धीरेन्द्रप्रसाद साह
जनकपुरधाम, चैत ९ गते । अन्तर्राष्ट्रिय लायन्स क्लबअन्तर्गत ‘डिस्ट्रिक्ट ३२५’ एफको महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही चैत १० र ११ गते आयोजना हुने महाअधिवेशनको तयारी अन्तिम चरणमा पुगेको तयारी समितिका संयोजक मनिषरमण साहले जानकारी दिनुभयो ।
पाँच सयभन्दा बढी प्रतिनिधि सदस्य सहभागी रहने महाअधिवेशनको पहिलो दिन उद्घाटन र दोस्रो दिन बन्दसत्र गरिने महाधिवेशन समितिका संयोजक डिस्ट्रिक्टका पूर्वगभर्नर मधुकरप्रसाद उपाध्यायले बताउनुभयो । महाअधिवेशनको बन्दसत्रले यस डिस्ट्रिक्टका लागि तीन सदस्यीय नयाँ कार्यसमितिलाई निर्वाचन प्रक्रियाबाट समर्थन मतदान गरेर निर्वाचित गरिने प्रावधान रहेको लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एफको प्रमुख सल्लाहकार मनोजकुमार सापकोटाले जानकारी दिनुभयो । उहाँको अनुसार डिस्ट्रिक्ट गभर्नरमा उदयपुर जिल्लाको शिवकुमार कटुवाल, पहिलो डिस्ट्रिक्ट गभर्नरमा सप्तरीका शङ्करकुमार शारदा र दोस्रो डिस्ट्रिक्ट गभर्नरमा काठमाडौँका केशवबहादुर भण्डारी निर्वाचित भइसक्नुभएको छ । यस महाअधिवेशनबाट उहाँहरूलाई अनिवार्य समर्थन मत लिनुपर्छ, उहाँले भन्नुभयो, “समर्थन मतका लागि मतदान गर्न निर्वाचन अनिवार्य हुन्छ ।’
अन्तर्राष्ट्रिय लायन्स क्लबले नेपाललाई १५ वटा डिस्ट्रिक्टमा विभाजन गरी डिस्ट्रिक्ट गभर्नरलाई नेतृत्व प्रदान गरी सामाजिक सेवाका काम गर्दै आएको छ । लायन्स डिस्ट्रिक्ट ३२५ एफमा तीन हजार सदस्यसहित देशभरि ५० हजारभन्दा बढी सदस्य लायन्स क्लबमा आबद्ध रहेको बताइएको छ ।