• १२ साउन २०८१, शनिबार

राजनीतिले लय पक्रेकाे छ: प्रधानमन्त्री प्रचण्ड

blog

पन्थडिही कटहरे सडक शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्ड । तस्बिर– नरेन्द्र ढकाल ।

नरेन्द्र ढकाल

गोरखा, चैत ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिले अब लय पक्रिएको बताउनु भएको छ । गोरखाको पन्थडिही कटहरे हर्मी साहिलटार सडक स्तरोन्नति कार्यको शिलान्यास गर्दै उहाँले अब पुरानै गठबन्धन कायम भएको बताउनुभयो ।

‘हिजोबाट एउटा राजनीतिक वातावरण बनेको छ, राजनीतिले लय पक्रिएको छ,’ उहाँले भन्नुभयो, ‘सदनमा भएका झण्डै ११ वटा दलको विश्वासको मतसहित अब हामी सरकारलाई पूर्णता दिने प्रक्रियामा छौँ । आज बिहानदेखि नेपाली कांग्रेस र अन्य पार्टीसँग गम्भीर संवाद छलफल सुरु भएको छ ।’ सोमबार आफूले विश्वासको मत पाएँ सरकार पुनर्गठनबारे दलहरुसँग छलफल सुरु भएको उहाँले बताउनुभयो ।

सङ्घ सरकारदेखि प्रदेश सरकार पुनर्गठन र आलोपालोका विषयमा दलहरुसँग छलफल सुरु भएको उहाँको भनाइ छ । अब निर्वाचन पूर्व जनतामा गरिएका प्रतिबद्धताअनुसार काम हुने उहाँले बताउनुभयो । सत्ता साझेदार सबै दल र साझेदार निकायबीच छिट्टै छलफल गरि विकासको मोडालिटी तय गरेर काम अगाडि बढाउने प्रधानमन्त्रीको भनाइ छ ।

सडक विकासको पहिलो आधारशिला भएको भन्दै उहाँले देशभरका रणनैतिक सडकहरु प्राथमिकताका साथ स्तरोन्नति गर्ने सरकारको योजना रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै उपप्रधान तथा भौतिक पूर्वाधार विकास मन्त्री नारायणकाजी श्रेष्ठले जनताको भावनाअनुसार काम गर्न सरकार प्रतिबद्ध भएको बताउनुभयो ।

‘यो सडकको शिलान्यास मात्र होइन, जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्ने कार्यको उद्घाटन पनि हो,’ उहाँले भन्नुभयो, ‘अब सरकारले दृढताका साथ विकास निर्माणका काम अघि बढाउँछ ।’ 

यसैगरी, पूर्व उपप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उक्त सडकले यो क्षेत्रको विकासमा सम्भावना खोल्ने बताउनुभयो । गोरखा र लम्जुङलाई जोड्ने रणनीतिक सडकले जनताको जीवनस्तर उकास्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

‘मेरा लागि सबैभन्दा खुसीको क्षण हो । म आफैँ अर्थमन्त्री हुँदा यो बाटो स्तरोन्नतिको कार्य सुरु गरेको थिएँ,’ उहाँले भन्नुभयो,‘तर बारम्बार पहल गर्दा पनि यसले पूर्णता पाउन सकेको थिएन ।’

यही क्षेत्रका जनप्रतिनिधिसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल प्रचण्डद्वारा सडक शिलान्यास गराउन पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । भारत सरकारको एक्जिम बैंकको ऋण सहयोगमा २०.३ किलोमिटर सडक कालोपत्र गर्न लागिएको सडक विभागका महानिर्देशक सुशील ढकालले जानकारी दिनुभयो ।

त्यसको लागि ८१ करोड ६१ लाख बजेट विनियोजन गरिएको उहाँको भनाइ छ । गोरखाको पालुङटार १ को पन्थडिहीबाट लम्जुङको साहिलटारसम्म सडक कालोपत्रे हुने बताइएको छ ।