• १२ मंसिर २०८१, बुधबार

अछाम दुई क्याम्पसमा अनेरास्ववियु र नेविसङ्घ विजयी

blog

विजयी भएका विद्यार्थी नेताहरू।

शिवराज ढुङ्गाना 

अछाम, चैत ५ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भएको दुई क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) विजयी भएका छन् । कमलबजार बहुमुखी क्याम्पसमा अनेरास्ववियु र त्रिपुरासुन्दरी क्याम्पसमा नेविसङ्घ विजयी भएको हो । 

अन्तिम मत परिणाम अनुसार कमलबजार बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सुरेन्द्र चलाउने बहुमतसहित विजयी हुनुभएको छ । चलाउनेले १२१ मत र नेविसंकी मनीषा विष्टले १११ मत पाउनुभएको अनेरास्ववियु केन्द्रीय  लेखा आयोगका सदस्य कर्णबहादुर बुढाले जानकारी दिनुभयो ।

अनेरास्ववियुबाटै सचिवमा निर्मला चलाउनेले १२८ र कोषाध्यक्षमा धनसरा धमलाले ११४ मत ल्याएर विजयी हुनुभएको छ । सदस्यमा सुरेश विष्ट, विनीता बजगाई, लक्ष्मी रावल, तपेन्द्र भण्डारी र कल्पना तिमिल्सिना विजयी हुनुभएको छ ।

कमलबजार बहुमुखी क्याम्पस निर्वाचनमा काँग्रेस निकट नेविसङ्घ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू, विप्लव नेतृत्वको नेकपाको अखिलले गठबन्धन गरेर अनेरास्ववियुसँग निर्वाचन लडेका थिए । 

त्रिपुरासुन्दरी क्याम्पसमा अनेरास्ववियुका सन्तोष कडायतलाई पराजित गर्दै नेविसंघका कमल कुँवर विजयी हुनुभएको छ । कुँवरले १३८ मत ल्याउँदा कडायतले ३८ मत प्राप्त गरेको नेविसङ्घ अछामका नेता पुष्प विष्टले जानकारी दिनुभयो ।

कुँवर प्यानलका वरिष तिरूवाले १३९, कोषाध्यक्षमा ऐश्वर्या बोगटीले १३८ मतका साथमा विजयी भएका छन् । सदस्यमा सागर खड्का, किरण विक, लक्ष्मी नायक, हेमराज जोशी, मनीषा साउद विजयी हुनुभएको छ । 

सात क्याम्पस रहेको अछाममा विद्यार्थी सङ्गठन बीचमा सहमति हुन नसक्दा पाँच क्याम्पसमा स्ववियु निर्वाचन स्थगित अवस्थामा छ। अछाम बहुमुखी क्याम्पस, जनता बहुमुखी क्याम्पस, पञ्चदेवल विनायक क्याम्पस, कैलाश बहुमुखी क्याम्पस र जनशिखा क्याम्पसमा निर्वाचन स्थगित भएकाे छ ।

जनता बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस हो भने बाँकी सबै क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएर सामुदायिक रूपमा चलिरहेका छन् ।