• ११ मंसिर २०८१, मङ्गलबार

गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसमा बिरामीलाई फलफूल वितरण

blog

फत्तेबाल आँखा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिँदै । तस्विर– सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, चैत ७ गते । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व केन्द्रिय सभापति गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा फत्तेबाल आँखा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । 

नेपाली कांग्रेस बाँकेले स्वर्गीय कोइरालाको स्मरण गर्दै यहाँस्थित फत्तेबाल आँखा अस्पतालका १५० बिरामीलाई फलफूल वितरण गरिएको काँग्रेस बाँकेका सभापति नारायण गौडेलले बताउनुभयो । 

पूर्वमन्त्री गजेन्द्रबहादुर हमाललगायत नेपाली काँग्रेसका नेता कार्यकर्ताको टोलीले अस्पतालमा पुगेर बिरामीहरुको अवस्था बुझ्नुका साथै फलफूल वितरण गरेको उहाँले बताउनुभयो । 

बिरामीलाई फलफूल वितरण अघि कोइरालाको स्मरणमा एक श्रद्धाञ्जलि सभाको पनि आयोजना गरिएको थियो । 

सो कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री हमालले कोइरालाकै कारण मुलुकमा शान्ति सम्झौता भई गणतन्त्र स्थापना भएको बताउनुभयो । उहाँले कोइरालाको स्मृति दिवस मनाइरहँदा काँग्रेसबीचको एकता अपरिहार्य रहेको पनि बताउनुभयो । 

संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) ले स्वर्गिय कोइरालाको योगदानकै कारण राजतन्त्र अन्त्य भएर गणतन्त्रको स्थापना भएको बताउनुभयो । 

काँग्रेस बाँकेका सभापति नारायण गौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व पार्टी सभापति किरण कोइराला, नेपाली काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, पार्टी सचिव सुधांशु कोइराला, पार्टी उपसभापति कृष्णबहादुर कार्कीलगायतले कोइरालाको योगदानको चर्चा गर्दै शान्ति र समृद्धिका लागि नेपाली कांग्रेसले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो ।