• १४ वैशाख २०८१, शुक्रबार

गठबन्धन संस्कारलाई आत्मसात् गर्दै अघि बढ्नुको विकल्प छैन : सभापति देउवा

blog

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा। तस्बिर : केशब गुरुङ

काठमाडौं, चैत ६ गते। नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा गठबन्धनको संस्कारलाई आत्मसात् गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ। 

कुनै एक दलको प्रतिनिधि सभामा बहुमत पुग्ने अवस्था नभएकाले आफूहरुले गठबन्धनको संस्कार आत्मसात् गर्दै अघि बढ्नु परेको उहाँको तर्क थियो। सोमबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो। 

राजनीतिक गठबन्धन आत्मकेन्द्रित, स्वार्थ प्रेरित र क्षणिक लाभका लागि नभएर देश, जनताका पक्षमा र संविधानको रक्षा गर्दै मुलुकको स्थिरता, विकास र शान्तिका लागि केन्द्रित हुनुपर्ने स्पष्ट पार्नुभयो। 

सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै मुलुकमा विकास र समृद्धिको कामलाई अघि बढाउन लागि आफ्नो पार्टीले यसअघि पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘यो प्रणालीमा कुनै एक दलको मात्र प्रतिनिधि सभामा बहुमत ल्याउन सक्ने अवस्था प्राय नहुने भएकाले गठबन्धनको संस्कृतिलाई आत्मसात् गर्नुपरेको छ। त्यसलै हामीले उठाएको गठबन्धनको संस्कारलाई अघि बढाउनुपरेको हो। राजनीतिक गठबन्धन आत्म केन्द्रित, स्वार्थप्रेरित, क्षणिक लाभका लागि हुनुहुँदैन।’’ 

सभापति देउवाले २१ महिनाअघि आफूले संविधानको रक्षा गर्दै त्यसको सफल कार्यान्वयनका लागि सरकारको नेतृत्व लिनुपरेको र सो कार्य सफलतापूर्वक सम्पन्न गरेको दाबीसमेत गर्नुभयो।