पुस्कर भण्डारी
डडेल्धुरा, चैत ६ गते । डडेल्धुरा बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ प्यानसहित विजयी भएको छ । आइतबार राति सम्पन्न मतगणनाअनुसार नेविसङ्घको प्यानल नै विजयी भएको हो ।
५२३ मत खसेकोमा सभापतिमा नेविसङ्घका दुर्गाप्रसाद भट्ट ३१० मत पाउँदै विजयी हुनुभएको छ । सयुक्त गठबन्धनका तर्फबाट नेविसङ्घ (बीपी)का सभापतिका उम्मेदवार मदन बोहराले १०८ मत पाउनुभयो भने अखिलका गणेश क्षेत्रीले ७० मत प्राप्त गर्नुभयो । १७ मत बदर भएको निर्वाचन अधिकृत भुवनेश्वर पनेरुले बताउनुभयो ।
उहाँका अनुसार सचिवमा पनि नेविसङ्घकै लोकेन्द्र बोहरा, कोषाध्यक्षमा देवकी तमोली र सदस्यहरुमा पूजाकुमारी बोगटी, महेश्वरी भण्डारी, सुरज बिक, दीपिका पन्त र राजेन्द्र पाण्डे विजयी हुनुभएको छ ।
डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसङ्घले क्लीन स्विप गरेको नेपाल विद्यार्थी सङ्घ डडेल्धुराका सभापति पवन ऐरले बताउनुभयो । प्यानलसहित विजयी भएपछि नेविसङ्घ डडेल्धुराले बाजागाजासहित जिल्ला सदरमुकाममा विजय ¥याली निकालेको छ ।