अमरराज नहर्की
तनहुँ, चैत १० गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ आम डाँडा निवासी हीरा गुरुङलाई बिहीबार प्रसुति व्यथा लागेपछि गाउँलेहरूले झोलुङ्गेमा बोकेर अस्पतालमा पुर्याए । गाउँमा मोटर बाटोको पहुँच नहुँदा एम्बुलेन्स जान नसकेकोले झोलुङ्गे (डोली)मा बाेकेर उनीहरूले अस्पतालमा पुर्याएका हुन् ।
गुरुङलाई व्यथा लागेपछि झोलुङ्गेमा हालेर दुई घण्टा पैदल हिँडेपछि पाँचकिलोमा एम्बुलेन्स बोलाएर आँबुखैरेनी अस्पताल लगिएको थियो । अझै पनि सडक नपुग्दा सो गाउँका बासिन्दा सुत्केरीको व्यथा लाग्दा वा बिरामी हुँदा झोलुङ तथा स्टेचरमा बोकेर अस्पतालमा लैजानु पर्ने बाध्यता रहेको छ ।
पालिकालाई पटक पटक सडकको लागि बजेट विनियोजन गर्न माग गरे पनि नछुट्टाएकाले मोटर बाटो पहुँच नहुँदा बिरामीलाई सिरकको खोल वा तन्नालाई बाँसमा बाँधेर बनाइएको झोलुङ्गेमा राखेर लैजानु पर्ने बाध्यता रहेको वडाध्यक्ष मिलन भुजेलले बताउनुभयो । बाँसको दुई छेउमा एकएक जनाले बोकेर गन्तव्यसम्म पुर्याउनु पर्ने बाध्यता हुँदा ढुङ्गे युगमा नै रहेको अनुभूति भएको भुजेलले बताउनुभयो । सुत्केरी भएपछि पुनः गुरुङलाई त्यसरी नै बोकेर घर पु पुर्याएको थियो । “घर फर्किने बेलामा पनि आँबुखैरेनी अस्पतालबाट पाँचकिलोसम्म एम्बुलेन्स ल्याएपछि त्यहाँबाट झोलुङ्गे पुल तरेपछि पुनः झोलुङ्गेमा बोकेर दुई घण्टा हिँडेर घरमा पुर्याएको वडाध्यक्ष भुजेलले जानकारी दिनुभयो ।
झोलुङ्गेमा बोकेर अस्पतालमा लैजानु पर्ने अवस्था हुँदा समयमा नै उपचार नपाएर कतिपयको मृत्यु हुनु परेको बारे जानकारी दिँदै धेरै पटक पालिकामा बजेट माग राख्दा पनि सुनुवाइ नभएको गुनासो वडाध्यक्ष भुजेलले गर्नुभयो । ‘‘कार्यपालिकाको बैठकमा धेरै पटक सडकको लागि बजेट छुट्टाउन माग राखेँ तर वास्ता गरेका छैनन् भुजेलले भन्नुभयो, पालिकाको अध्यक्षले भित्री बाटोको लागि बजेट दिने हैन भनेर मान्नु भएन ।’’ वडाबाट माग गरिए पनि बजेट पालिकाले नै राख्ने गरेकोले सडक बनाउन नसकिएको वडाध्यक्ष भुजेल बताउनुहुन्छ । वडा नम्बर ४ को आम डाँडा, खस्राङ, दुवा, बेल डाँडा गाउँमा अझै मोटर गुड्ने सडकको पहुँचबाट टाढै भएकोले बसाई सराई गरेर गाउँ रित्तिन थालेको वडाध्यक्ष भुजेलले बताउनुभयो ।
चट्याङ, ठाडो खोला र भिरालो ठाउँ धेरै भएकोले सडकको लागि धेरै बजेट आवश्यक पर्ने उहाँले बताउनुभयो । सो वडाबाट पृथ्वी राजमार्ग तथा बुद्धसिंह मार्ग सम्म सडक जोड्न सात करोड बजेट आवश्यक पर्ने वडासँग बजेट नहुँदा गाउँवासीहरू ढुङ्गे युग जसरी बाच्नु परेको भुजेल बताउनुहुन्छ । सडक नहुँदा सास्ती बेहोर्नु पर्ने बाध्यता रहेका वडा कार्यालय तथा स्थानीयले बारम्बार स्थानीय सरकारसँग सडक स्तरोन्नतिको माग गर्दा समेत कुनै पहल नभएको भुजेलले बताउनुभयो ।
मुख्य सडकसम्म झोलुङ्गेमा बिरामी बोकेर ल्याउनु पर्ने बाध्यता रहेको वडा सदस्य प्रेमबहादुर गुरुङ बताउनुहुन्छ । यी गाउँबाट सडकको पहुँचसम्म पुग्न एक देखि दुई घण्टा पैदल हिँड्नु परेको मोटर बाटो नहुँदा कतिपय सुत्केरी र बिरामी अकालमै ज्यान गुमाउनु परेको गुरुङ बताउनुहुन्छ ।
चितवनको भरतपुर महानगरपालिकाको पाँच किलोसम्म झोलुङेमा बोकेर बिरामी लैजानु पर्ने बाध्यता रहेको उहाँले जानकारी दिनुभयो । त्रिशूली नदीको पार गरेपछि मात्रै मुग्लिङ–नारायणगढ खण्डको पाँच किलो पुगिन्छ । त्यहाँ पुगेपछि मात्रै सवारी साधनको प्रयोग गर्न सकिने गुरुङले बताउनुभयो । दैनिक आवश्यक समान खरिद तथा बिक्रीको लागि पनि गाउँवासीलाई समस्यामा परेको गुरुङ बताउनुहुन्छ । गाउँवासीले यहाँका स्थानीय यही पुल तरेर पैदल नै गाउँ आउजाउ जाने गर्दछन् । बजारमा किनमेल गर्न जान परे पनि समस्या पर्ने गरेको र पाँच किलो झरेर मुग्लिङ, चितवन वा आँबुखैरेनी जानुपर्ने गुरुङले बताउनुभयो । मोटर बाटोको पहुँच नपुगेको ती ठाउँमा मोटर बाटो पुर्याउनका लागि आवश्यक बजेट विनियोजनका लागि गाउँ सभामा कुरा उठाएको गुरुङले बताउनुभयो । “जनतालाई निकै सास्ती भएको छ, आवाज गाउँ सभासम्म पुर्याए पनि सुनुवाइ हुन सकेको वडा सदस्य गुरुङले बताउनुभयो ।
आँबुखैरेनी गाउँपालिकाको उपाध्यक्ष दुर्गा अर्यालले ठुलो बजेट आवश्यक परेकोले सडकको लागि सङ्घ तथा प्रदेश सरकारसँग माग राखिएको बताउनुभयो । ‘‘स्वास्थ्यलाई पालिकाले प्राथमिकतामा राखेका छौँ, उपचारको लागि सहज होस् भनेर आँबुखैरेनीमा यसै वर्ष देखि अस्पताल सञ्चालनमा ल्याएका छौँ यसले गर्दा उपचारको लागि सहज भएको छ’’ उपाध्यक्ष गुरुङले भन्नुभयो, त्यहाँको बाटोको समस्या समाधान गर्न गम्भिर छौँ ।’’