• १४ वैशाख २०८१, शुक्रबार

जनता तर्साउने छुट छैनः महामन्त्री थापा

blog

महामन्त्री गगन थापा । फाइल फाेटाे

गाेरखापत्र अनलाइन

काठमाडाैँ, चैत ९ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताउनुभएको छ । 

बिहीबार सामुदायिक रेडियो प्रसारक सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने बताउनुभयो ।

 प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना हुनु जनतामा नैराश्य रहेको उहाँले दाबी गर्नुभयाे । महामन्त्री थापाले प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नरहेको बताउनुभयो । उहाँले आफूले अहिलेसम्म जनतामा यस्तो किसिमको नैराश्य नदेखेको भन्दै सरकारलाई काम नगर्ने छुट नरहेको बताउनुभयो । 

 ‘म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक पटक भनेको छु, नागरिकलाई नतर्साउनुस् । तर प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला भएको छ । एक्लै बिहान बेलुका बस्दै गर्दा डराउनुपर्ने बेला भएको छ । दिनमा कम्तिमा आधा घण्टा समय निकाल्नुहोस्, भेटघाट बन्द गर्नुहोस् र एक पटक सोच्नुहोस् । मसँग भएको एक / एक क्षणको समयको कसरी प्रयोग गर्ने ? कुर्सीमा बसेको प्रधानमन्त्री डराउनुपर्ने बेला भएको छ,  उहाँले जाेड दिएर भन्नुभयो, प्रधानमन्त्री डराउनुपर्छ । प्रधानमन्त्री डरायो भने बल्ल नागरिक डरबाट मुक्त हुने अवस्था हुन्छ । प्रधानमन्त्रीले दायाँ हेरे पनि भोट, बायाँ हेरे पनि भोट । मसँग १७२ छ, म ढुक्क छु भन्दै गयो भने टाउको टाउको मात्रै बाँकी रहन्छ, हामीलाई सुन्ने मान्छे बाँकी नरहन सक्छ । मैले यत्ति धेरै तन्नेरीहरु आत्तिएको कहिल्यै देखेको थिइनँ । यति धेरै मानिस निराश भएको देखेको थिएन ।’ 

महामन्त्री थापाले सामुदायिक रेडियोको उन्नयनका लागि आफूले सबै किसिमले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । भ्रामक समाचारको प्रवाह रोक्न र समुदायलाई गलत सूचनाबाट जोगाउन सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण हुने उहाँले स्पष्ट पार्नुभयो ।