• १० मंसिर २०८१, सोमबार

आधा जनसङ्ख्या आर्थिक रूपमा सक्रिय

blog

काठमाडौँ, चैत ११ गते । देशको आधाभन्दा बढी जनसङ्ख्या आर्थिक रूपले सक्रिय पाइएको छ । अर्थात् जनसङ्ख्याको आधा हिस्सा कुनै न कुनै रूपमा आयआर्जनमा संलग्न छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को पूर्ण नतिजाअनुसार देशभर एक करोड ५६ लाख ८९ हजार ७७७ व्यक्ति आर्थिक रूपमा सक्रिय रहेको पाइएको छ । यस हिसाबले कुल जनसङ्ख्याको ५३ दशमलव ७९ प्रतिशत आयआर्जनमा संलग्न देखिएको हो । 

राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ, जसमध्ये पुरुष एक करोड ४२ लाख ५३ हजार ५५१ (४८ दशमलव ९८ प्रतिशत) र महिला एक करोड ४९ लाख ११ हजार २७ (५१ दशमलव ०२ प्रतिशत) छ ।

जनगणनामा जुनसुकै काम जति पनि अवधिका लागि गरेका वा काम खोजेका १० वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिलाई मात्र आर्थिक रूपमा सक्रिय व्यक्तिअन्तर्गत राखिएको छ । यसअन्तर्गत दुई करोड ३९ लाख ५८ हजार ८६८ जना व्यक्ति पर्छन् । त्यसमध्ये ६५ दशमलव ५ प्रतिशत अर्थात् एक करोड ५६ लाख ८९ हजार ७७७ जना मात्रै आयआर्जनमा संलग्न देखिएको हो । बाँकी ८२ लाख ११ हजार १२ जना भने आर्थिक रूपले निष्क्रिय छन् अर्थात् उनीहरू आयआर्जनमा संलग्न छैनन् । 

जनगणनाले आयआर्जनमा संलग्न रहेका व्यक्तिलाई पनि ‘अक्सर आर्थिक रूपले सक्रिय’ र ‘आर्थिक रूपले निष्क्रिय’ भनेर छुट्याएको छ । कुनै पनि आर्थिक काम गरेको वा आर्थिक काम खोजेको समयको जोड छ महिना वा सोभन्दा बढी भएका व्यक्तिलाई अक्सर आर्थिक रूपमा सक्रिय समूहअन्तर्गत राखिएको छ । जनगणनाअनुसार यो समूहमा एक करोड १० लाख ३८ हजार ६०५ जना रहेका छन् । आर्थिक काम खोजेको वा गरेको समय जोड्दा छ महिनाभन्दा कम भएका व्यक्तिलाई अक्सर आर्थिक रूपले निष्क्रिय समूहमा राखिएको छ जसको सङ्ख्या ४६ लाख ५१ हजार ६७२ रहेको छ । 

अक्सर आर्थिक रूपले सक्रिय भएका व्यक्तिलाई पनि जनगणनामा काम नगरेकोभन्दा गरेको समय बढी भएकालाई अक्सर रोजगारअन्तर्गत राखेको छ, जसको सङ्ख्या एक करोड दुई लाख ७० हजार ४४७ छ । त्यस्तै काम गरेभन्दा नगरेको समय बढी भएकालाई अक्सर बेरोजगारअन्तर्गत राखिएको छ, जसको सङ्ख्या सात लाख ६७ हजार ६५८ रहेको छ । 

सबभन्दा धेरै कृषि क्षेत्रमा 

नेपाल ‘स्तरीय पेसागत वर्गीकरण’अनुसार १० वर्ष वा सोभन्दा माथिका आर्थिक रूपले सक्रिय करिब एक करोड ४९ लाख ८३ हजार ३१० जनसङ्ख्यामध्ये आधा हिस्सा पेसागत रूपमा सबभन्दा धेरै कृषि, वन र माछापालन पेसामा संलग्न रहेको पाइएको छ । जनगणनाअनुसार ७५ लाख दुई हजार ३८५ जना यो पेसामा संलग्न छन्, जसमध्ये ४० लाख ४३ हजार ४३८ महिला र ३४ लाख ५८ हजार ९४७ पुरुष रहेका छन् । 

यसपछि सामान्य वा प्राथमिक पेसामा संलग्नको सङ्ख्या ३४ लाख ३८ हजार ९३१ रहेको छ । त्यसपछि क्रमैसँग शिल्पकला तथा कालिगढ र यससम्बन्धी व्यापार गर्ने कामदार, सेवा तथा वस्तु बिक्री गर्ने कामदार, व्यवस्थापकलगायत रहेका छन् । 

औद्योगिक क्षेत्रअनुसार कृषि, वन र पशुपालनमा संलग्नको सङ्ख्या सबभन्दा धेरै छ । यसको हिस्सा नेपालस्तरीय औद्योगिक क्षेत्र वर्गीकरणअनुसार ५७ दशमलव ३ प्रतिशत रहेको छ । यस वर्गीकरणअन्तर्गत पनि १० वर्ष वा सोभन्दा माथिका उमेरसमूहका एक करोड ४९ लाख ८३ हजार ३१० जनालाई आर्थिक रूपले सक्रिय मानिएको छ । कृषिपछि थोक एवं खुद्रा व्यापार, मोटरगाडी एवं मोटरसाइकल मर्मत व्यापारका कार्यमा संलग्नको सङ्ख्या धेरै छ । त्यसपछि भने क्रमशः निर्माण, औद्योगिक उत्पादन, यातायात तथा भण्डारण, सार्वजनिक प्रशासन तथा सुरक्षासम्बन्धी क्रियाकलापलगायतका क्षेत्रमा संलग्न छन् । 

८३ लाखले गर्छन् आफ्नै काम

आर्थिक रूपले सक्रिय व्यक्तिमध्ये ८२ लाख ९२ हजार ४५ जनाले आफ्नै काम गर्ने देखिएको हो । त्यसपछि ४२ लाख ९२ हजार ५७१ जनाले अरूको काम गर्ने पाइएको छ । यसबाहेक परिवारमा सघाउनेको मात्र सङ्ख्या २१ लाख ७५ हजार ३८० रहेको छ । देशभर रोजगारदाताको सङ्ख्या भने दुई लाख १२ हजार ३७० रहेको छ ।   

आर्थिक कामको संस्थागत क्षेत्रअनुसार सबभन्दा धेरै घरायसी क्षेत्रमा संलग्न देखिन्छ । यसको सङ्ख्या ९२ लाख ६० हजार ४६२ छ । त्यसपछि गैरवित्तीय संस्थामा काम गर्नेको सङ्ख्या ४८ लाख ९६ हजार ६७३ रहेको छ । यसबाहेक सरकारी क्षेत्रमा काम गर्ने पाँच लाख ८५ हजार १६४, वित्तीय संस्थामा काम गर्ने एक लाख ६३ हजार ९४६ नाफा नकमाउने संस्थामा काम गर्नेको सङ्ख्या ६४ हजार ४०४ रहेको छ । 

काम नगर्नुको कारण

आर्थिक रूपले सक्रिय उमेर समूहमा भएर पनि काम नगर्नुको मुख्य कारण विद्यार्थी रहेको देखिन्छ । १० वर्ष वा सोभन्दा माथिको उमेरको भएर पनि आर्थिक रूपले निष्क्रिय ८९ लाख ७५ हजार ५५८ जनामध्ये ४६ दशमलव ९ प्रतिशत अर्थात् ४२ लाख छ हजार ३१६ जना विद्यार्थी छन् । त्यसपछि १९ लाख ६७ हजार ४८६ जना घरधन्दामा छन् । नौ लाख ८५ हजार ७२१ जना वृद्ध अवस्थाका कारण काम गर्न सक्ने अवस्थामा छैनन् भने छ लाख ७३ हजार २६७ जना पारिवारिक हेरचाहमा बस्नु परेको छ । यसबाहेक अशक्त, पेन्सन, सामाजिक कार्य, स्वयंसेवामा संलग्न भएकाले काम गर्न नसकेको जनाएका छन् ।