• ११ मंसिर २०८१, मङ्गलबार

प्रधानमन्त्री कप थ्री नेसन्सको तयारी पूरा

blog

प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलमा भाग लिन काठमाडौं आईपुगेको भुटान टोली । तस्बिर : एन्फा

काठमाडौं, चैत ६ गते । दशरथ रङ्गशालामा चैत ८ देखि १७ गतेसम्म आयोजना हुने प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा आयोजक नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा भाग लिन भुटान र लाओस सोमबार काठमाडौं आइसकेका छन् । तीन टोलीबीच सिङ्गल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुने र शीर्ष दुई टोलीबीच १७ गते फाइनल खेल हुनेछ । नेपालले पहिलो खेल बुधबार लाओससँग खेल्नेछ । चैत ११ गते भुटान र लाओस तथा १४ गते नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । 

कूल एक करोड ७७ लाख ६८ हजार रुपियाँ लगानीमा सञ्चालन हुने यस प्रतियोगिताका लागि विश्व फुटबल महासङ्घ (फिफा) ले ५० हजार अमेरिकी डलर सहयोग गरेको एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले जानकारी दिनुभयो ।

यसैगरी एन्फाले यस प्रतियोगिताको मार्केटिङ र ब्रोडकास्टिङ अधिकारको लागि एमडीएसी स्पोर्ट्स प्रालिसँग सम्झौता गरेको छ । सम्झौता अनुसार एमडीएसीले एन्फालाई २० लाख २० हजार रुपियाँ दिने एन्फाका उपाध्यक्ष वीरबहादुर खड्काले बताउनुभयो । 

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र दोस्रो हुनेले ३ हजार डलर पुरस्कार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचलाई २५० अमेरिकी डलर प्रदान गरिने बताइएको छ ।

प्रतियोगिताको पुरस्कार राशि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उपलब्ध गराउने छ । एन्फाले प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भने गरेको छैन । नेपाली खेलाडी अहिले प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको प्रशिक्षणमा तयारी गरिरहेका छन् । 

एन्फाले यस प्रतियोगिताका लागि दर्शक शुल्क साधारण प्यारापिटको पाँच सय र भिभिआइपी प्यारापिटको एक हजार रुपियाँ शुल्क राखेको जनाएको छ ।