राममणि दाहाल
हेटौँडा, चैत ६ गते । त्रिभुवन विश्वविद्यालयअन्तर्गत मकवानपुरका आङ्गिक र सामुदायिक क्याम्पसमा आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।
जिल्लामा रहेकाे एउटा आङ्गिकसहित आठ क्याम्पसमध्ये स्ववियु नेतृत्वका लागि सात वटा क्याम्पसमा मतदानबाट र एउटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ ।
जिल्लाको सबैभन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसको सोमबार बिहान सार्वजनिक मत परिणामअनुसार अनेरास्ववियु क्रान्तिकारीका छोइसाङ लामा अध्यक्षमा निर्वाचित हुनुभएको छ । लामा ८१३ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धि अनेरास्ववियुका नवराज शर्माले ६८२ मत प्राप्त गर्नुभएको छ ।
सचिवमा अनेरास्ववियु क्रान्तिकारीका वर्षाद घिमिरे ७६७ मत र कोषाध्यक्षमा अनेरास्ववियुका हिमानीकुमारी सुवेदी ८०४ मतसहित निर्वाचित हुनुभएको क्याम्पसले जनाएको छ ।
हेटौँडा क्याम्पसको अध्यक्षमा अनेरास्ववियुका अभि मैनाली निर्वाचित हुनुभएको छ । नेपाल विद्यार्थी सङ्घका अध्यक्षका उम्मेदवार राजीव फुयाललाई पराजित गर्दै मैनाली निर्वाचित हुनुभएको छ । निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सरोज अर्याल अध्यक्षमा अखिल क्रान्तिकारीका जयबहादुर रोक्कालाई पराजित गर्दै निर्वाचित हुनुभएको छ ।
उता मनहरी बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका कुमार घिसिङ नेविसङ्घका किशोर लम्साललाई पराजित गर्दै निर्वाचित हुनुभएको छ । यस्तै वंशगोपाल बहुमुखी क्याम्पसमा एकीकृत समाजवादी निकट अनेरास्ववियुका दिवस सिलवालले अध्यक्षमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका मोनिका गौतमलाई पराजित गर्दै विजयी हुनुभएको छ ।
जनप्रिय बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेकपा विप्लव निकट अखिल क्रान्तिकारीकी मुना गोलेले अध्यक्षमा नेविसङ्घका सुजन धिमाललाई पराजित गर्दै निर्वाचित हुनुभएको छ । यसैगरी, पालुङ बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको नेतृत्वमा स्ववियु निर्विरोध निर्वाचित भएको छ । अध्यक्षमा पुस्कल श्रेष्ठसहितको कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
मकवानपुरमा अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी सङ्घ र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन एउटा र अर्को एमाले, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी छुट्टाछुट्टै गठबन्धन गरी निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।