• १७ असार २०८१, सोमबार

सङ्क्रमित सङ्ख्या बढ्दै नेपालमा

जमुनाह नाकामा भेटियो कोभिड सङ्क्रमित

blog

बाँकेका जमुनाह नाका ।

गोविन्द शर्मा

बाँके, चैत ११ गते । बाँकेको जमुनाह नाका भएर भारतबाट फर्किने नेपालीमा फेरि कोभिड सङ्क्रमण देखिन थालेको छ । यसअघि लामो समयसम्म फाट्टफुट्ट मात्रै कोभिड सङ्क्रमण देखिएकोमा केही दिनयता सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेको नेपालगञ्ज उप–महानगरपालिका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिनुभयो । 

“जमुनाह नाकामा भारतबाट फर्किनेहरूको नियमित स्वास्थ्य जाँच भइरहेको छ,” जनस्वास्थ्य निरीक्षक वलीले भन्नुभयो,–“ पछिल्ला समय एकैदिनमा सात जना सम्ममा कोभिडको सङ्क्रमण देखिएको छ ।

–बाँकेका जमुनाह नाकामा कोभिड परीक्षण गरिँदै । तस्बिर– गोविन्द शर्मा । बाँके

नेपालगञ्ज उपमहानगरपालिकाका अनुसार चैत १ देखि ११ गतेसम्म  १७ जनामा सङ्क्रमण देखिएको छ । शुक्रबार १६१ जनाको कोभिड एन्टिजिन परीक्षण गर्दा तीन महिलासहित सात जनामा सङ्क्रमण देखिएको हो । पछिल्लो पटक सङ्क्रमण देखिएकाहरू दैलेखबाट भारतको राजधानी नयाँ दिल्ली भ्रमणमा गएका विद्यार्थीहरू हुन । 

कोभिड सङ्क्रमण देखिएकाहरूमा सामान्य रुघाखोकी मात्रै देखिएकारण स्थानीय तहको समन्वयमा घरमै आइसोलेशन बस्ने गरी पठाइएको उप–महानगरपालिकाले जनाएको छ । 

नेपालगञ्ज उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार सीमानाका भएर ओहोरदोहोर गर्ने नागरिक तथा अन्य सबैलाई कोभिडबाट बच्न स्वास्थ्य मापदण्डको पूर्ण पालनाका लागि आग्रह गर्ने गरिएको छ । सीमा नाकामा कोभिड परीक्षणमा थप कडाइ गरिएको उहाँको भनाइ छ । कोभिड सङ्क्रमण देखिएपछि जमुनाह नाकामा स्थायी प्रकारको परीक्षण केन्द्र स्थापना गरिएको छ । 

जिल्लाका अन्य अस्पतालहरूमा समेत सामान्य रुघाखोकीका बिरामी बढेका कारण चिकित्सकहरूले स्वास्थ्य मापदण्ड पालनाका लागि आग्रह गरेका छन् ।