काठमाडौँ, पुस २० गते । सरकारले भन्सार कार्यालयमा सुरु गरेको कारोबार मूल्यको आधारमा गरिने भन्सार मूल्याङ्कन प्रणालीले वैध व्यापार बढ्ने र यसले वस्तुको मूल्य घटाउनेसम्मको प्रभाव पार्ने देखिएको छ । अर्कोतिर भन्सार प्रक्रिया पारदर्शी बन्ने र राज्यले प्राप्त गर्ने राजस्व सङ्कलन पनि बढ्ने अपेक्षा गरिएको छ ।
भन्सार कार्यालयले राख्ने सन्दर्भ पुस्तिकाका आधारमा वस्तुको मूल्याङ्कन गर्ने र त्यसैको आधारमा भन्सार महसुल सङ्कलन गर्ने परम्परा तोड्दै सरकारले देशैभरका कार्यालयमा वस्तुको प्रचलित कारोबारलाई आधार मानेर मूल्याङ्कन सुरु गरेको छ । जसलाई उद्योगी व्यवसायी तथा व्यापार विज्ञले समेत सकारात्मक मानेका छन् । त्यति मात्र होइन यसको कार्यान्वयनमा भन्सारका कर्मचारीलाई थप चनाखो बनाउनुपर्नेमा उनीहरूको जोड छ । कारोबार मूल्य लागु हुँदा त्यसको लाभ सरकार, व्यापारी र उपभोक्तासम्मलाई हुने भएकाले सरोकारवाला सबैले यसको स्वागत पनि गरेका छन् ।
व्यापार विज्ञ रविशङ्कर सैँजु कारोबार मूल्य लागु भएपछि सही मूल्यमा व्यापारीले सामान ल्याउँदा ग्राहकलाई सामान सस्तो पर्न जाने बताउनुहुन्छ । यसले नेपालको व्यापार प्रणालीलाई अधिक पुर्वानुमानयोग्य पारदर्शी बनाउने हुँदा विदेशी लगानीकर्ताका लागि समेत आकर्षण हुने उहाँको भनाइ छ । “प्रमाणित गर्न सकिने कागजातका आधारमा मूल्याङ्कन छिटो हुने हुँदा नियमन पालना गर्ने व्यापारीका लागि सीमानाकामा हुने ढिलाइ घटाउँछ,” उहाँले भन्नुभयो ।
पछिल्लो व्यवस्थाले कागजमा सामानको मूल्य कम देखाएर कम शुल्क तिर्ने आयातकर्ताको बानीलाई नियन्त्रण गर्ने सैँजुको बुझाइ छ । वास्तविक मूल्यको इन्भ्वाइस निर्माण गरेर, सामानको वास्तविक मूल्य, शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) लगाउन सकिने हुँदा राजस्व बढाउन सहयोग पुग्ने उहाँले बताउनुभयो । ‘कारोबार मूल्य लागु भएपछि व्यापार सुविधा र दक्षतामा सुधार आउनका साथै अवैध वित्तीय प्रवाह नियन्त्रण हुन्छ,” उहाँले भन्नुभयो । व्यवसायीले बढी बिल बनाएर सामान ल्याउन सक्ने हुँदा यसमा भन्सार कर्मचारी सचेत हुनुपर्ने उहाँको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले कारोबार मूल्यका आधारमा भन्सार मूल्याङ्कन गर्दा व्यापारलाई पारदर्शी बनाई गैरकानुनी कारोबार नियन्त्रण हुने बताउनुभयो । “यस अघि लागु भएको सन्दर्भ मूल्यले विकृति बढेको थियो,” उहाँले भन्नुभयो, “कारोबार मूल्य लागु भएपछि उद्यमी व्यवसायीको मनोबल उच्च बनाएको छ ।”
बहुराष्ट्रिय कम्पनी, एजेन्सीमार्फत आउने सामान, भारतबाट जिएसटी मूल्य लागु भएर आउने सामान, प्रतीतपत्र (एलसी) खोलेर आउने सामान, प्रतिष्ठित कम्पनी र ग्रिन च्यानलबाट आउने सामानलाई भन्सारमा सिधै छोड्ने र शङ्का लागेका सामान रोक्नुपर्ने उहाँको भनाइ छ ।
भन्सारमा हुने अनावश्यक झन्झट प्रक्रिया रोकिने हुँदा कारोबार मूल्यले आयातनिर्यात व्यापारलाई थप सहज बनाउने उहाँको भनाइ छ । व्यवसायीले इमानदारीपूर्वक कारोबार गर्ने र भन्सारका कर्मचारीले समयमा सामान जाँचपास गरे यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने उहाँको भनाइ छ ।
भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले कारोबार मूल्य लागु गर्दा व्यापारलाई पारदर्शी बनाई राजस्व सङ्कलन वृद्धि हुने जानकारी दिनुभयो । कारोबार मूल्यमा भन्सार मूल्याङ्कन हुँदा सही तथ्यमा आधारित व्यापार हुने हुँदा बढी र कम मूल्याङ्कन हुने, डलर बाहिर जाने समस्या हटेर अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सन्दर्भ मूल्यको साटो कारोबार मूल्य लागु गर्दा वस्तुको मूल्य बजारले निर्धारण गर्ने हुँदा प्रक्रियागत सरलीकरण हुने बताउनुभएको थियो । शुक्रबार आफ्नो फेसबुकमा लेख्दै उहाँले आगामी दिनमा भन्सारलाई उत्पादन र निर्यातमा आधारित अर्थतन्त्र मेरुदण्डका रूपमा विकास गर्नु पर्नेमा जोड दिनुभएको थियो । निजी क्षेत्रले नक्कली बिलबीजक जारी गर्नुपर्ने बाध्यताको अन्त्य गर्दै व्यवसायीलाई परिवर्तन अनुरूप वास्तविक कारोबार र सही कागजात मात्र पेस गरी इमानदार हुन उहाँको आग्रह थियो ।