• ११ मंसिर २०८१, मङ्गलबार

क्षयरोग न्यूनीकरण गर्न कठिन

blog

नवीन शिशिर
बागलुङ, चैत्र १० गते । 
बागलुङमा हरेक वर्ष क्षयरोगका बिरामी थपिँदै गएका छन् । स्वास्थ्य कार्यालय तथा स्थानीय निकायका स्वास्थ्य शाखाले रोग नियन्त्रणको व्यापक सचेतना, खोजपड्ताल लगायतका कार्यक्रम सञ्चालन गर्दा पनि नियन्त्रण हुन नसकेको हो । पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा बागलुङमा क्षयरोगको सङ्क्रमण फैलिँदो अवस्था देखिन्छ ।

आर्थिक वर्ष ०७७/०७८ जिल्लाभर १६६ जना क्षयरोगका बिरामी थिए । यो सङ्ख्या बढेर ०७८/०७९ मा १८५ मा पुगेको थियो । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै जिल्लाभर १२९ जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो । अघिल्लो वर्ष पहिचान भएका मध्ये केही नियमित औषधि सेवनपछि निको भएका छन् ।

अघिल्लो आर्थिक वर्षमा जिल्लाभर क्षयरोगका बिरामीको सङ्ख्या १८५ थियो । तीमध्ये ५६ जना बडिगाडका थिए । साउन यता विभिन्न तहबाट गरिएको परीक्षण तथा पहिचानका क्रममा जिल्लाभर ८७ जना नयाँ सङ्क्रमित पहिचान हुँदा बडिगाडमा मात्रै ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । घिमिरेले बडिगाड गाउँपालिकामा हरेक वर्ष जनचेतना मूलक कार्यक्रम, खोजपड्ताल र नियन्त्रणका कार्यक्रम सञ्चालन गर्दा समेत सङ्क्रमण रोकथाम गर्न कठिन भएको बताउनुभयो ।

बिरामीको मृत्युदर समेत बडिगाडमा बढी छ । गत आर्थिक वर्षमा जिल्लाभर छ जना क्षयरोगका बिरामीको मृत्यु हुँदा बडिगाडका चार जना थिए । जिल्लाभरी क्षयरोगको सङ्क्रमणबाट चार प्रतिशत सङ्क्रमितको मृत्यु हुने गरेको छ । घिमिरेले क्षयरोगको मृत्युदर डर लागदो अवस्था रहेको बताउनुभयो ।

बिरामीको आधिकारिक तथ्याङ्क सङ्कलनका लागि पालिकाले सञ्चालन गरेको क्षयरोगी पहिचान कार्यक्रमअन्तर्गत आठ जना बिरामी फेला परेका थिए ।

‘‘हामीले खोजी गर्दा भेटिने बिरामीभन्दा धेरै सदरमुकामको अस्पताल र केही जिल्ला बाहिरका अस्पतालमा पहिचान भएका छन्,’’ घिमिरेले भन्नुभयो, ‘‘जिल्लाका अन्य पालिकाहरूसमेत ढुक्कले बस्ने अवस्था छैन ।’’ सरुवा रोग भएकाले क्षयरोगबाट बच्न धेरै व्यवहारमा सजग हुनुपर्ने उहाँको भनाइ छ ।

फोक्सोको क्षयरोगीले वर्षमा १०/१२ जनामा रोग सार्न सक्छन् । बडिगाडका–२, ४, ५ र ६ मा फोक्सोकै क्षयरोगी धेरै भेटिएकाले खोजपड्ताललाई सक्रिय बनाउनुपरेको स्वास्थ्य शाखाले जनाएको छ । सङ्क्रमण पुष्टि भएका बिरामीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा नियमित औषधि खुवाउन थालिएको छ ।