काठमाडौं, चैत ४ गते। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ। जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। 
भोलि आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भावका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
काठमाडौँमा आज अपराह्न हल्कादेखि मध्यम वर्षा भएको छ। प्रि–मनसुनी वर्षाले उपत्यकामा केही चिसो महसुस भएको छ। महाशाखाको पछिल्लो विवरणमा काठमाडौँमा तीन मिलीमिटर वर्षा मापन गरिएको छ। 
आज सबैभन्दा धेरै ओखलढुङ्गामा १० मिलीमिटर वर्षा भएको छ। ताप्लेजुङमा दुई, भैरहवामा तीन, नेपालगन्जमा दुई र धनगढीमा एक मिलीमिटर वर्षा भएको छ। आज काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव पाँच र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहेको छ। रासस
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                