कठमाडौं, चैत ५ गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को विषयमा पार्टीका बीचमा सहमति भइसकेको बताउनुभएको छ।
आइतबार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो विधेयकको सम्बन्धमा विभिन्न पार्टीका बीचमा सहमति भइसकेको बताउनुभएको हो।
उहाँले सत्तारुढ दलका बीचमा यस विधेयकको सम्बन्धमा सहमति भइसकेको बताउनु भएको हो । उहाँले प्रतिपक्ष दलको पनि विधेयकको सम्बन्धमा विमति नरहेको उहाँको भनाइ छ।
उहाँले भन्नुभयो, ‘‘सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयकको बारेमा धेरै लामो समयदेखि चर्चा चल्दै आएको छ। विभिन्न पार्टीहरूको बीचमा सहमति पनि भइसकेको छ। अहिले सत्ताधारी पार्टी जो हुनुहुन्छ, उहाँहरूको पनि। मलाई लाग्छ, प्रतिपक्षी पार्टीहरूको पनि त्यसमा विमति रहेको अवस्था छैन।’’
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्न पनि मिल्ने भन्दै सबैले विश्वासको मत दिँदा राम्रो हुने बताउनुभयो।