• १३ वैशाख २०८१, बिहिबार

गोरखापत्रकर्मी दर्नालको ‘दलितको राजनीतिक प्रतिनिधित्व’ पुस्तक सार्वजनिक

blog

गोरखापत्रकर्मी लक्ष्मण दर्नालद्वारा लिखित ‘दलित समुदायको राजनीतिक प्रतिनिधित्व २००७–२०७९’ पुस्तक सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

काठमाडौँ, चैत ७ गते। गोरखापत्रकर्मी लक्ष्मण दर्नालद्वारा लिखित ‘दलित समुदायको राजनीतिक प्रतिनिधित्व २००७/२०७९’ पुस्तक सार्वजनिक भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५८ औँ अन्तर्राष्ट्रिय रङ्ग  तथा जातीय विभेद उन्मुलन दिवसको अवसरमा बुधबार सो पुस्तक विमोचन गर्नुभएको हो। 

पुस्तकमा दलित समुदायबाट हालसम्म भएका मन्त्री, सांसद, राजदूत, प्रदेश प्रमुख, प्रदेश मन्त्री तथा सांसदको तथ्याङ्क (नामावली) समावेश गरिएको छ। जिल्ला समन्वय समितिमा दलित र प्रज्ञा प्रतिष्ठानमा दलितको सहभागिताको तथ्याङ्कसमेत पुस्तकमा समेटिएको छ। 

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा दलित समुदायबाट प्रतिनिधित्व गर्नुहुने जनप्रतिनिधिको नामावली समावेश छ। पुस्तकमा दलित आन्दोलनको सफलतालाई तथ्याङ्कको रूपमा दस्तावेजीकरण गरिएको छ। 

पुस्तकमा २००७ सालको परिवर्तनपछि हालसम्मका ३४ जना दलित मन्त्री भएको उल्लेख गरिएको छ। प्रदेश सरकारमा हालसम्म जम्मा १० जना दलित समुदायका व्यक्ति मन्त्री भएका छन्। राष्ट्रिय सभा र प्रतिनिधि सभाका दलित सांसदको हालसम्मको सङ्ख्या १६७ रहेको छ। प्रदेश सांसदको सङ्ख्या १०९ छ। प्रदेश प्रमुखमा एक जना भएका छन् भने राजदूत तीन जना भएका छन्। 

पुस्तकको तथ्याङ्क अनुसार स्थानीय तह निर्वाचन २०७९ मा प्रमुख ३ र उपप्रमुख ९ जननिर्वाचित भएका छन्। गाउँपालिका अध्यक्षमा ६ जना र उपाध्यक्षमा ७ जना निर्वाचित भएका छन्। छ हजार ६२० जना दलित महिला वडा सदस्यमा निर्वाचित भएका छन् भने दलित महिला वडा सदस्यमा उम्मेदवार नपरेका वडाको सङ्ख्या १२३ रहेका छन्।