• १९ पुस २०८२, शनिबार

अन्तिम भाँडो (कथा)

blog

पञ्चायती शासनव्यवस्थाविरोधी कसुरमा हाम्रा श्यामसुन्दर काका कुनै समयमा चार वर्ष जेल परिसक्नुभएको रहेछ । अचेल राजनीतिको ‘र’ उच्चारण गरेको उहाँलाई मन पर्दैन तर कुनै कुराकानीको सन्दर्भमा आफ्नो पूर्वस्मृतिलाई त्यसमा जोड्न बिर्सनु हुन्न, “म नक्खु झ्यालखानामा राजबन्दी भएको बेला... ।” वाक्य पूरा नहुँदै बा हाँस्दै कराउनुहुन्थ्यो, “भो... ए... श्यामसुन्दर... कति पल्ट सुन्नु तेरो कहानी ? मेरो कानै भाट्टिसक्यो के ।” 

एक दिन त मलाई कस्तो कस्तो असजिलो लाग्यो । मैले भनेँ, “काका बुवा मैले सुनेको छैन, भन्नुस् म सुन्छु ।” रातो मुख पारेर ठुस्केका काकाले हौसिएर भन्नुभयो, “कसैले सुन्नु पर्दैन । मेरै भतिजलाई सुनाउँछु ल सुन् बाबु ।” 

“ल... ल... छ... छ... तेरै भतिजलाई सुना हामी कान थुन्छौँ ।” “न सुन न तँ... आफू के जान्दो र हामीलाई के भन्दो... बलैबाट ।” स्मृतिबाट स्मरणमा ल्याउनका निम्ति उहाँले आँखा चिम्म गर्नुभयो । म काकाको नजिक सर्दै गएँ । 

उहाँ झ्यालखानाका सम्झना सुनाउन थाल्नुभयो, “म नक्खु झ्यालखानामा बन्दी भको बेला... बिहान उठ्दा लाग्थ्यो सधैँ, के म मरिसकेको त छैन । फलामे झ्याल परको भोगटेको रुखबाट जब काग कराउँथ्यो– काँ... काँ... तब म ढुक्क हुने गर्थें कि म आज ज्युँदै छु । म सम्झन्थेँ... सम्झिरहन्थेँ, मेरो दुईकोठे घरसम्म गएर टुङ्गिने साँघुरो गल्ली र एक आना जग्गा ओगटेर ठडिएको घरमाथि छतको खुला आकाश । म सम्झन्थेँ... प्रायः... झ्यालमा आएर चिरबिर... चिरबिर... गरी भुर्र... भुर्र... उडिदिने गौँथली चरी साथसाथै त्यही झ्यालभित्र पोखिँदै उदाउने अस्ताउने मेरो प्यारो घाम–सूर्य । झ्यालखानामा, दिउँसो सारै बोझिलो र रात एकदम छोटो भइदिन्थ्यो । कहिले रात पर्ला भनी म कुरेर बस्थेँ । किनभने सपनीमा प्रायः म घरको छतमै हुन्थेँ । घरको नरम घाम, कमलो बतास र माथि निलो आकाशमा उड्दै रमाउँथेँ । रातभरि सपना देख्दै रमाउन जस्तो आनन्द अरू थिएन । कहिलेकसो झसङ्ग भएर बिउँझिन्थेँ ।

काकाले लामो निःश्वास लिँदै भन्नुभयो, “शरीर त्यहाँ थियो तर मन यहाँ ।” जिज्ञासाको उत्कण्ठामा म भावविभोर भएँ । तरङ्गित हुँदै सोधेँ, “अनि... काका बुवा ?” 

“अनि... लाग्थ्यो, म चरो भइदिएको भए भुर्र उड्दै मेरो घर पुग्थेँ । एक दिन त घर पुग्नु नै थियो । चारबर्से जेलकाल सकियो । घर फर्कें । कैयौँ वर्ष बितिगए । समय यसरी भाग्दै हिँडे जसरी हिउँ–बरफ पग्लिँदै जान्छन् । हिजोका कुरा आज गलत र आजको ठिक भोलि खराब भइदिँदो रहेछ । हिजोको आज छैन । आजको भोलि हुँदैन । कसो मेरो बाबु राजा... ।” 

म मक्ख परेँ । काकाको नरम हात समात्दै भनेँ, “काका बुवा, एक दिन मलाई नक्खु झ्यालखाना लगेर देखाइदिनुहोस् न ।” 

“के भन्छ यो, धत् लाटा ! त्यहाँ जानहुन्न बाबु ।” 

“नाइँ... नाइँ... म जान्छु ।” 

“ल... ल... टाढाबाट देखाइदिऊँला ।” 

काकाले अनि बालाई हेरेर भन्नुभयो, “हेर जेठु, एउटा चिज भने पक्कै रहिछ कि मानिसको आवाज यस्तो ‘डाइनामाइट’ रहेछ; जसले हजारौँ पर्खालसँगसँगै फलामे पर्दाहरू धुजा धुजा पारिदिँदो रहेछ भन्ने सिद्ध भइसक्यो ।” बाले मुस्कुराउँदै भन्नुभयो, “क्याबात श्यामसुन्दर, आहा अहिले त बेग्लै मिठासमा आइपुग्यो यो कथा भर्खरै सुनेको जस्तो ।”

सम्झनाका तरेलीहरू हिजो भर्खर जस्ता लाग्छन् तर समय कालखण्ड निकै पर धस्किसकेको हुन्छ । हाम्रा बा र काका एउटै कोखका जुम्ल्याहा दाजुभाइ जस्ता थिए । धेरैपछि मलाई थाहा भयो... हाम्रो फरक जात र परिवार हो भन्ने कुरा । बा स्वर्गे भएको पनि पाँच वर्ष नाघिसकेछ । काकासँगको भेटघाट पातलिँदै गयो । एक पटक बासँग भनेको सम्झन्छु, “जेठु अन्धकारमा लुकेर हराउन लागेको मेरो रहर कहिल्यै पूरा हुने भएन ।” 

“अँ के कुन रहर ?” 

“त्यही एकआने जग्गामा दुईकोठे घरलाई रङरोगन लगाई चिटिक्क पार्ने ।” “फिक्री नगर श्याम, छिट्टै पूरा हुन्छ ।” तर त्यो छिट्टै कहिल्यै आइपुगेन ।

“साहुजी काँसको पकाउने भाँडो छ ?” 

म बिउँझे झैँ बोलेँ, “हुँ... हुँ... छ हजुर ।” बल्ल बोहनी भएर मन चङ्गा भयो । हजुरबा र नाति सँगसँगै देखिए । “साहुजी एकैछिन यसलाई यहाँ... म छिट्टै एउटा काम सकेर आउँछु ।” बुढा हिँडिहाले । बच्चो शान्त मुद्रामा मुढामा बस्यो । यही मौकामा माथि म हल्का भएर आउँछु भन्ने लाग्यो । फर्केर भ¥याङ ओर्लिंदै गर्दा कता कता परिचित आवाज कानमा प¥यो । 

“नाम के हो सानुमान्छे ?” 

“अशोक” 

“कति कक्षामा पढ्छौ ?” 

“भनौँ टु ।” 

“भनौँ टु भन्ने क्लास पनि छ र सानुमान्छे ?” 

“म ठुलो भइसकेँ अब ।” 

“हो र... अँ त... ठुलोमान्छे ।” बच्चो फत्की फत्की हाँसिरह्यो । मैले मेरो बचपन सम्झेँ । म चुपचाप दुवैलाई हेरिरहेँ । “अनि अरू के छ त ठुलुमान्छे ?” बच्चाले ठुल्ठुला आँखा बनाउँदै भन्यो, “आज... ड्याडी र ममी फाइट खेलेर... भान्छामा भाँडा फुट्यो अनि हजुरबासँग किन्न आको के ।” 

“हो र आम्मै !” 

यसैबिच हजुरबुवा टुप्लुक्क आइपुगे । “ल... ल... साहुजी खुबै बकबक गरेर सतायो कि क्या हो ?” दुवै जना हिँडिहाले । 

“ओहो काका बुवा, धेरै समय भयो भेटघाट नभएको । सारै दुब्लो देख्छु । सन्चो थिएन कि ?” 

“बुढेसकालमा यस्तै हो, अलि रुघाखोकी मात्र हो... अहिले सन्चो भइसकेको छ ।” मेरो आँखा अचानक उहाँले समातेको जुटको झोलामा प¥यो । बिस्तारै झोला खोल्दै अड्की... अड्की बोल्नुभयो, “बाको पालाको यो चाँदीको तसला हो,  यत्ति राखिदेऊ... बाबु अलिकति पैसा... ।” कता कता छातीमा केही घोचिए झैँ म रन्थनिएँ । “काका बुवा के भन्नुभको हुँदै हुन्न । भाँडो लिएर जानुस् । म हजुरकाँ छिट्टै आउँछु । बाबुछोरा मिलेर घरमा सकिएको सामान किनौँला । यताको सबै चाँजोपाँजो मिलाएर अर्को हप्ता हजुरलाई यतै राख्छु । अब म एक्लै तपाईंलाई छोड्नेवाला छैन ।”

काका हिँडिसकेपछि ग्राहकको भिडले गर्दा एकछिन फुर्सद निकाल्न सकिएन । ओहो ! धेरै बेर भइसकेछ । गल्ला खोलेर सबै पैसा खल्तीमा राखी हिँडिहालेँ । काकाको घरतर्फको कम दुरी पनि आज धेरै टाढा लाग्यो । जाडोयामको छोटो दिन निस्तेज अवस्थामा पुग्दै गर्दा बतासे हावा हुइँकिएर बग्दै थियो । काकाको घरआँगनमा पुगी हेर्दा घामको किरणले मन्द मन्द राप ओढेर घाट छोडिसकेछ ।

“काका बुवा... काका...” बाहिरबाट बोलाएँ । ढोका खुलै थियो । छेउकै घरबाट सन्जे नित्यपूजाको घन्टी बज्यो टिन... टिन... टन... टन... । साथसाथै त्यहीँबाट टु वान जा टु... टु टु जा फोर... टु थ्रिजा सिक्स सुनिँदै गयो । घन्टी र स्वरको छन्द बन्धन व्रmमसँगै आवाज द्रुत विलम्बित तवरमा कम... कम... हुँदै हरायो । 

घरभित्र पसेर के हेरेको थिएँ, पाइतालामुनिको जमिन बेस्सरी हल्लिएर कम्पन छुटे झैँ भई पाइलाहरू थर्रर्रर काँपे । मुटुको प्रचण्ड वेगले हुत्याएर थचक्क बस्दै म चिच्याएँ, “काका... काका... लौ न के आपत् आइप¥यो... काका... काका... ।” ढोकाको सँघारमा भूमिसात काकाको निष्प्राण देह लम्पसार थियो । निश्चेतनको महाशून्यतर्फ उन्मुख उहाँका आँखाले भन्दै थिए ।  “मान्छे खत्तम । ऊ सँगसँगै हिँडेको कथा–कहानी खत्तम ।” होस समाल्दै जुरुक्क उठेर चारैतिर हेरेँ । सुत्ने कोठामा ओढ्ने ओछ्याउने अतिरिक्त कुनै सामान थिएन । त्यस्तै भान्साकोठामा कुनै भाँडाकुँडा बाँकी शेष नरहेको खाली देखेँ ।  वरिपरिका प्रायः छिमेकी जम्मा भइसकेका थिए । भिडबाट उछिट्टिएर छेउ आई एक जनाले भट्भट्याउन सुरु ग¥यो । “स्वर्गीय श्याम सर, हाम्रो पार्टीको गौरव हुनुहुन्थ्यो । ३६ र ४६ सालको लोकतान्त्रिक आन्दोलनमा उहाँको अतुलनीय योगदान हामी कहिल्यै भुल्न सक्ने छैनौँ... ।” अर्को एक जनाले खोइ कुन पार्टीको हो कुन्नि ? झटपट झन्डा ओढाइदिइहाल्यो । पार्थिव शरीर झन्डाले छोपिदियो तर छोप्न सकेको थिएन झन्डाले पूरा शरीर अनि काकाले समातिरहेको त्यो अन्तिम भाँडो ।