• २ असार २०८२, सोमबार

सेनाको ट्रक पल्टिँदा तीन जना घाइते

blog

मुग्लिन नारायणगढ सडक खण्डमा पल्टिएको सेनाको ट्रक । तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय चितवन

शान्ता अधिकारी

चितवन, चैत १२ गते । काठमाडौंबाट अमलेख गञ्ज बाराको लागि आउँदै गरेको नेपाली सेनाको एउटा ट्रक पल्टिँदा तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार अमलेख गञ्जको लागि मुग्लिङ तर्फबाट नारायणगढ आउँदै गरेको लु १ ग १०९ नम्बरको ट्रक मुग्लिङ नारायणगढ सडक खण्डको भरतपुर २९ घुमाउने भन्ने स्थानमा आइतबार अपराह्न २:५५ बजे अनियन्त्रित भई पल्टँदा उक्त ट्रकमा सवार तीन जना घाइते भएका हुन् । ट्रकमा १४ जना सवार थिए । 

घाइते हुनेमा नेपाली सेनाका जम्दार वर्ष ३९ को उत्तम कार्की, अमल्दारद्वय वर्ष ३३ को कृष्ण प्याकुरेल र वर्ष ३२ को केआई सिंह भएको प्रहरीले जानकारी दिएको छ । अमल्दार प्याकुरेल उक्त गाडीका चालक समेत हुनुहुन्थ्यो ।

उहाँहरू तीनै जनाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरी प्रवक्ता विजयराज पण्डितले घाइतेको अवस्था सामान्य रहेको बताउनुभयो । प्रहरी स्रोतका अनुसार घटनास्थलमा प्रहरी चौकी जुगेडीबाट प्रसनीको कमाण्डमा खटिएको टोलीले ट्रक पन्छाउने काम गरिरहेको छ ।