• ८ वैशाख २०८१, शनिबार

व्यवसायीद्वारा डेरी उद्योग सञ्चालन

blog

रमेश विश्वकर्मा

गुल्मी, चैत ४ गते । गुल्मीको तम्घासमा चार जना डेरी व्यवसायी मिलेर डेरी उद्योग सञ्चालनमा ल्याएका छन् । यहाँ डेरी व्यवसाय गर्दै आउनुभएका नवराज भुसाल, बालकृष्ण भण्डारी, नर्जन श्रेष्ठ र जुद्ध बस्नेतले रेसुङ्गा नगरपालिका– ९ मा गुल्मी डेरी उद्योग प्रालि सञ्चालन गर्नुभएको हो ।  

यहाँबाट गाईको दूध र भैँसीको दूध बिक्री वितरण हुन्छ । बजारमा गाईको दूधभन्दा भैँसीको दूधको माग बढी भएको गुल्मी डेरी उद्योग प्रालिका सञ्चालक बालकृष्ण भण्डारीले बताउनुभयो । “दैनिक १२ हजार लिटर दूध प्रशोधन गरेर वितरण गर्ने योजना बनाएको छौं ।” सञ्चालक भण्डारीले भन्नुभयो, “हाल उद्योगमा पाँच हजार क्षमता छ । तर दूध अभावमा पनि दैनिक झण्डै एक हजार लिटर मात्र प्रशोधन गरेर बिक्री गरेका छौं ।” 

जिल्लामा दूध उत्पादन कम भएकाले दूध पाउन नै समस्या छ । अहिले यहाँ गुल्मी जिल्ला र केही अर्घाखाँचीबाट पनि दूध आउनेगरेको छ । यस उद्योगबाट पाँच जनाले रोजगारी पाइरहेका छन् । अहिले ढुवानीका लागि गाडीको समस्या रहेको सञ्चालक भण्डारीले बताउनुभयो । 

यहाँ अहिले पनिर, छुर्पी, दही, खोवा र आइसक्रिमलगायत दूधका विभिन्न परिकारहरु उत्पादन गरिन्छ ।  जिल्लामा उत्पादन भएका दूधजन्य परिकार स्थानीय बजारसँगै बाहिरी जिल्लामा समेत बिक्री गरिएको छ ।