चितवन समाचारदाता
चितवन, चैत ९ गते । चितवनको पुरानो मेघौली विमानस्थलको संरक्षणसँगै स्तरोन्नति गरिने भएको छ। भरतपुरबाट २५ किलोमिटर पश्चिम चितवन राष्ट्रिय निकुञ्ज नजिक रहेको विमानस्थलको धावनमार्गमा ग्राभेल गरिने भएको हो। तारबार पुरानो भएर धावन मार्ग अतिक्रमण हुन लागेपछि स्तरोन्नतिसहित संरक्षण गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर नलविक्रम थापाले जानकारी दिनुभयो।
“चितवनको मेघौलीसहित भोजपुर र सिमरा विमानस्थलको धावनमार्ग स्तरोन्नति, तारबारलगायत कार्यका लागि बोलपत्र आह्वान गरेका छाैँ,” थापाले भन्नुभयो। तीनवटा विमानस्थल स्तरोन्नतिका लागि १४ करोड सात लाख पाँच हजार ४९१ रुपियाँ ९६ पैसा बजेट छुट्याइएको छ।
छ महिनाभित्र काम सम्पन्न गर्ने गरी टेन्डर आह्वान गरिएको छ। यसले विमानस्थल सुधार हुने इन्जिनियर थापाले बताउनुभयो। भरतपुर महानगरपालिकाका प्रमेख रेनु दाहालले भरतपुरको वैकल्पिक विमानस्थल मेघौली बनाउन सकिने बताउनुभयो। “भरतपुर विमानस्थलको धावन मार्ग लम्ब्याउने प्रक्रिया अगाडि बढेको छ। मेघौली विमानस्थल पनि सुधार गरेर वैकल्पिक विमानस्थल बनाइनेछ,” उहाँले भन्नुभयो, “यो अहिले सञ्चालनमा छैन। सञ्चालनका लागि सुधार आवश्यक छ।” जिल्लाका दुई विमानस्थल सञ्चालन गर्न सकिने उहाँको धारणा थियो।
वि.सं २०१७ मा स्थापना भएको मेघौली विमानस्थलबाट निकुञ्जभित्र रहेको टाइगर टप जङ्गल लजमा आउने पाहुना ल्याउन उडान भरिँदै आएको थियो। सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि वि.सं. २०६७ मङ्सिरदेखि विमानस्थल बन्द भएको हो। त्यसयता विमानस्थलबाट नेपाली सेनाको विमान फाट्टफुट्ट उडान हुने गर्छ। करिब १३ वर्षपछि विमानस्थल स्तरोन्नति गर्ने तयारीपछि गौचरनमा परिणत हुने सम्भावना टरेको छ।
तत्कालीन राजारानी महेन्द्रवीरविक्रम शाह, रत्नराज्यलक्ष्मी शाहलगायत विदेशी विशिष्ट व्यक्तिको आवागमन यहाँ भएको थियो। यसले विमानस्थल र मेघौलीको कायापलट हुने अनुमान धेरैले गरेका थिए तर त्यो तामझाम धेरै समय टिक्न सकेन। त्यसपछि यहाँको पर्यटन सुस्ताउँदै आयो।
विमानस्थल गौचरनमा परिणत हुनै लाग्दा स्तरोन्नति गरिने भएपछि खुसियाली छाएको चितवन पर्यटन विकास समितिका पूर्वमहासचिव विश्व सुवेदीले बताउनुभयो।
विमानस्थल सञ्चालनपछि पर्यटक आगमन वृद्धि हुने आशा पलाएको उहाँले बताउनुभयो। मेघौली क्षेत्रमा अन्य ठूला लगानीमा होटल सञ्चालनमा आए पनि टाइगर टप्स सञ्चालनमा भएको जस्तो पर्यटकीय चहलपहल नभएको सुवेदीले बताउनुभयो।
मेघौली विमानस्थल सञ्चालनमा नआउँदा पर्यटक तथा स्थानीय काठमाडौँ जान भरतपुर विमानस्थल नै जानुपर्ने बाध्यता छ। मेघौली विमानस्थल निकुञ्जको नजिक भएकाले पर्यटक सिधै मेघौली आएर बस्न सक्छन्।