• १२ वैशाख २०८१, बुधबार

हिमपातपछि सुन्दर देखियो खोप्रालेक (फोटो फिचर)

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी, चैत ५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीय स्थल खोप्रालेकमा हिमपात भएपछि सुन्दर देखिएको छ । यतिखेर खोप्रालेक वरपर फुरुफुरु हिउँ परिरहेको छ । यसपटक ढिलो गरी हिमपात भएको हो ।

अघिल्ला वर्षहरूमा पुस / माघ महिनामा हिमपात हुने गरेकोमा यस वर्ष चैत लागेपछि मात्र हिमपात भएको छ । हिमपातका कारण हिमाल र वरपरका डाँडाहरू सुन्दर देखिएका छन् । 

समुद्री सतहदेखि तीन हजार ६ सय साठी मिटरको उचाइमा रहेको आकर्षक पर्यटकीय गन्तव्य खोप्रालेकबाट धौलागिरि, गुर्जा, चुरेन, नीलगिरि, अन्नपूर्ण लगायतका हिमालहरू आँखै अगाडि देख्न सकिन्छ ।

एकहप्ता अघि हिमालको टुप्पोमा मात्र हिउँ देखिने थियो खोप्रा सामुदायिक लजका कर्मचारी आदेश तिलिजाले भन्नुभयो,‘अहिले दैनिकजसो यहाँ हिमपात हुनेगरेको छ । हिमपातका कारण हिमालहरू सुन्दर देखिन थालेका छन् ।’ 

हिमपातका कारण हिमालहरू सुन्दर देखिन थालेपछि पर्यटकहरू खोप्रामा आउन थालेको उहाँले बताउनुभयो । सामुदायिक लजका कर्मचारी तिलिजाले भन्नुभयो ‘पर्यटकले फोन मार्फत होटलमा कोठा बुकिङ गर्न थालेका छन् ।’

पर्यटकको सुविधा लागि स्थानीयहरूले पाउद्वार पर्यटन सहकारी संस्था मार्फत सामुदायिक होटल सञ्चालन गरेका छन् । ६५ जना पर्यटक वास बस्न सक्ने लजको क्षमता छ । 

कास्कीको धम्पुस – घान्द्रुक – दोबाटो – बहेली – डाँडाखर्क हुँदै पाँच दिनमा खोप्रा पुग्न सकिन्छ । यसका साथै म्याग्दीको सदरमुकाम बेनी– बाँसखर्क – नाङ्गी–महरेडाँडा, फूलबारी, स्वात–डाँडाखर्क हुँदै चार दिनमा खोप्रालेक पुग्न सकिन्छ । अर्कोतर्फ तातोपानी– पाउद्वार हुँदै खोप्रा दुई दिनमा पुग्न सकिन्छ । भने अर्को रुट कास्कीको नयाँ पुल – उल्लेरी – घोडेपानी हुँदै डाँडाखर्कबाट खोप्रा जान सकिन्छ । खोप्रालेक पुगेका पर्यटकहरू शिखको पाउद्वार हुँदै भुरुङ तातोपानी पुगेर तातोपानी कुण्डमा रमाउँछन् । 

अर्को बाटो खोप्राबाट नारच्याङको लेकगाउँ – बेँसी गाउँ हुँदै तातोपानी झर्न सकिन्छ भने केही पर्यटकहरू घोडेपानी वा महरेडाँडाको अवलोकन गर्दै नागी–लेस्पार–पूर्णगाउँ हुँदै कास्कीको नयाँ पुल झर्ने गर्दछन् ।