अमरराज नहर्की
तनहुँ, चैत १२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा सञ्चालित राष्ट्रिय गौरवका तथा अन्य विकासका योजना समयमा नै सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ।
राष्ट्रपति पौडेलसमक्ष जिल्लावासीले काममा ढिलाइ भएको गुनासो सुनाएपछि निर्माण कार्यप्रति चासो लिनुका साथै ध्यानाकर्षण गराउनुभएको हो। राष्ट्रपति पौडेलले प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई टेलिफोन सम्पर्क गरी विकास निर्माणका कामलाई छिटोछरितो बनाउन निर्देशन दिनुभयो।
राष्ट्रपतिले जनताबाट कुनै पनि गुनासो नआउने गरी काम गर्नुपर्ने र तोकिएको काम निर्धारित समयमा उत्कृष्ट ढङ्गले सम्पन्न गर्न निर्देशन दिनुभएको प्रजिअ रिजालले गोरखापत्रलाई बताउनुभयो।
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी र प्रमुख जिल्ला अधिकारी रिजालले निर्माणाधीन डुम्रे–चाम्बास सडकको शुक्रबार अनुगमन गर्नुभएको छ भने बिहीबार सरोकारवालासँग अन्तत्र्रिmया गर्नुभएको थियो। अनुगमनका क्रममा स्थानीयवासीले काम तीव्र रूपमा हुन नसकेको, गुणस्तर नभएको, घाम लाग्दा धुलो र पानी पर्दा हिलोले सताउने गरेको, हुनुपर्ने ठाउँमा नाली र कल्भर्ट नराखिएकोजस्ता गुनासो सुनाएका थिए।
सार्वजनिक सरोकारको विषय भएकाले आमनागरिक सचेत बनी खबरदारी गर्न नगरप्रमुख त्रिपाठीले आग्रह गर्नुभएको थियो। प्रजिअ रिजालले यो वा त्यो बहाना देखाएर काम पन्छाउने वा भाग्न नपाइने भन्दै निर्धारित मापदण्डअनुसार तोकिएको समयमै पूरा गर्न निर्देशन दिनुभयो।
अनुगमन गर्नुअघि नगरपालिकाकी उपप्रमुख उमा गोतामे, वडाध्यक्षहरू, वडा सदस्यहरू, सरोकारवाला स्थानीय बासिन्दा, भानुका विभिन्न राजनीतिक दलका प्रतिनिधि, डुम्रे–बेँसीसहर सडक आयोजनाका प्रमुख अच्युतविलास पन्त, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट, सशस्त्र प्रहरी मनकामना गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमलचन्द्र गैरेलगायतका सहभागीले विकास योजना समयमा नै सम्पन्न गर्ने विषयमा छलफल गर्नुभएको थियो।
सो छलफलपछि डुम्रेदेखि चम्बास सडकको गुणस्तरमा जोड दिँदै समयमै काम सम्पन्न गर्न स्थानीय तहसँग समन्वय गर्ने र समस्या परेको खण्डमा सहजीकरण गर्ने निर्णयसमेत बैठकले गरेको छ। ठेकेदार कम्पनी आशिष अनेस्ट जेभी भरतपुर चितवनका प्रतिनिधि छत्रबहादुर अर्यालले नदीजन्य सामग्रीको अभावले काम केही ढिला हुन गएको भन्दै स्थानीय तहले सहजीकरण गरिदिएको खण्डमा तोकिएकै मितिमा काम सम्पन्न हुने जानकारी दिनुभयो।
डुम्रेदेखि चम्बाससम्मको आठ किलोमिटर तीन सय मिटर नालीसहित दुई लेनको पक्की सडक अर्थात् कालोपत्रे गर्न आशिष अनेस्ट जेभी भरतपुर चितवनले २०७८ साल वैशाख २२ गते ३८ करोड नौ लाख ८६ हजार ४९२ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो।
ठेक्काको समाप्त हुने अवधि आठ महिना बाँकी रहँदा भौतिक प्रगति ५० प्रतिशत छ भने वित्तीय प्रगति ४५ प्रतिशत रहेको छलफल कार्यक्रममा जानकारी दिइएको थियो।
गौरवको आयोजना तनहुँ हाइड्रोपावर, राष्ट्रिय योजनाहरू पृथ्वी राजमार्ग स्तरोन्नति, डुम्रे–बेँसीसहर सडक आयोजना, भानु मार्ग, बुद्धसिंह मार्ग, तनहुँ सभा हल निर्माणका विषयमा निकै चासो देखिएको छ।
भानु मार्ग, डुम्रे–बेँसीसहर मार्ग
आदिको काममा ढिलाइ भएकोबारे राष्ट्रपतिसमक्ष जानकारी गराएको नगरप्रमुख त्रिपाठीले बताउनुभयो। “राष्ट्रपतिले विकासका बारेमा चासो राखी प्रगतिबारे जानकारी लिने गर्नुभएको छ,” नगरप्रमुख त्रिपाठीले बताउनुभयो।