मीना कंडेल
कावासोती, चैत १० गते । पूर्वी नवलपरासी जिल्लामा क्षयरोगका बिरामीको संख्यामा वृद्धि नभएपनि उपचारमा भने चुनौती रहेको चिकित्सकहरु बताउनुहुन्छ । “हो हामी क्षयरोग अन्त्य गर्छाै” भन्ने मूल नाराका साथ विश्व क्षयरोगको अवसरमा पत्रकारहरुसँगको अन्तरक्रियामा गण्डकी प्रदेशका ११ जिल्लामध्ये नवलपुर जिल्लामा चुनौती रहेको बताइएको हो ।
नवलपुरमा हालसम्म पाँच सय २९ जनामा क्षय रोग देखिएको अस्पतालले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष क्षय रोगका बिरामीको संख्या नबढेको स्वास्थ्य कार्यालय नवलपुर जिल्लाका प्रमुख केशव चापागाईंले बताउनुभयो । समयमा नै रोग पत्ता लागे समयमा नै उपचार गर्न सकिने तर उपचार समयमा नभए अन्य व्यक्तिहरुलाई पनि यस रोगले आक्रमण गर्नसक्ने चापागाईंको भनाइ छ ।
जिल्लाबाट क्षय रोगका बिरामीहरुको खकार परिक्षण गर्नका लागि पोखरा पुर्याउनुपर्ने भएकाले समस्या भएको नवलपुर जिल्ला स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन निरिक्षक डिल्लीराम तिवारीले बताउनुभयो । राष्ट्रिय क्षय रोग केन्द्र र प्रदेश सरकारले क्षय रोगका लागि आवश्यक बजेट प्रदान गर्न नसक्दा आर्थिक समस्या भएको हो । जिल्लामा क्षय रोग बिरामीका लागि यग्नोसिस गर्ने काटेजको चरम अभाव रहेको छ । अहिले डायग्नोसिस गर्ने काटेजको अभावका कारण बिरामीहरुको डायग्नोसिस हुन नसकेको उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले पत्रकारहरुले सु–सुचित सुचना र समाचार जनता समक्ष सम्प्रेषण गरेर क्षयरोगलाई न्युनिकरण गर्न ठूलो भूमिका निर्वाह गर्न सकिने बताउनुभएको थियो । उहाँले क्षयरोग जटिल रहेको बताउँदै लामो समय खोकी लाग्दा, आफूलाई कमजोरी महशुस हुँदा, थकान लाग्दा नजिकैको स्वास्थ्य चौकीमा समयमा नै चेकजाँच गर्न सुझाव दिनुभयो ।
त्यस्तै, सार्वजनिक यातायातमा जस्तोसुकै बिरामीपनी चढ्ने हुँदा रोग सर्ने सम्भावना उच्च रहेको भन्दै यसतर्फ ध्यान दिनुपर्ने जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताउनुभयो । सार्वजनिक यातायातमा हुने भीडभाडले पनि धेरै रोग निम्त्याउने हुँदा यातायात सुरक्षित, विश्वासिलो, भरपर्दो, मर्यादित बनाइ सिटक्षमता अनुसार यात्रु राख्ने, सवारी सफा गर्ने विषयमा चालक र सहचालकलाई चेतना दिनुपर्नेमा जोड दिनुभयो ।