• १५ चैत २०८०, बिहिबार

फुङ्लिङ नगरपालिकाद्वारा अधिकांश योजनामा संशोधन

blog

फुङ्लिङ नगरपालिकाको प्रशासकीय भवन । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले दर्जनौँ योजना तथा कार्यक्रम संशोधन गरेको छ । चालू आर्थिक वर्ष सकिन अन्तिम चौमासिक अर्थात् चार महिना बाँकी रहेका बेला नगरपालिकाले पाँच दर्जन बढी योजना तथा कार्यक्रम संशोधन गरेको छ । 

चालू आव २०७९–८० का लागि यसअघि नगरसभाले स्वीकृत गरेको विभिन्न ६४ वटा बजेतसहित योजनाहरू संशोधन गरेको फुङ्लिङ नगरपालिकाले जनाएको छ । नगरपालिकाले सोमबार १३ औँ नगरसभा सम्पन्न गर्दै विभिन्न कारणले हालसम्म कार्यान्वयन हुन नसकेका योजनाहरू संशोधन गरेको जनाएको हो । 

कार्यान्वयन तथा सञ्चालन हुन नसक्ने अवस्थाका बजेट तथा योजनाहरू सम्बन्धित वडाको सिफारिसका आधारमा संशोधन गरिएको नगर प्रमुख अमिर मादेनले बताउनुभयो । यता परिवर्तन तथा संशोधन भएका योजनाहरू अपेक्षाअनुसार सञ्चालन वा कार्यान्वयन भएमा नगरको विकासमा थप मद्दत पुग्नेमा नगरपालिका ढुक्क रहेको प्रमुख मादेनले बताउनुभयो । योजना सञ्चालनका लागि सबै जनप्रतिनिधि, उपभोक्ता, कर्मचारीलगायत सरोकारवाला पक्षलाई आग्रह पनि उहाँले गर्नुभयो । 

चालू आर्थिक वर्षभित्रै कार्यान्वयन गर्नेगरी करिब चार करोड रकम थप भई नगरपालिकाको बजेट ७२ करोड ७६ लाख ६५ हजार १०० रुपियाँ पुगेको छ । यसअघि नगरसाभाले पारित गरेको चालू आवको ६८ करोड ८३ लाख सात हजार ११० रुपियाँ रहेको थियो । उक्त स्वीकृत बजेटमध्ये सशर्त अनुदानतर्फ एक करोड ४० लाख कटौती भए पनि चार करोड २६ लाख ५७ हजार ७०० रुपियाँ थप भएको नगर उपप्रमुख भीमादेवी ओझाले जानकारी दिनुभयो ।

यता चालू आवका लागि स्वीकृत ३९० वटा विकास योजनामध्ये हालसम्म १८५ योजना उपभोक्ता समितिसँग (ठेक्कासहित) सम्झौता भई सञ्चालन तथा कार्यान्वयनमा रहेको नगरपालिकाले जनाएको छ । फागुन मसान्तसम्ममा ७४ वटा योजनाहरू सम्पन्न भई फरफारक भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले जानकारी दिनुभयो ।