• ११ वैशाख २०८१, मङ्गलबार

अमेरिका चिनाउने नियात्रा

blog

नेपाली नियात्रा साहित्यमा लगभग सात सयको हाराहारीमा नियात्रा कृति प्रकाशित छन् । अमेरिका भ्रमणबारे मात्रै दर्जनौँ कृति लेखिएका छन् । तिनैको लहरमा उभिएको छ शरद निरोलाको नियात्रा सङ्ग्रह ‘एटलान्टिकदेखि प्रशान्त महासागरसम्म’ । त्रिविको सहप्राध्यापकको जागिर छोडेर तीन दशकअघि शरद निरोला अमेरिका जानुभएको हो । यही बसाइका क्रममा अमेरिकाका अविस्मरणीय घटना लिपिबद्ध रहेछ यो कृतिमा । 

अहिलेसम्म अमेरिकी यात्राबारे पढेका दर्जनौँ कृतिमध्ये तुलनात्मक रूपमा यो कृति बलशाली रहेको महसुस भयो । अङ्गेजीका अध्यापक अनि भाषा राम्रो भएका कारणले पनि होला यस कृतिमा निकै सोधखोज गरेर स्थान विशेषको गहिराइ छिचोलेको महसुस भयो । फेरि तीन दशकदेखि अमेरिकी भूमिसँग सङ्घर्ष गर्दाका अनेकौँ अनुभवले पनि लेखनलाई चिटिक्क सिँगार्न मद्दत गरेको होला । 

खण्ड १ मा एटलान्टिक महासागरतर्फका आठ नियात्रा र खण्ड २ मा प्रशान्त महासागरतर्फका आठ गरी जम्मा १६ शीर्षकमा पुस्तक विभाजित रहेछ । खण्ड १ अन्तर्गत पहिलो नियात्रा नै संसारकै प्रसिद्ध व्यापारिक स्थल न्युयोर्कको वर्णन रहेको छ । न्युयोर्क कुन–कुन प्रशासनिक क्षेत्रमा विभाजित छ ? यो क्षेत्रको गगनचुम्बी भवन, फेसनयुक्त दुनियाँ, समुद्र, पर्यटकको भीडभाडका प्रसङ्गका रोचक अनुभूति यसमा छन् । व्यापारिक प्रयोजनका क्रममा कैयौँ पटक न्युयोर्क ओहोरदोहोर गरेपछि यो नियात्रा लेखिएको रहेछ । फ्रान्सबाट ‘स्ट्याचु अफ लिबर्टी’ कसरी अमेरिकालाई प्राप्त भयो ? समुद्रमा क्रुजयात्राबाट ‘स्ट्याचु अफ लिबर्टी’ अवलोकन गर्दाको आनन्द, यो स्ट्याचुमा के के विशेषता कुँदिएको छ भन्ने बारेमा मिहिन वर्णन छ । अनुभूतिको लेपनले लेखन माझिएको छ । न्युयोर्क पुग्न खोज्ने हरेक नेपाली पर्यटकलाई यो नियात्रा निकै जानकारीमूलक पनि हुन्छ । सूचनासँगै इतिहासको तथ्य वर्णन यसमा भेटिन्छ ।

जर्जिया राज्यमा पर्ने विशाल चट्टाने पर्वत स्टोन माउन्टेनका बारेमा पनि उत्तिकै रोचकताका साथ चर्चा गरिएको छ । केबलकार चढेर माउन्टेनको चुच्चोमा पुगेर प्रकृतिको अवलोकन गर्दाको आनन्द यसमा देखाइएको छ । यसैगरी मेरील्यान्ड राज्यको ओसन सिटी, फ्लोरिडा राज्यको डिज्नील्यान्ड, अमेरिका र क्यानाडाको बीचमा पर्ने नायग्रा फल्सको सुन्दर वर्णन छ । अमेरिकी भूमिबाट मात्रै वार्षिक ८० लाख जति पर्यटक र क्यानाडाबाट एक करोडभन्दा बढी पर्यटकले नायग्रा फल्स भ्रमण गर्न आउने अजीव तथ्याङ्क छ । पर्यटककै कारणले आर्थिक पाटो कसरी बलियो बन्न सक्छ भन्ने यो एउटा उदाहरण पनि हो । भजिर्नियामा अवस्थित लुरे गुफा देखेर को आश्चर्यचकित नहोला ? नेपालका मन्दिरमा मूर्तिलाई सिक्का चढाउने प्रचलनजस्तै यस गुफाभित्र सानो पोखरीमा अमेरिकी जनताले सिक्का चढाएको सन्दर्भले त्यहाँको सांस्कृतिक पक्षको बारेमा थाहा पाइन्छ ।

अमेरिकाको राजधानी भइकन पनि वासिङ्टन डिसी किन वकिलै वकिलको सहर हो भन्नेबारे पनि उल्लेख गरिएको छ । योलगायत वासिङ्टन डिसीका बारेमा निकै रोचक प्रसङ्ग यसमा छन् । नेपालकैझँै गरी बोल्डरको उकालोमा बस घचेटेर यात्रामा निस्कँदाको रोचक स्मरण पनि यसमा पढ्न सकिन्छ ।

खण्ड २ अन्तर्गत ‘विश्वप्रसिद्ध अल्काट्राज बन्दीगृहमा एक दिन’मा नियात्राले पाठकको मन विह्वल बनाउँछ । बन्दीलाई थुनिएको ठाउँ कस्तो थियो भन्नेबारेको यो जीवन्त वर्णन निकै विस्मयकारी छ । ‘ओलम्पिक पेनेन्सुला र टाटुश टापु’ शीर्षकले पनि पाठकको मन निकै तान्छ । सन् १९८५ मा नेपालमा एउटै परिवार गरी बसेकी अमेरिकी युवती सुजाना २५ वर्षपछि फेसबुकको माध्यमबाट भेटिएको र एकअर्काको घर गएको वर्णन निकै कौतूहलमय छ । 

विश्वप्रसिद्ध गोल्डेन गेटको यथार्थ चित्रणमा पाठक लेखकसँगै फनफनी घुम्न प्रेरित हुन्छ । ऐतिहासिक तथ्यसहित बिस्तारमा लेखिएको यो नियात्रामा सकेसम्म अरूले नलेखेका विषय लेख्ने नियात्राकारको ध्याउन्न छ । ग्रान्ड क्यानियोन र लस भेगसमा घुम्दाका सुन्दर प्रस्तुतिले पाठकको मन निकै लोभ्याउँछ । ‘हनुमानजी र स्यान्टा फेको सेरोफेरो’, ‘स्यान् फ्रान्सिस्को’, ‘भिक्टोरियाको ऐतिहासिक बगैँचा’ आदि नियात्रामा मज्जाले नियात्राको स्वाद पाउन सकिन्छ । अमेरिकी भूमिको भौगोलिक, प्राकृतिक, राजनीतिक अनि सांस्कृतिक पक्षका बारेमा पनि मजाले ज्ञान लिन सकिन्छ । 

भाषामा मिठास छ । अनुभूतिको प्राधान्य कसिलो छ । अनुभूतिसँगै सान्दर्भिक संस्मरण र गहन विचार प्रकट भएका छन् । यथार्थमा अमेरिका के हो भन्ने कुरा यसमा देखिएको छ । त्यहाँको राजमार्ग, हरेक ५० माइल कटेपछि आराम गृह, खाजा खाने ठाउँ, पेट्रोल पम्प आदिको व्यवस्थाले यात्रुमैत्री राजमार्गको आभाष हुन्छ । विकसित देशमा नागरिकले कुनै पनि कुराको अभाव महसुस नगरून भन्ने हुन्छ । विधिको शासनमा चलेको देश भएर पनि होला यी र यस्ता सुविधा जनताले प्राप्त गरेको ।

लामो समयदेखि अमेरिका बसेर नेपाली भाषालाई माया गरी नियात्रा कृति प्रकाशन गर्नुभएकोमा लेखकलाई कोटि कोटि सम्मान छ । नियात्रा लेखनमा विभिन्न ठाउँका सूचना इन्टरनेटमा पाइए पनि अनुभूतिको न्यानोपन र लेखकको धारणा अवश्य पाइँदैन । त्यसैले पनि यो नियात्रा कृति निकै पठनीय रहेको छ । अझै यस्तै कृति प्रकाशन गरी नियात्रा साहित्यलाई प्रवद्र्धन गरिरहन हार्दिक अनुरोध पनि छ । दायित्व वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको यस कृतिको मूल्य ४५०/– रुपियाँ र पृष्ठ १५० रहेको छ ।