जीवछ यादव
लाहान, चैत ६ गते । सिराहा सदरमुकामस्थित सत्यनारायण सूर्यनारायण मोरबैता बहुमुखी क्याम्पसमा विद्यार्थी जनमत सङ्घको प्यानल नै विजयी भएको छ ।
तीन विद्यार्थी सङ्गठनले गरेको गठबन्धनलाई पराजित गर्दै विद्यार्थी जनमत सङ्घका सभापति पदमा दीपेन्द्र कुमार यादव, सचिवमा विवेककुमार कामती, कोषाध्यक्षमा सुमिताकुमारी सिंह, सदस्यहरुमा चतुरानन्द यादव, कामेश्वरकुमार यादव, शम्भुकुमार यादव, पुनिताकुमार शर्मा र राजकिशोर यादव निर्वाचित भएका छन् । समाजवादी विद्यार्थी सङ्गठन अनेरास्ववियु एस र लाेकतान्त्रिक विद्यार्थी गठबन्धन निकटतम प्रतिद्वन्द्वी छ ।
नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियुको पकड रहेको यस क्याम्पसमा विगतको निर्वाचनहरुमा नेविसङ्घ र अनेरास्ववियुबीच टक्कर रहँदै आइरहेको यस क्याम्पसमा यस पटक दुबै सङ्गठन चौथो र पाँचाैं स्थानमा सीमित हुन पुगेको छ ।
यसैगरी, लाहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पस लहानमा मतगणना जारी छ । सुरुदेखि नै अग्रता लिइरहेको नेपाल विद्यार्थी सङ्घ जितको नजिक पुगेको निर्वाचन अधिकृत सन्जय चौधरीले जानकारी दिँदै अन्तिम मतपेटिकाको मतगणना भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार नेविसङ्घलाई तीन विद्यार्थी गठबन्धनले पछ्याइरहेको छ भने जनमत विद्यार्थी सङ्घ तेस्रो स्थानमा छ ।