• १० पुस २०८१, बुधबार

चतुर्भुजेश्वरमा अखिलका दाहाल विजयी

blog

जनार्जन खत्री

सर्लाही, चैत ६ गते । सर्लाहीको हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसमा पुन : मतगणना गर्दा अखिल क्रान्तिकारीका प्रेमराज दाहाल एक मतले विजयी हुनुभएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा सभापतिका उम्मेदवार द्वय अखिलका दाहाल र अनेरास्ववियुका सन्दीप थापाले बराबर अर्थात् तीन सय ५० मत ल्याएपछि सोमबार दिउँसो पुनः मतगणना गरिएको हो । 

दाहालले तीन सय ५० मत ल्याउनुभयो भने अनेरास्ववियुका थापाले तीन सय ४९ मत प्राप्त गर्नुभयो । क्याम्पसको स्ववियु निर्वाचन समितिका संयोजक हरिलाल मैनालीले रातिको मतगणनामा टिपोट गर्ने क्रममा अनेरास्ववियुका थापाको एक मत बढी टिपोट भएको पाइएको बताउनुभयो । 

चतुर्भुजेश्वरमा कूल सात सय ११ विद्यार्थीमध्ये प्रत्यक्षतर्फ छ सय ९९ जनाले मतदान गरेका थिए । त्यसमध्ये १२ मत बदर भएको हो ।

सभापतिमा विजयी अखिलका दाहालले नेविसङ्घ र एकीकृत समाजवादी निकट अनेरास्ववियुको समर्थनमा उम्मेदवारी दिनुभएको थियो । क्याम्पसको स्ववियु सचिवमा भने अनेरास्ववियुका हिमाल घिमिरे १२ मतले विजयी हुनुभएको छ । 

घिमिरेले तीन सय ५६ मत प्राप्त गरी निर्वाचित हुँदा संयुक्त प्यानलबाट उम्मेदवारी दिनुभएका नेविसङ्घका दिलीपबहादुर बस्नेतले तीन सय ४४ मत मात्रै प्राप्त गर्नुभयो । सचिवबाहेक कोषाध्यक्ष र अन्य सदस्यमा संयुक्त प्यानलका उम्मेदवार विजयी भएका छन् । 

यस्तै, समानुपातिकतर्फ कूल सात सय ९ मत खसेकोमा ७ मत बदर भएको छ । सदर भएको सात सय २ मतमध्ये अखिल क्रान्तिकारीले तीन सय ६५ र अनेरास्ववियुले तीन सय ३७ मत प्राप्त गरेको छ । 

सर्लाहीमा यसअघि जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा नेविसङ्घ नेतृत्वको संयुक्त प्यानल र सर्लाही क्याम्पस मलङ्गवामा अनेरास्ववियु विजयी भएको छ ।