• ७ वैशाख २०८१, शुक्रबार

कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

blog

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकका सहभागीहरु ।

राममणि दाहाल

हेटौँडा, चैत ८ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट आउने शुक्रबार विश्वासको मत लिने हुनुभएको छ । नेपाली कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

बागमती प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गत फागुन १३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लाग्नुभएको हो । 

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता एवं मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपूर्व सत्ता भागबण्डालगायतका विषयमा प्रदेशमा नयाँ बनेको गठबन्धनका दलहरूसँग छलफल नगरेको आरोप छ । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत शुक्रबार लिनेगरी बुधबार प्रदेशसभा सचिवालयले पत्र पठाएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले मुख्यमन्त्री कार्यालयबाट पत्र आएको जानकारी दिनुभयो । 

प्रवक्ता गुप्ताका अनुसार शुक्रबार दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको छ । यसैबीच काठमाडौँमा बुधबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले  मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक कुन्दनराज काफ्लेले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय भएको बताउनुभयो । राप्रपालगायतका दलहरूले विश्वासको मत दिने वा नदिने बारेमा निर्णयमा पुगेका छैनन् । 

नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले एमालेले विश्वासको मत लिने दिन प्रदेश सभा बैठकमा आफ्नो धारणा राखेर मात्र थप निर्णय गर्ने जानकारी दिनुभयो । एमाले बागमती प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले शुक्रबार र शनिबार प्रदेश सभा बैठकमा आफूहरू उपस्थित हुन नसक्ने भन्दै चैत १२ गते बैठक राख्न लिखित रूपमा जानकारी गराउने निर्णय गरेको एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले जानकारी दिनुभयो ।