• १३ वैशाख २०८१, बिहिबार

खेलकुदमा देशकै नमुना संरचना निर्माण गर्छु: मुख्यमन्त्री यादव

blog

मुख्यमन्त्री सरोजकुमार यादवद्वारा श्री रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको स्थलगत निरीक्षण । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, चैत ८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले खेलकुदका लागि देशकै नमुना भौतिक संरचना मधेशमा निर्माण गर्ने बताउनुभएको छ । बुधबार जनकपुरधामको वडा –१४ स्थित निर्माणाधीन अवस्थामा रहेको श्री रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालाको स्थलगत निरीक्षणको क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

चार वर्षमा खेलकुदमा देशकै नमुना भौतिक संरचना मधेशमा निर्माण गर्ने उहाँको भनाइ छ । खेलाडी र खेलका लागि पहिलो प्राथमिकतामा रहेको भौतिक संरचना रहेको भन्नुहुँदै खेलका लागि भौतिक संरचना निर्माणमा जोड दिने बताउनुभयो । 

मुख्यमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम विकासको लागि एक सय करोड रुपियाँ दिने घोषणा गर्नुभएको स्मरण गर्नुहुँदै सो रकम यस रङ्गशाला निर्माणमा लगाउने उहाँको भनाइ छ । उहाँले रङ्गशाला निर्माणका क्रममा आवश्यक आर्थिक सहयोग प्रदेश सरकारले उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनुभयो । 

११ औँ राष्ट्रिय खेलकुद मधेश प्रदेशमै आयोजना गर्नुपर्ने मागसहित जनकपुरधामका प्रमुखसहित राष्ट्रिय खेलकुद परिषदमा प्रस्ताव पेस गरेको जानकारी उहाँले दिनुभयो । आगामी दिनमा जनकपुरधामलाई सम्पूर्ण खेल खेल्ने मैदानको रूपमा स्थापित गरी खेलकुद  हब बनाउने योजना रहेको उहाँको भनाइ छ । मुख्यमन्त्री यादवले खेलका लागि तालिम प्राप्त प्रशिक्षकको व्यवस्था समेत गरिने बताउनुभयो । 

उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले भन्नुभयो, “मधेशको खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा राष्ट्रिय खेलकुद परिषद्का आठ वटै जिल्लाका प्रमुख र आठ वटै जिल्लाका प्रमुख सहरहरूको पालिकाका प्रतिनिधि सदस्य रहनेगरी एक कार्यदल बनाइएको छ । सो कार्यदलले मधेशमा रहेको खेलकुदका सबै संरचनाको खोज र अनुसन्धान गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी तोकिएको बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषद्ले २०७४ देखि १७ कठ्ठा क्षेत्रफल फैलिएको उक्त रङ्गशालाको भाडा गुठी संस्थालाई बर्सेनि नौ लाख रुपियाँ तिर्नेगरेको वडा १४ का वडा अध्यक्ष पुन्यप्रताप यादवले जानकारी दिनुभयो । स्थलगत निरीक्षणका क्रममा रङ्गशाला पर्ने क्षेत्रका सांसदहरू दीपेन्द्र ठाकुर र शेषनारायण यादव, रङ्गशाला निर्माणका अभियानमा सक्रिय दिनेश पूर्वे, गुडडु पाण्डे, सरोज मिश्र, आकाश पाण्डे, क्रिकेट प्रशिक्षक नवीन सिंहसहितको सहभागिता थियो ।