अविनाश चौधरी
धनगढी, चैत ६ गते । धनगढी उपमहानगरपालिका–१०, जुगेडाका ७५ वर्षीय भिख्खु रानाले भलमन्साका रूपमा गाउँको नेतृत्व गरेको ३९ वर्ष भइसक्यो। २०४० सालमा बुवा रन्सीको मृत्युपछि भिख्खुको काँधमा भलमन्साको जिम्मेवारी आएको हो।
गाउँमा रहेको तीन सयभन्दा बढी घरधुरीको नेतृत्व गरिरहेका भिख्खुले भन्नुभयो, “बुवा बितेपछि गाउँमा भलमन्साको भूमिका मैले निर्वाह गर्दै आएको छु। बुवाले पनि धेरै वर्ष गाउँको नेतृत्व गर्नुभयो।”
भिख्खुका बाजे बद्री राना जुगेडाको भलमन्सा हुनुहुन्थ्यो। बाजेको देहान्तपछि भिख्खुको बुवा भलमन्सा बनेका थिए। उहाँले भन्नुभयो, “बाजे बितेपछि बुवा र बुवा बितेपछि मैले गरेर हामी तीन पुस्ताले यो गाउँको नेतृत्व गरिसक्यौँ। गाउँका अरू मान्छे भलमन्सा नबनेपछि लगातार हाम्रो पुस्ताले गाउँ चलाइरहेको छ।”
डङ्गौरा थारूसहित रानाथारू समुदायमा भलमन्सा प्रथा प्रचलित छ। भलमन्साले गाउँको विकास निर्माण, भोजभतेरलगायतमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गर्दछन्। यसैगरी गाउँमा भएको स–साना झगडामा मेलमिलाप गराउने गरेका छन्।
डङ्गौरा थारू समुदायमा भलमन्साको पदावधि एक वर्ष मात्रै हुने गर्छ र भलमन्सा परिवर्तन भइरहने गर्छ तर रानाथारू समुदायका केही गाउँमा भने पुस्ताले नै गाउँको नेतृत्व गर्दै आएका छन्। धनगढी उपमहानगरपालिका–१०, घुइयाघाटका ८५ वर्षीय रामचन्दर रानाले पनि आफ्नो बुवापछि भलमन्साको जिम्मेवारी सम्हालेको धेरै भइसक्यो।
“बुवा बितेपछि उहाँको जिम्मेवारी मलाई सुम्पिइयो,” रामचन्दर भन्नुहुन्छ, “अब गाउँ चलाउने काम मैले गरिरहेको छु। कहिलेदेखि भलमन्सा भएँ, तिथिमिति भने याद छैन।”
रामचन्दरको पाँच पुस्ताले घुइयाघाट गाउँको नेतृत्व गरिसकेको छ। बुवा ठगुवा राना, बाजे जोगीराम, ‘आजा’ बेसुराम राना र ‘पाजा’ले पनि भलमन्साका रूपमा गाउँ चलाएको उहाँले बताउनुभयो। “बुवा, बाजेले गरेको कामको जिम्मेवारी अब मेरो काँधमा छ,” रामचन्दरले भन्नुभयो।
अघिल्लो पुस्ताले सुम्पेको जिम्मेवारी सम्हालिरहनुभएका भिख्खु र रामचन्दर दुवै जना उमेरले पाका भइसक्नुभएको छ। यद्यपि आफ्नो गाउँको विकास, मेलमिलापलगायतको क्षेत्रमा अझै काम गर्न भनेपछि पर्नुभएको छैन। सुख–दुःख पर्दा गाउँको मान्छेले जुनसुकै बेला बोलाएको समयमा पुग्ने गरेको भलमन्सा रामचन्दरको भनाइ छ।
रानाथारू समुदायमा भलमन्साले समाजसेवाका रूपमा निःशुल्क काम गर्ने गर्दछन्। उनीहरूलाई न गाउँले सेवा शुल्क दिन्छ, न त सरकारले। विवाहका बेला कहिलेकाहीँ दुलहा वा दुलही पक्षले भने खुसी भएर दक्षिणा दिने गरेको रामचन्दरले बताउनुभयो।
राणाशासनकालमा रानाथारू गाउँका भलमन्सा निकै शक्तिशाली व्यक्ति मानिन्थे। ग्रामीण क्षेत्रबाट उठ्ने पोत (मालपोत कर)को केही हिस्सा उनीहरूलाई दिने गरिन्थ्यो। त्यो बेला भलमन्साले सयमा १० रुपियाँ पोत पाएको रामचन्दर बताउनुहुन्छ। त्यस्तै अर्का भलमन्सा भिख्खुले पनि गाउँमा पोत उठाउन आउने ‘पतवारी’ले उठेको पोतबाट चार प्रतिशत भलमन्सालाई दिएको बताउनुभयो। “एक रुपियाँ कर उठेमा भलमन्सालाई चवन्नी (२५ पैसा) पोत दिइन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले केही छैन।”
२००७ सालमा प्रजातन्त्र आएपछि भलमन्साहरूको धेरै काम, कर्तव्य र अधिकार खुम्चिएको भिख्खुको भनाइ छ। “अब नयाँ व्यवस्था, नयाँ–नयाँ कानुन आइसक्यो,” उहाँ भन्नुहुन्छ, “हाल भलमन्सा खाली नामको मात्रै हो, काम र अधिकार केही छैन।”
विगतमा गाउँघरको न्याय निसाफकर्ताका रूपमा भलमन्सा नै थिए। झै–झगडा, कुलो, सीमा साँधको विवादलगायतका घटना सबैभन्दा पहिले भलमन्सासमक्ष पुग्ने गरेको थियो। कचहरी बोलाएर उनीहरूले छलफल गराउने, मिलाउने गर्दथे तर मुलुक नयाँ व्यवस्थानुसार चल्न थालेपछि भलमन्साले आफूकहाँ आएको ‘केस’लाई अब वडा कार्यालयमा पु-याउने गरेका छन्। वडामा आएका केस स्थानीय तहको न्यायिक समितिसम्म पुग्ने गरेको छ।
सानातिना झैझगडाका कुरामा ‘कचहरी’ बोलाएर छलफल गर्ने गरे पनि अरू घटनालाई सिधै वडामा पठाउने गरेको भलमन्सा रामचन्दरले बताउनुभयो। “कतिपय मान्छे सिधै वडा कार्यालय जाने गर्दछन्,” उहाँले भन्नुभयो।