• १२ साउन २०८१, शनिबार

ललितपुरमा एकल घोडेजात्रा

blog

ललितपुर, चैत ८ गते ।  घोडेजात्रा पर्व मनाइने क्रममा काठमाडौँको टुँडिखेलमा दर्जनौँ घोडा दौडिरहेका बेला ललितपुरमा भने एउटा मात्र घोडा दौडिरहेको थियो । टुँडिखेलमा जस्तो उच्च पदस्थ अधिकारी र युद्ध कलामा खारिएका नेपाली सेना ललितपुरमा थिएनन् न त दर्शकको उल्लेख्य भीड नै थियो । जति चासो र चर्चा टुँडिखेलमा हरेक वर्ष मनाइने घोडेजात्राको हुन्छ, त्यति नै चर्चा मल्लकालदेखि चल्दै आएको ललितपुरको घोडेजात्राको हुँदैन । ललितपुरवासीले आफ्नो परम्परालाई जोगाउँदै ललितपुरमा हरेक वर्ष एकल घोडेजात्रा पर्व मनाउँदै आएका छन् ।

पाटन ओल्खुटोलका अष्टमान महर्जन मङ्गलबजारको मूलचोकबाट निस्किनुभयो । मूलचोकबाट सुरु भई ओल्खु, नेउत, लोहलँ, भोल गणेश हुँदै बालकुमारी पुग्नुभयो । बालकुमारीमा रहेको सिवाचा मन्दिरलाई एक पटक परिक्रमा गरेर उहाँ पुनः भोलढोकातिर फर्किनुभयो । बालकुमारी–भोलढोका तीन पटक परिक्रमा गरेपछि घोडामा सवार गुठियारलाई सगुन दिएर यो वर्षको घोडेजात्रा सम्पन्न भएको छ । 

बालकुमारी ज्यापूटोलको भीमसेन गुठीले यो जात्रा सञ्चालन गर्दै आएको छ । यो जात्रालाई स्थानीयले मल्लकालदेखि चल्दै आएको भने पनि यसमा महाभारतकालीन पात्रको प्रयोग गरेर यो जात्रा मनाउने गरिन्छ । ज्यापू समाजका सदस्य बुद्धरत्न डङ्गोल स्थानीयले काठमाडौँको टुँडिखेलकोभन्दा यो पुरानो जात्रा मान्ने गरेको सुनाउनुभयो । नेवारी भाषामा च्य खलः अर्थात् नोकरहरूको खलकले सुरु गरेको यो जात्रा मूलचोकबाट बालकुमारीसम्म पु-याउने चलन छ । यो परम्परा कहिलेदेखि सुरु भयो भन्ने यकिन तथ्य नभए पनि मल्लकालदेखि नै चल्दै आएको कात्तिक नाच समितिका सदस्य तथा पुजारी सञ्जय राजोपाध्ययले जानकारी दिनुभयो । उहाँले आजभन्दा झन्डै चार सय वर्षअघि तत्कालीन राजा शिवसिंह देवको पालामा यो जात्रा सुरु भएको बताउनुभयो । भीमसेन गुठीका एक गुठियार घोडा चढेर पाटनको भित्री सहर परिक्रमा गर्छन् । घोडा र घोडचढीलाई भीमेसन मन्दिरमा बलि दिएर पूजाआजा गरेपछि जात्रा सुरु हुन्छ । जात्राका लागि चाहिने घोडा नेपाली सेनाले उपलब्ध गराउँछ । उक्त घोडालाई ‘काँमा घोडा’ भनिन्छ । काँमाको अर्थ ‘कानो’ हो ।

“हाम्रा पूर्वजले जात्राका लागि एक पटक खोजेर ल्याएको घोडा एउटा आँखा नदेख्ने परेछ, त्यति बेलादेखि ललितपुरको घोडेजात्रालाई कानो घोडाको जात्रा भन्न थालियो,” भीमसेन गुठीका व्यवस्थापन समितिका सदस्य चन्द्र महर्जनले भन्नुभयो, “वास्तवमा हामी दुईवटै आँखा देख्ने घोडा दौडाउँछौँ, जुन नेपाली सेनाले उपलब्ध गराइदिन्छ ।” परम्पराअनुसार जात्रा सुरु हुने केही समयअघि मल्ल राजाको प्रतिनिधित्व गर्दै तत्कालीन मल्ल राजाको वेशभूषामा तरबार लिएर एक जना मानिसलाई अघिअघि लगिने प्रचलन रहेको छ ।