• १४ वैशाख २०८१, शुक्रबार

रहरमै बाँचेको रङ्गमञ्च

blog

नेपालमा टोलटोल र डबलीमा देखाइने नाटकको आफ्नै किसिमको परम्परा थियो । हामीले अहिले हेर्ने पश्चिमी शैलीको ‘थिएटर’ नाटक भने नाट्यसम्राट् बालकृष्ण समले भित्र्याउनु भएको हो । उहाँले नाटक लेख्ने, मञ्चन गराउने काम मात्र गर्नुभएन, नाटकको एउटा पुस्ता नै तयार पारिदिनु भएको थियो । समले तयार पारिदिनु भएको त्यो पुस्ताको पनि अन्त्य भइसकेको छ । 

विशेषगरी शासक तथा उच्च वर्गको मनोरञ्जनका लागि नाटक प्रदर्शन हुने गथ्र्यो । नाटक भन्नेबित्तिकै रत्नदास प्रकाश, दमनराज तुलाधरको नाम अगाडि आइहाल्छ । उहाँहरूले दरबारमा नाटक प्रस्तुत गरेर ख्याति कमाउनु भएको थियो । दमनराज तुलाधरले जुद्धशमशेरको दरबारमा शेक्सपियरको नाटक ‘मर्चेन्ट अफ भेनिस’ प्रस्तुत गरेर साइलकको उपाधि नै पाउनु भएको थियो । मास्टर रत्नदास प्रकाशलाई नेपाली रङ्गमञ्चको स्तम्भ नै मानिन्छ । उहाँको समय वरपर नेपाली नाटक लेखेर मञ्चन गर्ने परम्परा सुरु भएको हो । उहाँले हिन्दी, उर्दू र अङ्ग्रेजी नाटकलाई नेपालीमा अनुवाद गरेर मञ्चन गर्न सुरु गर्नुभएपछि नेपालमा (विशेषतः काठमाडौँ उपत्यकामा) नाटक मञ्चन र लेखनको विधिवत् शुभारम्भ भएको देखिन्छ । रत्नदास प्रकाशले नाटक मञ्चन गरेको समय नै शुक्रराज जोशीको ‘स्वर्गको द्वार’को मञ्चनको तयारी भएको देखिन्छ । यही नाटकको एउटा गीतलाई सङ्गीतकार भगतकृष्ण मानन्धरको सङ्गीतमा मेलवादेवी मानन्धरले रेकर्ड गरेको आधारमा यो कुरो पुष्टि हुन्छ । 

यसपछि गोपालप्रसाद रिमालले नामकरण गरिदिएको गौरीशङ्कर नाट्य समूहले बालकृष्ण समको ‘ऊ मरेकी छैन’ सिंहदरबारको नाचघरमा प्रस्तुत भएको पाइन्छ । यो मौलिक रूपमा लेखिएको र त्यहीअनुरूप प्रस्तुत गरिएको नाटक भन्ने बुझिन्छ । यस नाटकमा बालकृष्ण समका सहायक निर्देशक भएर गोपालप्रसाद रिमालले काम गर्नुभएको थियो भने नायिकाको भूमिका कलानाथ अधिकारी (उहाँ गायक पनि हुनु हुन्थ्यो) ले अभिनय गर्नुभएको थियो । यही नाटकमा स्त्री पात्रको भूमिकामा शङ्कर लामिछानेले पनि अभिनय गर्नु भएको थियो । नाटक लेखन र निर्देशनमा सम आफ्नो समयमा सबैभन्दा बढी सक्रिय र प्रतिबद्ध हुनुहुन्थ्यो । त्यसबेला अभिनय गर्ने महिला पात्रको अभाव हुन्थ्यो । त्यसैले नीरविक्रम प्यासी, दौलत विक्रम विष्ट, कलानाथ अधिकारी आदिले महिला पात्रको अभिनय गर्नु हुन्थ्यो । समका नाटक विशेषतः त्यो समय लेखिएका आधुनिक नाटकमा पर्दथे । समको नाटक ‘मुटुको व्यथा’ त्यो बेला मात्र होइन, पछिसम्म पनि मञ्चन भएर प्रसिद्धि कमाएको नाटक हो ।  समाजमा व्याप्त विकृतिलाई हटाउन नाटकमार्फत जनचेतना तथा उत्प्रेरणा जगाउने उद्देश्यले प्रत्येक वर्ष मार्च २७ मा विश्व रङ्गमञ्च दिवस मनाउने गरिन्छ । सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च संस्थाले यो दिवस मनाउन थालेपछि विश्वभरका रङ्गकर्मीले मनाउन थालेका हुन् । समग्र मानव जीवन चित्रण गर्ने प्रभावशाली विधाको रूपमा नाटकलाई लिइन्छ । समाजलाई सही बाटो हिँडाउन, विसङ्गति तथा विकृति हटाउन नाटक प्रभावकारी मानिन्छ । विश्व रङ्गमञ्च दिवसका सन्दर्भमा नेपालमा नाटक मञ्चन, थिएटर हल र दर्शकको अवस्था कस्तो छ त ?  

रङ्गमञ्च एकान्तलाई सार्वजनिक गर्ने कला हो । पछिल्लो समय नेपाली रङ्गमञ्चमा युवा पुस्ताको आकर्षण बढ्दो छ । तर रङ्गकर्मीको आर्थिक अवस्थामा भने सुधार हुन सकेको छैन । आठ/नौवटा थिएटर हलहरू काठमाडौँमा छन् । काठमाडौँ बाहिर पनि विभिन्न नाटक समूहले आफ्नै लगानीमा यस्ता हलहरू बनाएका छन् । यो भनेको यस क्षेत्रका लागि एकदमै राम्रो र सकारात्मक लक्षण हो तर नाटकका दर्शक भने घटेका छन् । यसको कारण यो हो भनेर किटानी साथ भन्न सकिँदैन । हाम्रो गुणस्तर खस्किएको हो कि कोरोनाकालपछि हामीले राम्रो नाटक ल्याउन नसकेर हो ? कुन कुरोले नाटकका दर्शक घटेका हुन् पहिचान गर्न सकिएको छैन । 

भारतमा अथवा दक्षिण एसियाकै देशको नाटकको अवस्थालाई हेरेर तुलना गर्ने हो भने त्यहाँ नाट्य समूहका आ–आफ्नै थिएटर हल भएकाहरू एकदमै कम छन् । उनीहरू यहाँ आउँदा छक्क पर्छन् । ‘ओहो ! कस्तो अचम्म, यहाँ त थिएटर गु्रपले नै हल चलाउने रहेछ’ भनेर तारिफ गर्छन् । एक समय त्यस्तो थियो, जुनबेला थिएटरमा आएका दर्शक देखेर बाहिरी देशका मानिस आश्चर्यचकित हुन्थे । तर यसलाई हामीले कायम राख्न सकेनौँ । उनीहरूलाई हामीले नाटकमा पस्किने कथाले नतानेको हो कि के हो ? तर दक्षिण एसियामा भने नेपाली नाटकको स्थान राम्रो ठाउँमा छ । 

हास्यव्यङ्ग्यले यतिखेर राम्रो बजार पाएको छ । हास्यव्यङ्ग्य खालको नाटक हामी पनि गर्न सक्छौँ तर यहाँ एउटै प्रश्न छ– नाटक केका लागि गर्ने ? पैसा कमाउन या मन लागेको काम गर्न । कला कलाका लागि मात्र हुनु हुँदैन, कला जीवनकै लागि हुनुपर्छ । आफूलाई मन परेको काम नगर्ने हो भने त्यसमा लागिरहनुको औचित्य के भयो र ?  

आरोहण गुरुकुल थिएटर अहिले बन्द छ । काठमाडौँको पुरानो बानेश्वरमा जग्गा भाडा लिएर सञ्चालित गुरुकुल प्राविधिक कारणले बन्द भए पनि नेपाली रङ्गमञ्च क्षेत्रमा गुरुकुलको अतुलनीय योगदान छ । अहिले विराटनगरमा चाहिँ आरोहण गुरुकुल सञ्चालनमा छ । रङ्गमञ्चमा नयाँ जनशक्ति आइरहेका छन् । नाटक गर्ने व्यक्तिको अभाव भएको छैन । नाटकको सङ्ख्या धेरै भएर गुणस्तर खस्किएको हुनसक्छ । प्रशिक्षण लिएका र नलिएका दुवै साथीले लगातार नाटक गर्दा गुणस्तर खस्किने सम्भावना हुन्छ । 

नाटकका दर्शक घट्नुमा यही कारण हो भनेर ठोकुवा गर्न नसके पनि एउटा कारण चाहिँ भन्न सकिन्छ– हामी नाटक त बनाउँछौँ तर त्यसको विज्ञापन गर्ने काममा चुक्छौँ । नाटकको बजेट थोरै हुन्छ । त्यसैले विज्ञापनका लागि भनेर खर्च गर्ने अवस्था पनि नाट्य समूहको हुँदैन । अहिले सामाजिक सञ्जालबाट नै विज्ञापन गर्ने जुन तरिका आएको छ, त्यसमा पनि हामी चुकेकै छौँ । यसमा अलि बढी नै गम्भीर भएर छलफल गर्नुपर्ने अवस्था छ । एउटा समय यस्तो थियो, देशका नामी साहित्यकार, चित्रकार, सङ्गीतकार सबै नाटक हेर्न आउँथे । हामीलाई हौसला हुन्थ्यो । दर्शक बढाउन पनि मद्दत पुग्थ्यो । तर त्यो अवस्था अहिले खस्केको देख्छु । सम्भवतः त्यो पुस्ता अलि व्यस्त भएर होला । अनि नयाँ पुस्तासँग पनि हामी पुग्न सकेनौँ कि ! मेरै समकालीन साथीहरू पनि कम देख्छु । अहिले मान्छेले समय निकाल्ने भनेको बिदाको दिन हो । यो दिन विशेषगरी शनिबार नै हो । यही दिन मानिसका अनेक कार्यक्रम पर्ने गर्छन् । धेरै कार्यक्रम हुन थालेर यस्तो भएको पनि हुन सक्छ । कति समय दिने र कहाँ मात्र समय दिने भन्ने कुराले पनि नाटकमा दर्शक घटेका होलान् । 


नाटकका दर्शक घट्नुमा अर्को कारण कोरोना पनि होला । तर कोरोनाकै बेला एक महिनाका लागि खुलेको समयमा हामीले एउटा नाटक मञ्चन गरेका थियौँ, जुन नाटक राम्रै चलेको थियो । कोरोनाले मान्छेको मनस्थिति भत्कायो कि भन्ने पनि हो । केही आर्थिक कुरा पनि होला । जीवनयापनका कुराले कसलाई असर नगर्ला र ! सायद नाटकका दर्शक घट्नुमा यी सबैको असर हुन सक्छ । कोरोनापछि एक÷दुई वटा नाटकबाहेक अन्यले दर्शकलाई थिएटर हलमा उल्लेख्य रूपमा ल्याउनै सकेको छैन । 

चलचित्रको बजार ठूलो हुन्छ । पैसा पनि गतिलै खर्च गर्छन् र गतिलै तरिकाले उठाउँछन् पनि । नाटकको बजार सानो हुन्छ । हामी पैसा पनि धेरै खर्च गर्न सक्दैनौँ र हामीसँग पैसा पनि खासै हुँदैन । नाटक एक पटकमा एकदेखि डेढ सय जनाले हेर्छन् होला तर चलचित्र त देशभरका हलमा मात्र होइन, विदेशका हलमा समेत चलाइन्छ । लाखौँ मान्छेले हेर्छन् । त्यसैले चलचित्रसँग नाटकको तुलना नै हुन सक्दैन । अर्को कुरा हास्यव्यङ्ग्यले यतिखेर राम्रो बजार पाएको छ । हास्यव्यङ्ग्य खालको नाटक हामी पनि गर्न सक्छौँ तर यहाँ एउटै प्रश्न छ– नाटक केका लागि गर्ने ? पैसा कमाउन या मन लागेको काम गर्न । कला कलाका लागि मात्र हुनु हुँदैन, कला जीवनकै लागि हुनुपर्छ । आफूलाई मन परेको काम नगर्ने हो भने त्यसमा लागिरहनुको औचित्य के भयो र ? काम गर्दा आपूmभित्र आत्मसन्तुष्टि हुन जरुरी छ । काम गर्नु भनेको सिकाइ पनि हो । कुनै कुरो सिक्न सकिँदैन भने त्यसमा लागिरहनुको औचित्य पनि हुँदैन । त्यसैले नाटकमा अभिनय गर्नु भनेको त हाम्रो अनुभवलाई विस्तार गर्नु पनि हो । यहाँ सबै चिज पैसाले मात्र नियन्त्रण गर्छ । रङ्गमञ्च चाहिँ बजारको एउटा प्रतिरोधी शक्ति भएर बसोस् भन्ने हाम्रो चाहना पनि हो ।

माथि पनि भनियो, चलचित्रको तुलनामा रङ्गमञ्चको बजार सीमित हुन्छ । यो संसारभरि नै लागू हुन्छ । विदेशको तुलनामा हामीकहाँ नाटकको टिकट पनि सस्तो छ । विदेशमा नाटकको टिकटको मूल्य चलचित्रको भन्दा तीन दोब्बर हुन्छ । नाटकको सीमा नै यो हो कि एक ‘शो’ मा थोरै दर्शकलाई देखाउन सकिन्छ । प्रज्ञा प्रतिष्ठानको हलमा नै देखाइयो भने पनि सात सयदेखि एक हजार जनासम्मलाई देखाउन सकिन्छ । एकै पटक लाखौँ मानिससामु नाटक पुग्न नै सक्दैन । त्यसैले स–साना थिएटर हलहरू सञ्चालन भएका हुन्छन् । फेरि ससाना थिएटर हलमा दर्शकले कलाकारकोे सास फेरेको आवाज सुन्न सकोस् भन्ने हाम्रो चाहना पनि हो । यही चाहनाले नै नाटक प्रभावकारी हुने हो । हामीले यो सीमालाई स्वीकारेका छौँ । हामी लोकप्रिय हुँदैनौँ । हामीलाई बाहिर कसैले चिन्दैनन् । हामी चलचित्रको कलाकार जस्तो एकरातमा नै चर्चित हुँदैनौँ । रङ्गमञ्चलाई सकेसम्म साँघुरो बनाउनु हुँदैन तर यसको सीमा छ । सम्भावना पनि धेरै छ । नेपाली नाटक बाँचेको यस क्षेत्रमा लाग्नेहरूको रहर वा आकाङ्क्षाले नै हो, पैसाले होइन । थियटरमा लगेका कलाकारमा नाटक भनेपछि हुरुक्कै हुने बानीले यसलाई अहिलेसम्म बचाएको छ । रङ्गमञ्च केही व्यावसायिक पनि हुन थालेको छ । नाट्यकर्मी यही समाजका मान्छे हुन् । राजनीतिक, सामाजिक विषयले नै नाट्यकर्मीलाई पनि असर गर्छ । उनीहरूलाई छुन्छ । अनि नाटकमा उनीहरूले त्यही विषय पस्किने हो । उनीहरूलाई छुने विषयले दर्शकलाई पनि छुनुपर्ने हो भन्ने लाग्छ किनकि नाट्यकर्मीले यही समाजको विषय त देखाउने हो । यसक्रममा हामी जहाँ छौँ, हामी त्योभन्दा अगाडि जाने कि पछाडि जाने, त्यो पहिला सोच्नुपर्छ । त्यसैले दाबी गर्न सकिँदैन कि नाट्यकर्मी समाजभन्दा अगाडि सोच्छन् । 

जीवनका अनुभव नाटकमा मिसिन्छन् । नाटकका अनुभव जीवनमा । मनोरञ्जनपूर्ण नाटकका दृश्यले जीवनमा धेरै अर्थ राख्छन् तर जीवन मनोरञ्जनपूर्ण नाटकझैँ भइदियो भने बर्बाद हुन्छ । नाटक साधना हो । नाटक खेल्दा भोगिने फरक पात्रको अनुभवले नाट्यकर्मीमा फरक जीवनको अनुभूति हुन्छ । नाट्य अनुभवमा आखिर जीवन के रहेछ त ? मैले अहिलेसम्म जीवनको परिभाषा भेट्टाएका छैन । जति काम ग¥यो । उति कठिन लाग्छ । वर्तमान अँगालेर बाँच्नु एउटा परिभाषा हो ।

प्रशिक्षण/प्रशिक्षार्थी 

प्रायः काठमाडौँका थिएटरले प्रशिक्षण कक्षा चलाउँछन् । अहिले दुवै खालका मानिस प्रशिक्षणमा आएको देख्छु । त्यहाँ आएका युवा भाइबहिनी हेर्दा के लाग्छ भने सबै नाटकमै जीवन बिताउँछु भनेर आएका होइनन् । उनीहरू कलाकार बन्न आएका हुन् किनभने पछिल्लो समय नेपालमा थिएटरबाट गएका मान्छेहरू चलचित्रमा 

‘हिट’ भए । राम्रो गरे । चर्चित कलाकार बन्न, नाम कमाउन थिएटरबाट सुरु गर्नुपर्छ भन्ने यही धारणाले थिएटरमा प्रशिक्षण लिनेहरू बढेका हुन् । थिएटर र चलचित्र दुईवटैमा कलाकारले काम गरिरहेका छन् । अहिलेका युवाको जोश, जाँगर चाहिँ अचम्मै बनाउने खालको छ । जस्तोसुकै ठूलो प्रोजेक्टमा काम गरे पनि उनीहरूलाई रङ्गमञ्चले फर्काएको छ । रङ्गमञ्चमा लाग्नेहरू अनेक हिसाबले आउँछन् तर चासो चाहिँ सबैको बढेको छ । अध्ययन गर्ने, सिक्ने, अरूको नाटक हेर्ने, यात्रा गर्ने, सङ्गीत सुन्ने आदि कुरो कलाकार बन्छु भन्ने युवामा जागेको देखिन्छ । पहिला पहिला कलाकारले अरूको नाटक नै हेर्दैनथे । आफ्नो नाटक देखायो, सकियो । आफ्नै थिएटर हुनेलाई त खासै गाह्रो छैन तर अरूको थिएटर भाडामा लिएर नाटक देखाउनेलाई अहिले पनि एकदमै गाह्रो छ । यस्तो अवस्थामा पनि दुई छाक खानलाई धौधौ हुनेहरू पनि नाटक भनेपछि हुरुक्कै भएर लाग्ने धेरै छन् ।