• ६ वैशाख २०८१, बिहिबार

निबन्ध

किन आफैँभित्र हराउँछ मान्छे ?

blog

शान्त रहेको मनको चैन एकाएक उद्वेलित भयो । रबरमा टाँसिएको खुट्टाजस्तै जोडसँगले टाँसियो दिमागको ढक्कन । होस गुमेको पल यहीँ हो गल्ती हुने । कतै रापिलो झिल्को निस्केर यही चेत दिएको थियो । त्यही बेला हो मैले बल गरेर आँखा बन्द गरेको । नत्र खुला आँखाले दृश्य हेरेर, मनले आक्रोश पोख्दो हो । मुखको सोझो बाटो भएर ।

सुन्दर सिसाभित्र राखिएको कुनै वस्तुजस्तै पारदर्शी रहेको मनको ढोका थिचियो गह्रौँ भारीले । बाढीमा तैरिएको मुढाजस्तै अगाडि बढेको यात्रामा आयो रोकावटको तगारो । कता जाने कहाँ पोख्ने उम्लिएको बह ? मजाले आवरणले ढाकिएको काँक्रोको रूपजस्तै सग्लो देखिएको मन टाढाटाढासम्म उड्छ । हरेक प्रयास गरेर रोक्न खोजे पनि नाकको प्वालबाट निस्किएको साससँगै बाफिएर उड्छ । एउटा तरङ्ग भरेर ।

मनमा के हुन्छ थाहा छैन । कहिले फक्रिन्छ गोदावरी भएर अनि कहिले आफैँ उन्युँजस्तै बन्छ । भन्न त उन्युँ र नीलकाँडा पनि १२ वर्षमा एक पटक फुल्छन्, जीवनको उपादेयता चाख्नका लागि भनिन्छ । खोजी गरिरहने अर्थले पनि कहिलेकाहीँ निस्सार जीवनलाई उज्यालो बाटोमा हिँडाइरहेको हुन्छ । यो नै कल्पनाको बिन्दु हो । यहाँ अरू पौडिएको हेर्न मजा हुन्छ तर आफू पौडिनुपर्दा गलेर लखतरान प्राण बोकेर फर्किएको आफैँलाई मात्र थाहा हुन्छ ।  जीवनको अर्थ घरमा कखरा सिक्दैदेखि बाबाको हप्कीबाट सुरु भएको हो । त्यही बेला नै ढङ्ग नभएको दर्जा पाएको सम्झना सबैमा हुन्छ । ऊर्जा बढ्छ र आगलागी हुन्छ भनेर आगो नियन्त्रणका लागि राखिएको छेउको दमकलको रङ फेरिएर गयो; शरीरको ऊर्जाजस्तै कमजोर बनेर । सिकाइबाट जीवनको उत्सर्ग कसरी सुरु हुन्छ भन्ने कुराको यो एउटा दृष्टान्त पनि हो । यो अनुभूतिबाट प्राप्त भएको ज्ञान हो । दिव्य ज्ञानभन्दा यो कैयौँ गुणा माथि छ । 

फेरि, विद्यालयमा गुरुहरूले जीवनको मोहकता सिकाउन हजारौँ लाठी बजारे कलिला हातखुट्टामा । उनीहरूले जीवनका सूत्रभन्दा बढी किताबका दर्शन छाँटे । जीवनमा भोग्नु र पुग्नुपर्ने चुलीभन्दा धेरै गहिरा थिए । यो हाम्रो जीवन सुधारका लागि गरे वा आफ्नो वेतन भोगका लागि; कसैले भन्न सक्दैन । किनभने यहाँ स्वार्थ धेरै र आशा थोरै राखिएको छ । खाली तुलो त जति उचाल्न खोजे पनि आफ्नो डन्डीको नजिक हुन खोज्छ । उसलाई ठाडो बनाउन त सामान हाल्नुपर्छ । यो नै सत्य हो । गुरुहरूले त्यो गर्नै सकेनन् । हामी मन्द बुद्धिका भएको पनि यही कारण हो । विश्वविद्यालयमा पनि जीवनको सार्थकता र मूल्यको बारेमा धेरै पढियो । अघि भुलेको बाटो सोझिन्छ कि झैँ नलागेको होइन । एक दिन समीपमा बसेर चिया पिउँदै गर्दा पढाउनेहरू नै भक्कानिए, जीवनको निस्सारता देखेर । त्यो दिनदेखि आदर्शको बन्धन त अरूका लागि पो हो त, आफ्ना लागि त जीविका चलाउनु मात्र हो भन्ने थाहा भयो । त्यति आदर्शको राग आलाप नगर्ने हो भने उनीरूले कसरी चलाउँछन् त जीवनको रथ ।

घरमा यो भएन, त्यो भएन भन्ने श्रीमतीको चाहनाभन्दा पढाउनेको जीवन मूल्य अरू के नै छ र ? निचोरिएको कागतीको बोक्राजस्तै चाउरिएको उनीहरूको आकृतिले हामीलाई यही उत्तर दियो । हामीले त्यो एउटा उपहार र भोलि भोग्नुपर्ने दिनको सार्थकता हो भन्ने जानेर कहिल्यै प्रश्न वा प्रतिप्रश्न सोध्न सकिएन । जीवनको सार्थकता र मूल्य पढाउनेलाई अनादर गर्नु आफैँ अनादर हुनु पनि हो । हाम्रो सभ्यताले पनि त्यो गर्न दिएन । तर सत्यको जति नजिक पुगिन्छ, सत्य त्यति नै धमिलो हुँदै जाँदो रहेछ भन्ने कुराको बोध भयो । यो किताबमा दिएको प्रश्नको उत्तरभन्दा कैयौँ गुणा श्रेयस्कर थियो, जीवनको यथार्थ बुझ्न ।

आराम गरेपछि ऊर्जा थपिनुपर्ने हो । भण्डार पनि खर्च नगरेसम्म स्थिर रहन्छ तर रातभरि आराम गरेका खुट्टा पनि बिहान हिँड्दा लत्रिएर हिँड्छन्, एउटा जाबो शरीरको बोझ बोक्न नसकेर । हाम्रो जीवनको आदर्श र मान्छेको प्रतिविम्ब यही हो । जति लामा शब्दमा जीवनको सुन्दरता र मोहकताको बखान गरे पनि अन्त्यमा हात लाग्ने भनेका उही निराशा मात्र हो । हाँसो खुसी त खालि गीतका शब्द सुन्दर बनाउन बनेका हुन् । यी जीवनमा जति सङ्घर्ष गरे पनि प्राप्त हुँदैनन् । सन्तोषको आधार छुट्टै कुरा हो ।

आफ्नै शरीरको भारले थिचिएको जीवनले कसरी उचाल्छ, सपनाको विरासत । अलिकति पनि हलचल हुन नसक्ने मस्तिष्कले कसरी उत्पादन गर्छ विकासको आविष्कार । सपनाको मोहमा जति सुते पनि फाट्ने भनेको तन्ना मात्र हो । त्यसले अन्धकारको पर्दा च्यात्न सक्दैन । पर्दा नच्यातेसम्म बाहिरको घाम भित्र छिर्दैन ओस मेटाउनका लागि । 

उभिएको धरातलबाट क्षितिजमा देखिएको तस्बिरले आँखाको ढक्कन उचाले पनि प्रकृतिको सौम्यपनको रसास्वादन गर्न सक्दैन । त्यहाँको चिसोपनाले कट्कटाएका दाँतको आवाज कसरी आउँछ भन्ने कुराको अनुभूति गर्नका लागि स्वयं त्यहाँ उभिनुपर्छ । शरीरमा चिसोको स्पर्श हुँदा उम्रिएका काँडाले कसरी चेतनाको सञ्चार मस्तिष्कमा गर्छ, यो थाहा पाउन उत्प्रेरणा जगाउनुपर्छ । त्यो कसैले वर्णन गरिदिएको आधारमा अनुभूत गर्न सकिँदैन । 

परिवार र समाज छोडेर एकान्तमा हराउनु आनन्द हो कि पीडा, यो अनुभूत गर्न हामीभित्रको मान्छे जाग्नुपर्छ । यो बाहिरी आवरणमा सजिसजाउ लालित्य मात्र भर्न सक्ने शरीरले यहाँ काम गर्दैन । हामी थिचिने भनेको यस्तै कुराले हो । कठोर तपबिना प्राप्त भएको ज्ञानले विचार मात्र बदल्न सक्छ; चिन्तन र अध्यात्मको भेद जान्न सक्दैन ।

कसैले धनको रवाफ लगाउँछ तर सँगै चिया पियो भने त्यसको पैसा तिर्दैन । गाडी मर्मतको कुरा सुनाउँछ, छिमेकी बिरामी भएर सहयोग माग्यो भने एम्बुलेन्स सिफारिस गर्छ । ऐँचोपैँचोको कुरा ग¥यो भने सामान सकिएको बहाना गर्छ । ऋण माग ग¥यो भने सहकारी र बैङ्कमा आफ्नो साथी छ, म भनिदिन्छु भन्छ । अनि उसको आदर्श र विश्वविद्यालयको शिक्षालाई भित्तामा झुन्ड्याइएको प्रमाणपत्रले शिर निहु¥याएर एकोहोरो हेरिरहन्छ । तर पनि रवाफको गति जारी रहन्छ, लक्ष्य भेदनको घोडाजस्तै ।

कसैले आत्महत्याका कारण मृत्युवरण ग¥यो भने सहजै भन्ने गरिन्छ, कायर । तर त्यो कायरताको कारण खोजिँदैन । बिनाकारण कसैले कसरी जीवनको अन्त्य गर्न सक्छ । त्यहाँसम्म पुगेर सोच्ने दिमाग हाम्रो खाली छ । यसरी सोचिँदो हो त उसले जीवनमा के–कस्तो सङ्घर्ष ग¥यो, उसको काममा क–कसले सहयोग गरे, उसको जीवनको लक्ष्य के थियो, त्यो लक्ष्य भेदन गर्न उसले के–कस्ता विधि र प्रक्रियाको खोजी ग¥यो, सार्थकता हात पार्न गरिएको प्रयास असफल बन्ने कारण के थियो, कुन शक्तिले उसलाई मृत्युसम्म तानेर लगिरहेको थियो, त्यो बुझ्नुपर्ने हो । तर हामी हरेक मानिस जीवित हुँदा आलोचना गर्छौं र मृत्युपछि प्रशंसा । यसको कुनै अर्थ छैन । 

भोगिएको अनुभव के हो भने गर्नुपर्ने काम समयमा नगरेपछि त्यसले कुनै नतिजा दिँदैन । जीवन एउटा सिसाको भाँडोजस्तै हो । खाली राखे धुलोले भरिन्छ । पूरा भरेर बिर्को लगायो भने पनि हावाको चापले प्याट्ट फुट्छ । आखिर नथिचिएको र चाप नपरेको के छ र !

कस्तो समाज निर्माणको शिक्षा सिकाइयो घरबाट, आदर्श कि आशक्त ? किन थिचिँदै छ आफ्नै टाउकोको भारले मान्छे ? विज्ञता कोट र नोटमा मात्र हो कि सामाजिक सद्भाव र भ्रातृत्वमा पनि हुनुपर्छ । आमालाई एक पटक सोध्न मन छ । निष्कलङ्क र निष्कपट उत्तर त्यहीँबाट मात्र सम्भव छ । त्योभन्दा पर जति हिँडे पनि डाँडापाखा मात्र देखिन्छ, सत्यको गहिराइ भेटिँदैन ।