• २९ असार २०८२, आइतबार

‘खेलाडी देशका सम्पत्ति’

blog

पोखरा समाचारदाता

पोखरा, चैत ८ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले खेलाडी देशको सम्पत्ति भएको बताउनुभएको छ। प्रदेश खेलकुद परिषद् गण्डकीद्वारा टाइगर कप भलिबल प्रतियोगितामा विजयी खेलाडीको सम्मानमा आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो।

प्रदेश खेलकुदका संरक्षकसमेत रहनुभएका मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “हामी यहाँहरूको प्रदर्शनका लागि खुसी व्यक्त गर्दछौँ। तपाईंहरूले सम्मान बढाउनुभएको छ। तपाईंहरूलाई बधाई छ।” मुख्यमन्त्री अधिकारीले खेलाडीहरू मुलुकका सम्पत्तिसँगै राष्ट्रिय दूत पनि भएको बताउँदै खेलाडीलाई साग, एसियन र ओलम्पिकसम्म पुग्न शुभकामना पनि दिनुभयो। खेलाडीहरू अन्तर्राष्ट्रिय मञ्चमा पुगेपछि नै राष्ट्रिय झन्डा फहराउने उल्लेख गर्दै उहाँले खेलाडीको हातमा हुने झन्डाले राष्ट्रको गौरव बढाउने बताउनुभयो। 

सङ्घीय संसद्मा हुँदा खेलाडीहरूलाई पारिश्रमिक दिनुपर्छ भनेर प्रस्ताव गर्ने आफू रहेको बताउँदै मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेश सरकार सदैव खेलाडीको साथमा रहेको उल्लेख गर्नुभयो। खेलाडीको वृत्ति विकासका लागि प्रदेश सरकारले गम्भीर भएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले खेलाडीको हितका लागि मन्त्रालय सधैँ अघि रहेर कार्य गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “हामी यहाँहरूको वृत्ति विकासका लागि गम्भीर छौँ। यहाँहरूमा अन्तर्निहित क्षमतालाई त्यसै ह्रास हुन दिने छैनौँ।”  उहाँले खेलाडीलाई स्वरोजगार बनाउन मन्त्रालयले कार्य गर्ने बताउँदै टाइगर कपमा विजयी टिमलाई बधाई दिनुभयो।

प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले टाइगर कप भलिबल प्रतियोगितामा प्राप्त सफलताले सिङ्गो प्रदेश खेलकुद गौरवान्वित भएको बताउँदै खेलाडीको अन्तर्निहित क्षमतालाई यथावत् राख्न प्रदेश खेलकुद सदैव सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो  । 

कार्यक्रममा प्रदेश खेलकुदका सदस्यसचिव घनश्याम पौडेल, टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा, गण्डकी प्रदेश भलिबल सङ्घका अध्यक्ष नवीन गुरुङलगायतले खेलाडीलाई सम्मान मात्रै नभई परिचालन गर्न आवश्यक वृत्ति विकासका लागि प्रदेश सरकार गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो।

गत माघ ८ देखि १४ गतेसम्म सञ्चालन भएको तेस्रो टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ गण्डकीले प्रथम स्थान प्राप्त गरेको थियो।