुनस्र्थापना भइरहेको छ।

विस्तार कार्य सम्पन्न गरी चीनले २०७५ माघमा चक्रपथको सो खण्ड नेपाललाई हस्तान्तरण गरेको थियो। सम्झौताअनुसारको काम सम्पन्न गरी चीनले हस्तान्तरण गरे पनि सो क्षेत्रमा अझै प्रस्तावित आकाशेपुल र सर्भिस ट्र्याकको निर्माण हुनसकेको छैन।