• १२ मंसिर २०८१, बुधबार

छिमेकी पालिका पुग्न गाडीभाडा नौ सय !

blog

पैदल हिँडेर बैतडी सदरमुकाम पुग्नु भएका पञ्चेश्वरका भाष्करदत्त भट्ट

बैतडी समाचारदाता

बैतडी, चैत ५ गते । बैतडी सदरमुकामको दशरथचन्द नगरपालिका र पञ्चेश्वर गाउँपालिका एकआपसमा जोडिएका छिमेकी पालिका हुन् तर पञ्चेश्वरबाट दशरथचन्द नगरपालिका पुग्न नौ सय रुपियाँ गाडीभाडा लाग्ने गरेको छ। 

पञ्चेश्वर गाउँपालिाका–६ र दशरथचन्द नगरपलिकाको ११ नम्बर वडा एक–आपसमा जोडिएका छन् तर गाडीभाडा अति धेरै भएपछि स्थानीय पैदल हिँडेर सदरमुकाम आवतजावत गर्दै आएको पञ्चेश्वरका भाष्करदत्त भट्टले बताउनुभयो। 

कृषि ज्ञान केन्द्रबाट ओखरका बोट लैजान भनेर बैतडी पुग्नुभएका भट्टले आउँदा–जाँदा लाग्ने एक हजार आठ सय गाडीभाडा तिरेर सामान्य किसानले गाडी चढ्न नसक्ने बताउनुभयो। 

२०७४ अघिसम्म पञ्चेश्वर गाउँपालिकासम्म सडक पुगेको थिएन। स्थानीय सरकारले सडकलाई प्राथमिकता दिएर पञ्चेश्वरका सबै वडामा सडक विस्तार गरे पनि गरिबका लागि भने हर्ष न बिस्मात भएको छ। बिरामी पर्दासमेत गाउँपालिकाको एम्बुलेन्स नहुँदा बिरामीले २० देखि ३० हजार रुपियाँ तिरेर गाडी बुकिङ गर्नुपर्ने समस्या रहेको छ। 

नियमित चल्ने गाडीभाडा नियमन नहुँदा बैतडीको तल्लो स्वराड क्षेत्रका पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाका सर्वसाधारण चर्को गाडीभाडा तिर्न बाध्य छन्। 

च्वाँगढको सिगास गाउँपालिका र मध्यबैतडीको सुर्नया गाउँपालिका पुग्न पनि सर्वसाधारणले चर्को भाडा तिर्दै आइरहेका छन्। बैतडीबाट प्रदेश राजधानी पुग्न २५० किलोमिटरको नौ सयदेखि एक हजार रुपियाँ बस भाडा कायम भएका बेला जिल्लाभित्रकै १०३ किलोमिटर दूरी रहेको पञ्चेश्वरको गाडीभाडा धनगढी बराबरको तिर्नुपरेको सर्वसाधारणको गुनासो छ । 

गाउँपालिकामा सडक पुगेको खुसियाली गरिबका लागि दुःखमा परिणत भएको नागरिक समाज बैतडीका प्रकाश चन्दले बताउनुभयो। 

पाटन–पञ्चेश्वर सडकखण्ड आधा कालोपत्रे भइसक्दा पनि स्थानीय जिपले यात्रुबाट बढी भाडा लिने गरेको गुनासो आएकाले भाडादर कायम गर्ने विषयमा पहल थाल्ने ट्राफिक प्रहरी कार्यालय बैतडीका इन्चार्ज दशरथ नाथले बताउनुभयो। 

उहाँले भन्नुभयो, “बढी भाडा लिएको उजुरी आए कारबाही हुन्छ। पाटन–पञ्चेश्वर सडक कच्ची भएकाले बढी भाडा लिने गरेको जिप व्यवसायीले बताउने गरेका छन् तर आधाभन्दा बढी सडक कालोपत्रे भइसक्दा पनि भाडादर भने कच्चीकै लिन भएन। यो विषयमा छलफल गर्छौं।”

सरकारले बैतडीको पाटन–पञ्चेश्वर ६५ किलोमिटर सडकखण्ड कालोपत्रेसमेत गर्न सुरु गरेको छ। पाटनदेखि मेलौली नगरपालिकासम्मको ३८ किलोमिटर सडक एक वर्षअघि नै कालोपत्रे भइसकेको पूर्वाधार विकास कार्यालय बैतडीले जानकारी दिएको छ। चालू आर्थिक वर्षमा मेलौलीबाट शिवनाथ गाउँपालिकाको सुल्लेखानसम्मको ११ किलोमिटर सडक पनि कालोपत्रे भइरहेको प्राविधिक नरेश भूलले जानकारी दिनुभयो। शिवनाथ गाउँपालिकाको सुल्लेखानबाट पञ्चेश्वर गाउँपालिका–१, पुग्न १६ किलोमिटर मात्रै कच्ची सडक रहेको छ। उक्त कच्ची सडक पनि आउँदो वर्ष कालोपत्रेका लागि बहुवर्षीय ठेक्का आह्वान भएको छ।