• २७ वैशाख २०८२, शनिबार

राराबमा शान्तिपूर्ण रुपमा मतदान हुँदै

blog

जनकपुरधामस्थित राराब क्याम्पसमा मतदान हुँदै ।

लक्ष्मी चौधरी

काठमाडौं, चैत ५ गते । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पस रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकामा अवस्थित राराब क्याम्पसमा आइतबार बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । 

६ वटा बुथको व्यवस्थापन गरिएको राराबमा सुरक्षा व्यवस्था कडा गरिएको छ । राराब क्याम्पसमा विभिन्न प्यानलबाट ६ जना सभापतिका उम्मेदवार रहेका छन् भने ७ हजार २१५ जना मतदाता रहेको निर्वाचन अधिकृत रेमन्त मोरवैताले जानकारी दिनुभयो। 

विभिन्न प्यानलका ६ जना सभापतिका उम्मेदवारहरू लोकतान्त्रिक विद्यार्थी संघकोतर्फबाट प्रशान्त झा, नेपाल विद्यार्थी संघकोतर्फबाट मनिषकुमार यादव, ५ दलीय गठबन्धनको संयुक्त विद्यार्थी गठबन्धनकोतर्फबाट गौतम यादव, जनमत संघकोतर्फबाट इजाज मोमिन, स्वतन्त्र विद्यार्थी समूहबाट कन्हैया कुमार पासवान र राष्ट्रिय विद्यार्थी परिषदबाट अभिषेक साह रहेको निर्वाचन अधिकृतले मोरवैताले जानकारी दिनुभयो । साथै उहाँले बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म जारी रहने र मतदान सकेपछि उम्मेदवारहरूसँग छलफल गरेर मतगणना सुरु गरिने बताउनुभयो । 

१४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनमा ६० आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांशमा आज स्ववियु नेतृत्वका लागि मतदान हुँदैछ । प्रत्येक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन वि.सं. २०६५ देखि नियमित हुन सकेको थिएन ।