• १६ चैत २०८०, शुक्रबार

उत्पादन बढाउन तरकारी तथा मसला बालीको पकेट क्षेत्रमा माटो परीक्षण

blog

कृषकहरुको बारीको माटोको नमुना सङ्कलन गरिँदै प्राविधिकहरु । तस्विर– राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, चैत्र ६ गते । उत्पादनमा वृद्धि गर्ने अभियानका साथ वालिङको तरकारी बालीको पकेट क्षेत्रका कृषकहरुको माटो परीक्षण गरिएको छ ।

वालिङ नगरपालिकाको वडा नं.१ मन्साङकाेट र वडा नं. ६ भरुवाका खेती योग्य जमिनको माटो परीक्षण गरिएको हो । दुवै क्षेत्र तरकारी र मसलाबालीका लागि पकेट क्षेत्र हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोग तथा अकला नमुना साना किसान कृषि सहकारीको व्यवस्थापनमा माटो परीक्षण गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मसला जोनको कार्यक्रम अगाडि सारेपछि माटो परीक्षणमा जोड दिइएको छ । दुवै वडाका किसानको माटो परीक्षणपछि कुन बालीका लागि माटो उपयुक्त हुन्छ भन्ने विषय प्रतिवेदनमा नै दिइने परियोजनाले जनाएको छ ।

माटोको अम्लीयपना, फोसफोरस, पोटासियमलगायतको मात्र माटोमा कति छ भन्ने छुट्टाउने र यसको निराकरणका लागि पहल गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्राविधिक इन्द्र सुवेदीले जानकारी दिनुभयो । तरकारी र अदुवा खेती गर्दै आएका किसानलाई माटो परीक्षणले थप राहत मिल्ने बताइएको छ ।

दुवै वडाका व्यवशायिक कृषि खेती गर्दै आएको ६३ जना कृषकहरुको बारीको माटोको नमुना प्राविधिकहरुले सङ्कलन गरेको र परीक्षणको क्रममा रहेको अकला नमुना साना किसान कृषि सहकारीका प्रबन्धक लक्ष्मी रेग्मी पोख्रेलले जानकारी दिनुभयो । माटो परीक्षण शुरु गरिएपछि कृषकहरु उत्साहित रहेको उहाँले बताउनुभयो ।

निरन्तर तरकारी खेती गरेको जमिनको अवस्था कस्तो छ, के सुधार गर्नुपर्छ जमिनको सुरक्षाका लागि के गर्नुपर्छ भन्ने जानकारी पाउन माटो परीक्षण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ ।

कृषकका खेतबारीमा नै प्राविधिकको टोली पुगेर व्यवस्थित रुपमा माटोको नमुना लिएर परीक्षण शुरु गरिएकाले माटोको वास्तविक अवस्था पहिचान हुने प्राविधिक सुवेदीले बताउनुभयो ।

नगरका तरकारी तथा मसला बाली लगाइएका अन्य पकेट क्षेत्रको पनि क्रमशः माटो परीक्षण गरिने सुवेदीले बताउनुभयो ।

यता, वालिङ नगरपालिकाले भने कार्यालयमा माटोको नमुना लिएर आउने कृषकहरुको निरन्तर परीक्षण गर्ने गरेको छ । पालिकाले ल्याब नै स्थापना गरेर कृषकहरुले ल्याएको माटोको नमुना परीक्षण गरिरहेको नगरपालिकाका कृषि शाखा प्रमुख सुभाष अर्यालले जानकारी दिनुभयो ।