• १० पुस २०८१, बुधबार

वन्यजन्तुलाई थापेको पासोमा परेर मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, चैत ९ गते । जङ्गली जनावरलाई थापिएको करेन्टमा परी सर्लाहीको बलरा नगरपालिकामा एक जनाको मृत्यु भएको छ । 

भारतीय सीमावर्ती क्षेत्रस्थित बलरा नगरपालिका–५, कोइरी टोलका ५० वर्षीय रामअक्षय महतो कोइरीको करेन्ट लागेर मृत्यु भएको हो । रामअक्षयलाई राति पिसाब फेर्न जाँदा छिमेकीको मकै बारी घेरेर थापिएको विद्युतीय करेन्टमा परेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ । 

सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार मृतक रामअक्षयको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोस्टमार्टमपछि परिवारले बुझेर लगेका छन् । 

जङ्गली जनावरले बालीनाली खाएर नष्ट गर्न थालेपछि सर्लाहीका किसानले यसरी खेतबारीमा विद्युतीय करेन्ट राख्ने गरेका छन् । त्यसमा परी वर्षेनि जसो मानिसको करेन्ट लागेर मृत्यु हुने गरेको छ । 

जङ्गल मासिँदै जाँदा जङ्गली जनावर किसानको उखु, मकैलगायतका खेतमा पस्ने गरेका छन् । अहिले डढेलो लागेर वन क्षेत्र उदाङ्गो भएकाले पनि बँदेल, हरिण, बाँदरजस्ता वन्यजन्तु बाक्लो मात्रामा खेतबारीमा आउन थालेका किसानले बताएका छन् ।