घोराही समाचारदाता
घोराही, वैशाख ३० गते । दाङको राप्ती गाउँपालिकामा फोहोरबाट टायल उत्पादन गर्न सुरु गरिएको छ । राप्ती गाउँपालिका–२, पुण्यपुरमा प्लास्टिकजन्य फोहोरबाट टायल, इन्टरलक इँटालगायतका सामग्री उत्पादन सुरु गरिएको हो ।
प्लास्टिकजन्य फोहोरलाई मोहर बनाउने गाउँपालिकाको अभियान अन्तर्गत इको फ्यामिली प्रालि हेटौँडासँगको सहकार्यमा फोहोरबाट टायल, इन्टरलक इँटालगायतका सामग्री उत्पादन गर्न थालिएको छ । फोहोरलाई व्यवस्थापन गरेर गल्ने फोहोरबाट टायल, इन्टरलक इँटालगायतका सामाग्री उत्पादन गर्न थालिएको इको फ्यामिली प्रालिका सुपरभाइजर लालबहादुर चौधरीले बताउनुहुन्छ ।
चौधरीका अनुसार फोहोरका रूपमा फालिने चाउचाउ, बिस्कुट, भोला, गुट्खालगायतका प्लास्टिकबाट टायल, इन्टरलक इँटा, टाँक उत्पादन गर्ने योजना भए पनि पहिलो चरणमा टायल उत्पादन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “परीक्षणका रूपमा उत्पादन गरिसकेका छौँ । उत्पादन राम्रो निस्किएको छ तर प्लास्टिकलाई पगालेर गोलो बनाउने मेसिन अझै आइनपुग्दा नियमित उत्पादन गर्न सकेका छैनौँ । चाँडै काम गर्नका लागि एग्लो मेसिन आउँँदै छ । उक्त मेसिन आइपुग्यो भने नियमित उत्पादन हुन्छ ।”
उहाँले उत्पादन भएको टायल प्रतिपिस ३५ रुपियाँका दरले बिक्री हुने र गाउँपालिकाभित्रका नागरिकलाई २० प्रतिशत छुटमा दिने व्यवस्था गरिएको बताउनुभयो । चौधरीले फोहोरबाट टायल उत्पादन गर्न थालेपछि खरिदका लागि मानिस आउने गरे पनि नियमित नहुँदा आफूहरूले अर्डर लिन नसकेको बताउनुभयो । उहाँका अनुसार टायल पूर्ण वातावरणमैत्री, घामपानीले बर्सौंसम्म केही गर्न नसक्ने र तीन हजार तीन सय टन भारवहन क्षमता भएका घरदेखि सरकारी कार्यालय एवं पार्कमा प्रयोग गर्न सकिने छ ।
राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा फोहोरलाई मोहरमा बदल्ने उद्देश्य अनुसार इको फ्यामिली प्रालिसँग सम्झौता गरेर टायल, इन्टरलकलगायतका सामग्री उत्पादन गर्न थालिएको बताउनुभयो । उहाँले गाउँपालिकाले फोहोर सङ्कलन गरेर सरसफाइ व्यवस्थापन तथा स्रोत केन्द्रसम्म पु¥याइदिने र बाँकी फोहोर वर्गीकरणदेखि प्लास्टिक सामग्री र जैविक मल उत्पादनको काम इको फ्यामिली प्रालिले गर्ने बताउनुभयो ।
गल्ने फोहोर प्लास्टिकबाट टायल, इन्टरलक इँटा, टाँकलगायतका सामग्रीसहित जैविक वस्तुबाट मल उत्पादन गर्ने गरी २०७९ भदौमा सम्झौता भएको थियो । स्वच्छ र हरित पालिका निर्माण गर्ने अभियान अन्तर्गत फोहोरबाट सामग्री उत्पादन थालेको बताउँदै उपाध्यक्ष चौधरीले भन्नुभयो, “प्लास्टिकबाट टायल, इन्टरलक इँटालगायतका सामग्री उत्पादन गर्न सुरु भएको छ । यसले फोहोर व्यवस्थापनमा सहयोग गरेको छ ।” गाउँपालिकाले सरसफाइ व्यवस्थापन तथा स्रोतकेन्द्र स्थापनासँगै फोहोरबाट टायल, इन्टरलक इँटालगायतका सामाग्री उत्पादनका लागि उत्पादन दुई करोड २० लाख रुपियाँभन्दा बढी लगानी गरिसकेको छ ।
उक्त रकमबाट जग्गालाई तारबार गर्नेदेखि प्लास्टिक टायल, इन्टरलक इँटालगायतका सामग्री उत्पादन गर्ने दुई वटा घर निर्माण गरिएको छ । उपाध्यक्ष चौधरीले कम्पनीले टायल, इन्टरलक इँटा, टाँक र मल बनाउन प्रयोग नहुने फोहोरलाई कबाडमा बिक्री गर्ने र त्यसबाट गाउँपालिकाले निकासी कर लिने गरी सहमति भएको बताउनुभयो । खानेपानी तथा सरसफाइ शाखा प्रमुख गीता चौधरीले नौ वटा वडा रहेको राप्ती गाउँपालिकाबाट दैनिक आठ ट्याक्टर फोहोर सङ्कलन हुने गरेको बताउनुभयो ।