• १५ चैत २०८०, बिहिबार

बाढीले नष्ट गर्‍यो बगरे तरकारी खेती

blog

वर्षापछि आएको बाढीले क्षति गरेको कपिलवस्तु शिवराज नगरपालिकाको बगरे खेती । तस्बिर : कृष्ण पौडेल

जानु पाण्डे 

कपिलवस्तु, चैत ६ गते । कपिलवस्तुको शिवराज नगर पालिका –८ देवीपुरका कृषकले लगाएको बगरे खेती नष्ट भएको छ । आइतबार राति पानी पर्दा आएको बाढीको कारण सुरही खोलाको किनारमा लगाएको खेती नष्ट भएको छ । 

नगरपालिकाको अनुदानमा स्थानीय सफल कृषक समूहले नदीको किनारमा बगरे खेती गरेका थिए । करिब २२ कट्ठामा लगाइएको खेती पूर्ण रूपमा क्षति गरेको समूहका अध्यक्ष सुग्रीव लोनियाले बताउनुभयो । बजारमा बिक्रीका लागि तयार भएका काँक्रा, लौका, तरबुजा, खरबुजा, करेलालगायत बालीमा क्षति गरेको छ ।  

“पानी पर्छ भन्ने समाचारमा सुनेको थिएँ । तर वर्षा याममाजस्तो ठूलो बाढी आउने कल्पना गरिएको थिएन । उत्पादन बिक्री गर्ने समयमा नोक्सानी भएको छ । अन्दाजी १६ लाख रुपियाँ बरावरको नोक्सानी भएको छ” लोनियाले भन्नुभयो । क्षति भएको खेतीको शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापासहितको टोलीले अनुगमन गरेको छ । राहतको विषयमा कार्यपालिका बैठकमा छलफल गरिने नगरप्रमुख थापाले बताउनुभयो ।