नवराज श्रेष्ठ
रामेछाप, फागुन ६ गते । रामेछाप सदरमुकाम मन्थलीमा रहेको मन्थली शहीद स्मृति बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसङ्घका अविनाश कार्कीले निर्वाचित हुनुभएको छ ।
आइतबार भएको निर्वाचनमा अनेरास्ववियुका उम्मेदवार पुष्कर भट्टराईलाई ६३ मतले पराजित गर्दै कार्की विजयी हुनुभएको हो । कार्कीले २८६ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेद्वार भट्टराईले २२३ मत प्राप्त गर्नुभएको छ ।
स्ववियुको सचिव पदमा भने नेविसङ्घ, अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठन र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठनबीचको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अनेरास्ववियुका सुशील थापा निर्वाचित हुनुभएको छ । थापाले गठबन्धनका उम्मेदवार तेजबहादुर श्रेष्ठलाई १६ मतले पराजित गर्नुभएको छ ।
थापाले २६० मत प्राप्त गर्दा श्रेष्ठले जम्मा २४४ मत मात्रै प्राप्त गर्नुभएको छ । यस्तै, एक कोषाध्यक्ष पदमा अनेरास्ववियुकी विनीता श्रेष्ठ र गठबन्धनकी कविता खरेल दुई जना निर्वाचित भएको घोषणा गरिएको छ ।
दुबै उम्मेद्वारको सहमति र निर्वाचनमा भाग लिएका विद्यार्थी सङ्गठनको समेत सहमतिमा दुबै जनालाई कोषाध्यक्ष घोषणा गरिएको निर्वाचन अधिकृत रीता दाहालले बताउनुभयो ।
कोषाध्यक्षमा निर्वाचित हुने श्रेष्ठ र खरेलले २५१/२५१ मत प्राप्त गर्नुभएको छ । सदस्यहरुमा गठबन्धनका अनोज भुजेल, मनीषा काफ्ले, युवराज बुढाथोकी, विनोदकुमार माझी र विनीता माझी निर्वाचित हुनुभएको छ ।
मन्थली क्याम्पस स्ववियुको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ७०३ मतमा ५१४ मत खसेको थियो । समानुपातिक तर्फ संयुक्त गठबन्धनले २७८ मत प्राप्त गर्दा अनेरास्ववियुले २३४ मत प्राप्त गरेको छ ।
समानुपातिक प्रणालीबाट संयुक्त गठबन्धनले पाएको मत अनुसार गठबन्धनबाट चार जना र अनेरास्ववियुबाट तीन जना सदस्य निर्वाचित हुने निर्वाचन मण्डलले जनाएको छ ।