• २२ वैशाख २०८१, शनिबार

गुट्खाजन्य पदार्थ बिक्री गरेमा ५० हजारसम्म जरिवाना

blog

सरसफाइ अभियानको १०० औँ शृङ्खला पुगेको अवसरमा आयोजित मूल समारोह । फाइल तस्बिर

कपिल ज्ञवाली

सिद्धार्थनगर, चैत ९ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर सरसफाइ र हरियाली बनाउन विभिन्न महत्त्वपूर्ण निर्णय लागु गरेलगत्तै नियम नमान्नेलाई जरिवाना तोकेको छ । नगरभित्र गुट्खाजन्य पदार्थ बिक्री गरेमा ५० हजारसम्म जरिवाना तोकिएको छ । 

समुदायमा आधारित सरसफाइ अभियानको १०० औँ शृङ्खला पुगेको अवसरमा चैत १ गते सो नगरलाई गुट्खाजन्य मुक्तक्षेत्र घोषणा गरिएको थियो । सोही घोषणा कार्यान्वयनका लागि नगरपालिकाले विज्ञप्ति जारी गर्दै १५ दिनभित्र त्यस्ता पदार्थहरू राखेका पसल तथा डिलरबाट हटाउन आग्रह गरेको हो । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद अर्यालद्वारा जारी सूचनामा भनिएको छ, ‘मिति चैत ७ गतेदेखि १५ दिनपछि नगरमा कुनै पसल वा डिलरले गुट्खाजन्य पदार्थ विक्री गरेको भेटिएमा जरिवाना गरिनेछ ।’

नियम उल्लङ्घन गरेको भेटिएमा डिलर व्यवसायीलाई पहिलो पटक १० हजार, दोस्रो पटक २० हजार तथा तेस्रो पटक भेटिएमा ५० हजार रुपियाँ जरिवाना गरिने सूचनामा उल्लेख छ । यसैगरी खुद्रा पसल तथा अन्य व्यवसायीका हकमा पहिलो, दोस्रो र तेस्रो पटक क्रमशः १ हजार पाँच सय, ३ हजार र ५ हजार जरिवाना गरिने भनिएको छ ।

तोकिएको जरिवाना कडाइका साथ लागु गरिने नगरप्रमुख रामकृष्ण खाणले बताउनुभयो । चैत १ बाट वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रारम्भ, नगरमा हर्न निषेध, पशु दर्ता प्रणाली सञ्चालन, फोहरमैलाको वर्गीकरण र गुट्खाजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ ।