• २१ पुस २०८२, सोमबार

गम्भीर अवस्थामा जन्मिएको नवजात शिशुको सफल उपचार

blog

धौलागिरी प्रादेशिक अस्पताल बागलुङको भवन । तस्बिर : नवराज नेपाली

नवराज नेपाली 
बागलुङ (गलकोट), पुस २० गते ।
धौलागिरी प्रादेशिक अस्पतालले आफ्नो विशेष नवजात हेरचाह एकाइ एसएनसियुलाई नियोनाटल इन्टेन्सिभ केयर एकाइ एनआइसियुमा सफलतापूर्वक स्तरोन्नत गरेपछि ऐतिहासिक उपलब्धी हासिल गरेको छ ।

यसरी स्तरोन्नत भएको एनआइसियुमा गम्भीर अवस्थामा जन्मिएको नवजात शिशुको सफल उपचार गरी जीवन रक्षा गरिएको छ ।

यो सफल उपचार अस्पतालका प्रसूति तथा स्त्रीरोग विभागको एक जटिल प्रसव केसको नतिजा हो । विभागमा डा. विजय, डा. विमल र डा. अंजुको टोलीले गम्भीर प्रसव र जटिल स्त्रीरोगसम्बन्धी ओपरेसनहरू सफलतापूर्वक गर्दै आएका छन् ।

यसै म्याग्दी जिल्लाको दुर्गम ग्रामीण क्षेत्रबाट आएकी एक गर्भवती महिलाको पुस ४ गते कर्ड प्रोल्याप्स र प्लेसेन्टा प्रिभिया जस्ता अत्यन्तै जोखिमपूर्ण अवस्था देखिएको थियो । महिलाको जीवन बचाउन आपतकालीन लोअर सेग्मेन्ट सिजेरियन सेक्सन एलएससियास गर्ने निर्णय स्त्रीरोग विशेषज्ञ डा. विजयको नेतृत्वमा भयो ।

डा. विजय, डा. अमित डा. सन्दीप, प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट तथा बालरोग विशेषज्ञ डा. किरण तिवारी, मेडिकल अफिसर डा. सन्दिप केसी र अन्य स्वास्थ्यकर्मीको संयुक्त टोलीले सफल शल्यक्रिया गर्यो ।

दिउँसो जन्मिएको शिशु प्रारम्भमा कुनै पनि जीवनचिन्ह नदेखिएको (फ्लेट बेबी) अवस्थामा थियो । टोलीले निरन्तर र प्रभावकारी पुनर्जीवन (रिससिटेसन), सिपिआर दिएपछि मात्र ७ मिनेटपछि मात्र शिशुको हृदयको धड्कन फक्र्यो । तत्कालै इन्टुबेसन गरी डा. किरण तिवारी र डा. यशोदाद्वारा शिशुलाई स्तरोन्नत एनआइसियुमा सारियो ।

शिशुलाई भेन्टिलेटरमा राखेर एन्टिबायोटिक, आयोनोट्रोप्सलगायतका जीवन रक्षक औषधीहरू निःशुल्क उपलब्ध गराइयो ।

डा. किरण, डा. यशोदा, डा. कमल, डा. सन्दिप र साथै नर्सिङ टोली मिलनबरुवालको नेतृत्वको कृतिका, रश्मी, पूजा, मोनिका, दीपा, रक्षा, आस्मा लगायतको समन्वयात्मक प्रयासले उपचारलाई अझ प्रभावकारी बनाएको थियो । त्यसैगरी, नर्सिङ अफिसर निमा हिताङ नेतृत्वको  नर्सिङ टोलीले नवजात शिशुको सघन हेरचाह, भेन्टिलेटर व्यवस्थापन तथा निरन्तर निगरानीमा उल्लेखनीय योगदान पुर्‍याएको थियो ।

अनुभवी नर्सिङ्ग तथा आइसियु टोलीले करिब १० दिनसम्म अथक सेवा र निगरानी गरी शिशुलाई भेन्टिलेटरबाट हटाउन सफल भए। हाल शिशु मेकानिकल सिपिएपिबाट अक्सिजन सपोर्टमा सारिएको छ र उसको हालको अवस्था सन्तोषजनक रहेको छ ।

यसको जानकारी दिदै मेडिकल अफिसर डा। सन्दिप केसीले भने यो केवल एउटा सफल उपचार मात्र होइन, हाम्रो दूरगामी लक्ष्यको सुरुवात हो ।

हाम्रो लक्ष्य यहाँ पूर्णरूपमा सुसज्जित एनआइसियु सञ्चालन गरी जटिल प्रसव पछिका गम्भीर नवजात शिशुहरूको सम्पूर्ण उपचार गर्नु हो। यसबाट भविष्यमा जटिल नवजात शिशुहरूलाई बाहिरी अस्पतालमा पठाउनु रोक्न सकिनेछ र दुर्गम क्षेत्रका सबै आमाबाबुले यही उच्चस्तरीय सेवा पाउनेछन् ।

यस सफलताले दुर्गम क्षेत्रमा पनि उच्चस्तरीय नवजात सेवा सम्भव छ भन्ने प्रमाणित गरेको छ। अस्पतालका स्त्रीरोग तथा नवजात विभागको सहकार्य र बहु–विषयक टोलीको सामूहिक प्रयासले नै यो जीवनरक्षा सम्भव भएको प्रमुख डा.किरण तिवारीले बताउनुभयो ।

स्त्रीरोग विभागले डा.विजय, डा.बिमल र डा. अंजुको टोली अगाडि बढी गम्भीर प्रसव र स्त्रीरोगीका केसहरू सफलतापूर्वक उपचार गर्दै आएको छ जसले सम्पूर्ण क्षेत्रका महिलाहरूमा विश्वास जगाएको छ।

यसबिच अस्पताल प्रशासन प्रमुख विपिन पुनले जटिल प्रसवलाई नै स्थानीयस्तरमै उपचार गरेर मातृ स्वास्थ्य रेफरल रोक्ने र स्तरोन्नत एनआइसियुको माध्यमबाट जटिल नवजात शिशुहरूको बाहिरी रेफरल पनि सम्पूर्ण रूपमा रोक्न मद्धत गर्ने बताउनुभयो ।