हट्ने होइन डटी लड्ने
नेपालीको बानी हुन्छ !
तर, गणेश रसिकले ‘डटी लड्ने’ हिम्मत गुमाए । अर्बुदरोगले थलिएकै बेला रसिकले सञ्चारकर्मी दीपक सापकोटासँग मरणपछिको इच्छा सुनाएका थिए, म मरेपछि मलाई एकेडेमीको त्यो आँगनमा झिँगा भन्काएर नराख्नु, लासमाथि सेल्फी खिच्न नदिनु । गुमनाम तरिकाले लैजानु, मेरो लास आर्यघाटमा र मेसिनमा हाल्दिनु । सक्छौ भने मेरो अन्तु भोजपुरमा लगेर राखिदिनु श्रीमती र छोराको चिहानसँगै !
कति वास्तविक र मर्मस्पर्शी छन्, यी शब्द तरङ्गहरू ? प्राणघातक अर्बुदरोगबाट पीडित गणेश रसिक कमलो भाषामा जीवनका स्मृति र भूगोलका भावुक कथा लेखी बस्थे ।
नेपाली साहित्य र गीत सङ्गीतका क्षेत्रमा अमरदीप बनेर अस्ताएका गणेश रसिकको जन्म २००४ असोज ४ गते पूर्वी नेपालको सुन्दर बस्ती नौलागाउँ छिनामखु भोजपुरमा भएको हो । उनको वास्तविक नाम गणेशकुमार राई हो तर गणेश रसिकका रूपमा नेपालीको मनमन्दिरमा बस्न सफल भए । त्यसैले यस क्षेत्रको इतिहासमा गणेश रसिकको नाम सदासर्वदा कालजयी भएर रहने छ । उनका कालजयी कृतिहरूले भावीपुस्तालाई सिर्जनशीलता, सामाजिक यथार्थ र सांस्कृतिक चेतनाको बाटो देखाइरहने छन् । उनका गीतहरू गुञ्जिरहने छन्, सिर्जनाहरू पढिरहने छन् र रसिकका शब्द तरङ्गहरूले नेपाली समाजलाई अझै अँगालिरहने छन् ।
रसिकको गीत सङ्गीतमा चरम मौलिकता छ । उनीमा कहिल्यै कसैलाई नबिझाउने स्वभाव थियो । जीवनमा गणेश रसिकको कसैप्रति केही गुनासो पनि थिएन, यदी गुनासो थियो त नेपाल र नेपालीप्रतिको चिन्ता । शिष्ट, इमानदारिता र भद्रभलादमी मौलिक स्वभाव उनको नैतिक संस्कार थियो ।
भोजपुर जस्तो कलासाहित्य र लोकसंस्कृतिले सम्पन्न भूमिमा जन्मेका रसिकले नेपाली साहित्य र गीत सङ्गीतलाई स्थानीय मौलिक शब्द र भावनाले समृद्ध बनाए । गणेश केवल गीतकार, सङ्गीतकार साहित्यकार र लेखक मात्र नभई नेपाली सांस्कृतिक आन्दोलनका एक अगुवा अभियन्तासमेत थिए । उनका समग्र पुस्तककार कृतिमा रसिकको बहुआयामी प्रतिभाको उभार उर्लन्छ । प्रथमतः २०२४ सालमा क्षितिजलाई छुन खोज्दा जस्तो कथा कृति लिएर नेपाली साहित्यमा उदाएका गणेश रसिकका एकदर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । उनका प्रकाशित पुस्तक अन्तर्गत एउटा सारङ्गीभित्र (कथासङ्ग्रह) २०२७, रसिकका गीतहरू (गीतसङ्ग्रह) २०४५, ‘आकाशगङ्गाको ओतमुनि’ (उपन्यास) २०४८, ‘जब सिस्नुहरू टेक्दै हिँडे’, (सस्मरण) २०५५, ‘बिलाउँदै गएका गीत’ (कथासङ्ग्रह) २०५७, ‘दशगजामा उभिएर’ (उपन्यास) २०६३ र २०६७ सालमा आएको गीतसङ्ग्रह स्वाधीनताको पीडा जस्ता कालजयी कृतिहरू छन् । यी कृतिमा रसिकको सिर्जनात्मक बहुमुखी प्रतिभाको उजागर भएको छ । उनको ‘मेरो अतीत’ गीति एल्बम र ‘अन्तराल’ अडियो क्यासेट एल्बम पनि सार्वजनिक छन् । उनको पहिलो रचना २०१९–२० सालतिर प्रकाशित भएको देखिन्छ । सबैको लेखनशैली, शब्दचयन र भाषाको बनोट झन्डै झन्डै एउटै लेखकको जस्तो लाग्छ तर यसमा रसिक पृथक् रहेको उनको बुझाइ छ । उनको विशेष विधा कथा र गीत सिर्जना नै हो । उनी पाँचौँ पिँढी लेकाली समूहका संस्थापक हुन् । उनको लेकाली समूहमा विशिष्ट सक्रियता थियो । उनका गीतमा आफ्नै स्वरूपको गाउँको कथाव्यथा थियो र सङ्गीत पनि थियो । त्यसैले नेपाली परिवेश अन्तर्गत गाउँहरू सम्झाउन गणेश रसिकको गीत सङ्गीत नै काफी छन् । रसिकका विभिन्न पत्रपत्रिकामा दर्जनौँ कथा, कविता, गीत, नाटक र संस्मरण प्रकाशित छन् ।
गणेश रसिकको संस्थागत सेवाको क्षेत्रगत योगदानसमेत अत्यन्त उर्वर रहेको छ । उनले २०३८ सालदेखि २०७५ सम्म गरिमामय संस्थामा रहेर गहन सेवा प्रदान गरेका थिए । उनले २०३८ देखि २०४० सालसम्म रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक भएर काम गरेको पाइन्छ । नेपाली गीत सङ्गीतका क्षेत्रमा तत्कालीन यस संस्थानले धेरै कलाकार र गीत सङ्गीतकार जन्माएको छ । उनी २०४० देखि २०४६ सालसम्म सांस्कृतिक संस्थानको महाप्रबन्धक भएर काम गरेका थिए । यो संस्थान राष्ट्रिय नाचघरका रूपमा पनि परिचित छ । गणेश रसिकपछि नारायणगोपाल गुरुवाचार्य र हरिहर शर्मा जस्ता व्यक्तित्वले यस संस्थाको महìवलाई माथि उठाएका थिए । उनले २०५२ देखि २०५५ सालसम्म साझा प्रकाशन जस्तो ऐतिहासिक संस्थाको अध्यक्ष तथा महाप्रबन्धक भएर जिम्मेवारी निर्वाह गरेका थिए । त्यसै गरी २०७२ देखि २०७५ सालसम्म नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा सदस्यसचिवका रूपमा काम गरेका थिए । यी संस्थाका भूमिकामा रहँदा उनले नेपाली भाषासाहित्य, गीत सङ्गीत र कलासंस्कृतिको प्रवर्धनमा महìवपूर्ण योगदान पु¥याएका थिए ।
रेडियो नेपालले २०३४ सालमा आयोजना गरेको देशव्यापी सङ्गीत प्रतियोगितामा उत्कृष्ट गीतकार घोषित गणेश रसिकले राष्ट्रवादी भावनाले ओतप्रोत देशप्रेमका मर्मस्पर्शी गीत गाएका छन् । उनले ‘रातोभाले क्वाँए क्वाएँ’, ‘घरबेटी नानी आँगनमा देऊ न मलाई बास’, ‘हट्ने होइन डटी लड्ने नेपालीको बानी हुन्छ’, ‘मलाई प्यारो लाग्छ मलाई राम्रो लाग्छ’, ‘नखेल्नु जुवा र तास’, ‘मागी मिठो सधैँ आफ्नो’, ‘तराई हेर कति राम्रो’, ‘हामी धेरै साना छौँ हाम्रो मुटु सानो छ’ जस्ता दर्जनभन्दा बढी उत्कृष्ट राष्ट्रिय चेतना र सामाजिक परिवर्तनको सन्देश दिने गीत गाएका छन् । यस्ता चर्चित गीतका लोकप्रिय गायक रसिकले आफ्ना गीतमार्फत नेपाली युवालाई स्वाभिमानी एवं मान्छे आफैँ पौरखी हुनु पर्छ भन्ने सन्देश दिएका छन् । नेपालीले कसैको दासत्व स्वीकार्नु हुँदैन भन्ने यथार्थ सन्देश प्रवाह गर्ने गीतकार रसिक नेपालीलाई सम्झना छाडेर भौतिक रूपमा अस्ताए ।
कवि, लेखक, गीतकार, सङ्गीतकार, निबन्धकार, कथाकार, उपन्यासकार, नियात्राकार, सम्पादक एवं एक कुशल प्रशासकका रूपमा उनले बहुआयामिक पहिचान बनाएका छन् ।
रसिक ५० को दशकमा जन्मथलो भोजपुरबाट कर्मथलो इलाम बसाइँ सरेका थिए । त्यसपछि उनको बसाइ भोजपुर इलाम र काठमाडौँ रह्यो तर उनी बढी समय इलाममै बस्दै आए । उनी सधैँ सिर्जनशील समय बाँचेकै कारण गाउँ र सहर डुल्दै गीत गाउँदै उर्वर जीवन बिताए तर क्यान्सर भएपछि जीवनका आखिरी दिनहरू अत्यन्त कष्टमय रहे । उनले जीवनमा बिर्सन नसक्ने पारिवारिक पीडा भोगे । अनन्त यात्रामा गएका परिवारका सदस्य सम्झँदै उनले जीवनबोध गरेका थिए । २०६७ साल मङ्सिरमा छोरा निमेशको असामयिक दुःखद निधन भयो । २०७८ कात्तिकमा जीवनसङ्गिनी नीरा शेरचनले पनि संसार छाडेर गइन् । परिवारका यी दुवै सदस्यको मृत्युपछि गणेश रसिक एक्लो केवल एक्लो थिए । यी पीडाका सम्झनाले उनी सधैँ विचलित थिए तर तिनीहरूकै सम्झनाले बाँचेको कुरा स्वीकार गर्थे ।
अन्तत, यी दुवै पीडादायी घटनाले रसिकलाई भावनात्मक रूपमा अत्यन्त कमजोर बनाए पनि उनी आफ्नो सिर्जनायात्रामा क्रियाशील रहिरहे । यो नै रसिकको जीवन बाँच्ने धीरता हो । उनले देशभक्ति भावना समर्पित गीत, बालगीत, लोकगीत र प्रेमगीतदेखि सामाजिक चेतनामय गीति सिर्जनामार्फत लामो समयदेखि नेपाली समाजलाई प्रेरणा र उत्साह दिँदै आए । एउटा देशभक्त स्रष्टाका रूपमा धेरै पाटोबाट गणेश रसिकलाई सम्झन सकिन्छ । त्यसैले त रसिकको नेपाली साहित्य र गीतसङ्गीतका क्षेत्रमा अतुलनीय योगदान रहेको छ । गणेश रसिकले केवल मनोरञ्जनका लागि मात्रै होइन राष्ट्रियता, स्वतन्त्रता, विकृति र सामाजिक परिवर्तनका लागि गीत सिर्जनामा केन्द्रीकृत योगदान दिएको पाइन्छ । उनले संस्थागत रूपमा चर्चित लेकाली समूह स्थापित गरेर नेपाली राष्ट्रियताको अभियानमा बिर्सन नसक्ने गुन लगाएका छन् ।
गणेश रसिक एक राष्ट्रवादी सर्जक, राष्ट्रका लागि हदैसम्म चिन्ता गर्ने लेखक र युवापुस्तालाई कसरी सकारात्मक बाटोमा अघि बढाउन सकिन्छ भन्ने चिन्तन र चिन्तामा डुब्ने एक अभियन्ता हुन् । रसिकको लोकगीतप्रतिको मोह २०३१ सालमा स्पोटर््स काउन्सिलले आयोजना गरेको लोकदोहोरी प्रतियोगिताको निर्णायक रहँदादेखिको हो । त्यतिबेलादेखि नेपालमा लोकदोहोरीले खुट्टा टेकेको हो र दोहोरी गीतमा खुट्टा टेकाउनमा रसिकको पनि योगदान रहेको प्रसङ्ग लोकगायक कुमार बस्नेतले खुलेर प्रशंसा गरेको पाइन्छ । भोजपुरे लाहुरे संस्कृतिमा हुर्केका गणेश रसिक लेकाली र राल्फा समूहमा समेत गीत गाउँदै जीवनबोध गर्थे, जहाँ उनका गीत जीवन्त रहेसम्म रसिक पनि गुञ्जिरहने छन् ।
नेपाली भाषासाहित्य, गीत सङ्गीत र सांस्कृतिक आन्दोलनका अमिट हस्ताक्षर कवि, गीतकार, गायक, सङ्गीतकार, सांस्कृतिककर्मी एवं उत्कृष्ट साहित्यकार गणेश रसिकको निधन २०८२ जेठ १८ गते भएको थियो ।