• १५ वैशाख २०८१, शनिबार

पहिला सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउनु पर्छ : नेता महर

blog

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महर

काठमाडौं, चैत ८ गते । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनुभन्दा पहिले नेपाली कांग्रेसले पार्टी भित्र छलफल गरेर न्यूनतम साझा कार्यक्रमको आधार तयार पारेर सत्ता गठबन्धनमा सहभागी हुनुपर्ने बताउनु भएको छ । गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै महरले सरकारमा पार्टीको उपस्थिति नयाँ र सशक्त ढङ्गबाट हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, ‘‘सरकारमा सहभागी हुनुमात्रै ठूलो कुरा होइन, सहभागी हुनुभन्दा पहिले गठबन्धनका पार्टीबीच छलफल गरेर न्यूनतम साझा कार्यक्रम बनाउनु पर्छ र त्यसपछि मात्र सरकारमा सहभागिता हुँदा राम्रो हुन्छ । देशको आर्थिक अवस्था सङ्कटमै रहेको, जनता मलदेखि ढलसम्मको समस्या भोग्न बाध्य छन्।’’ 

हामीप्रति जनताको ठूलो आशा छ, त्यसैले जनतालाई लोकतन्त्रप्रति विश्वास दिलाउन मुलुककै ठूलो लोकतान्त्रिक पार्टी कांग्रेस जिम्मेवार बन्नुपर्छ, रणनीतिका साथ योजनाबद्ध रूपमा काम गर्नुपर्छ, नेता महरको भनाइ छ ।

उहाँले गठबन्धनलाई जनताले संविधानको रक्षा, स्थिरता र समृद्धिको अपेक्षासहित मतदान गरेको चर्चा गर्दै चुनावअघि पाँच दलीय गठबन्धन भए पनि अहिले १० दलीय गठबन्धन भएकाले सबैको भावनाको सम्मान हुने गरी गठबन्धन अघि बढ्नुपर्छ भन्नुभयो । 

विस्तृत शान्ति सम्झौताका लागि गिरिजाप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै नेता महरले मुलुकमा लोकतन्त्रको रक्षा, संविधानको सफल कार्यान्वयन र समृद्धिको बाटोमा मुलुक अग्रसर भए मात्रै कोइरालाको सपना साकार हुने भनाइ राख्नुभयो ।